४ वर्षमा ८१ अर्बको पाम तेल आयात गर्दा ६९ अर्बको निर्यात, भारत मुख्य बजार



काठमाडौं । नेपालले आयात गर्ने तथा निर्यात गर्नेमा पाम तेलको हिस्सा निकै ठूलो छ । विगतको केही वर्षयता स्वदेशी उत्पादनभन्दा विदेशबाट आयात गरी निर्यात हुने वस्तुको हिस्सा ठूलो रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

स्वदेशी उत्पादन वस्तुको अवस्था निकै कमजोर हुँदा विदेशबाट आयात भई भारततर्फ जाने वस्तुको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । पछिल्लो समयमा पाम तेलसँगै भटमास, सन्फ्लावरको निर्यात पनि उच्च हुन थालेको छ । जसले गर्दा निर्यात मूल्य निकै बढेको देखिन्छ । वास्तवमा नेपालकै उत्पादन विदेशमा निर्यात हुने वस्तुको अवस्था निकै कमजोर छ ।

त्यस्तै, आयात तथा निर्यातमा ठूलो हिस्सा ओगटेको पाम तेल ४ वर्षको अवधिमा ८१ अर्ब ८२ करोड ८० लाख ४३ हजार रुपैयाँको ८१ करोड १२ लाख ८८ हजार ८५६ लिटर पाम तेल आयात गरेको छ । आयात गरेको उक्त पाम तेलबाट नेपालले १० अर्ब ७२ करोड ५२ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ८५ करोड ७६ लाख ५९ हजार रुपैयाँको १८ करोड ९ लाख ८९ हजार लिटर कच्चा पाम तेल आयात गरेको थियो । त्यस्तै, आव २०७६/७७ मा १९ अर्ब ९ करोड ७९ लाख ९७ हजार रुपैयाँको २४ करोड ९४ लाख ७९ हजार लिटर, आव २०७७/७८ मा ८ अर्ब ६७ करोड ८९ लाख २६ हजार रुपैयाँको ९ करोड २१ लाख ३९ हजार लिटर र आव २०७८/०७९ मा ४१ अर्ब १९ करोड ३४ लाख ६० हजार रुपैयाँको २८ करोड ८६ लाख ८० हजार लिटर कच्चा पाम तेल आयात गरेको छ ।

नेपालमा पाम तेल उद्योग क्षेत्रमा मात्रै प्रयोग हुँदै आएको छ । उद्योगीहरुले विभिन्न मुलुकबाट आयात गरेर बिस्कुट, चाउचाउलगायत अन्य उद्योगमा पामोलिन तेल खपत गर्दै आएका छन् । नेपालमा पाम तेल उत्पादन हुँदैन । त्यसैले, नेपालले मोटो रकम खर्चेर पाम तेल आयात गरी आन्तरिक बजारलाई आवश्यक वस्तु उत्पादन गर्दै आएको छ ।

नेपालमा पाम तेलको खपत निकै कम छ । तर, आयातको तथ्याङ्क हेर्ने हो भने निकै उच्च छ । नेपालका व्यवसायीहरुले पाम तेल आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेको भन्सार विभागको भनाइ छ । नेपालले ४ वर्षको अवधिमा ८१ अर्बको आयात गर्दा सो अवधिमा नेपालबाट ६९ अर्ब ७४ करोड ३९ लाख ७० हजार रुपैयाँको ४६ करोड ४६ लाख २८ हजार लिटर पाम तेल निर्यात गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ३३ करोड ३० लाख ५३ हजार रुपैयाँको ९ करोड ५६ लाख ६४ हजार लिटर र आव २०७६/७७ मा १८ अर्ब ३४ करोड ५२ लाख रुपैयाँको १७ करोड २ लाख ४९ हजार लिटर पाम तेल निर्यात गरेको थियो । त्यस्तै, आव २०७७/७८ मा भने ९ लाख ८७ हजार रुपैयाँको ६ हजार ६६ लिटर पाम तेल निर्यात गरेको थियो ।

भारत सरकारले आर्थिक वर्ष २०७६ को पुसमा पाम तेल आयातमा प्रतिबन्ध गरेको थियो । भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताकोतस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टि जनाएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताको फाइदा उठाउँदै चार वर्षअघि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए ।

नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जीएसटी)बापत १२ प्रतिशत तिर्नुपथ्र्यो । जीएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतः मुक्त थिए । यसले गर्दा उद्योगीहरू सहजै पामको निर्यात गर्दै आएका थिए । तर, भारत सरकारले २०७६ सालमा प्रतिबन्ध गरेपछि आर्थिक वर्ष २०७७÷७८ मा पाम तेलको निर्यात निकै कम भन्सारको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, यो अवधिमा पाम तेलको साट्टो भटमास तेलले स्थान पाएको थियो । पाम तेल निर्यात हुन छोडेपछि नेपालबाट उच्च मूल्यको भटमासको तेल निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै, भारत सरकारले पुनः २०७८ को असार १६ गतेबाट प्रतिबन्ध खुल्ला गरेसँगै आर्थिक वर्ष २०७८/७९ मा पाम तेल उच्च निर्यात भएको थियो । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ८ अर्ब ५ करोड २७ लाख ८८ हजार रुपैयाँको ३ करोड ६६ लाख ८३ हजार लिटर पाम तेल निर्यात गरेको छ । नेपालबाट वार्षिक अर्बौ रुपैयाँको पाम तेल निर्यात गर्दा भारत मुख्य बजार रहेको छ ।


क्लिकमान्डु