विराटनगरमा फुटपाथ नियन्त्रण अभियान तीव्र



विराटनगर । बजार सौन्दर्यीकरणसहित फुटपाथ नियन्त्रण गर्ने अभियानमा विराटनगर महानगरपालिका तीव्रता दिएको छ ।

फुटपाथ व्यवसायीले महानगरमै पुगेर बिरोध गर्नुका साथै फुटपाथ नियन्त्रण गर्न पुगेको टोलीलाई अबरोध गर्न थालेपछि महानगर आक्रमक रुपमा प्रस्तुत भएको छ । कार्यबाहक मेयर प्रकाश साहको नेतृत्वमा मेनरोड र पुरानो गुद्रीको अनुगमन गरेको छ ।

महानगरको सो अभियानको विरुद्ध व्यापारीहरुले महानगरपालिका कार्यालयको प्रवेशद्वारमा पुगेर नाराबाजी गरेका थिए । महानगरले फुटपाथ नियन्त्रण गर्ने क्रममा नालाबाट साढे ६ मिटर छाडेर मात्रै सामान राख्न आग्रह गरेको छ । त्यस्तै सटरभन्दा माथि बाहिर निकालेर बनाएका टिनका संरचनासमेत हटाउन महानगरले दिर्नेशन दिएको छ ।

फुटपाथ नियन्त्रण र सटरभन्दा बाहिर जथाभावी राखेका सामान हटाउन कार्यबाहक मेयर साहको नेतृत्वमा नगर प्रहरी निरीक्षक राजन पौडेल, घरनक्सा शाखाका प्रमुख राकेश ठाकुर, नगर प्रहरी, प्रहरी मेनरोड र गुद्री बजार पुगेको थियो ।

महानगरको टोली पुगेपछि कतिपय व्यापारीले हतारहतार सामान सटरभित्र राखेका थिए । पहिलो पटकलाई सम्झाइबुझाइ छाडिएको र अब फेरि पनि सटरभन्दा बाहिर राखे सामान नै जफथ गरिने कार्यबाहक मेयर साहले बताए ।

विराटनगरलाई सुन्दर, हराभरा र व्यवस्थित सहर बनाउन व्यापारीहरुको सहयोग आवश्यक रहेको साहको भनाइ छ । टोलीले मेनरोड र गुद्री लाइनका दुवैतर्फ राखेका सामान हटाएको थियो ।

महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्ययीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङ समेत गरेको थियो ।

त्यति गर्दा पनि व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । व्यापारीले प्रदर्शनका लागि सटरभन्दा बाहिर राखेको सामानलाई समेत हटाउन थालेको छ ।

जथाभावी सामान झुण्ड्याउँदा सहरको सौन्दर्यतामा समेत ह्रास आएकाले फुटपाथ नियन्त्रण र मापदण्डविपरीत राखेका सामान हटाउन सुरु गरिएको कार्यबाहक मेयर साहले बताए । हेर्न लायक र गर्व गर्न लायक विराटनगर बनाउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ ।

अनुगमनका क्रममा कतिपय व्यापारीले आफ्नो पसलअगाडि दैनिक ३ देखि ५ सय रुपैयाँसम्म लिएर तरकारी राख्न दिने गरेको पाइएको थियो ।

पसलअगाडिको सडक तथा पेटीमा तरकारी राख्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । तरकारी व्यापारीले आफूले दैनिक ३ सय दिने गरेको बताएका थिए । व्यापारीले समेत दैनिक पाँच सय रुपैयाँ लिने गरेको स्वीकारेका छन् ।


क्लिकमान्डु