अर्बपतिहरुको पैसाको लडाईंः ७० करोड नतिरेपछि उपेन्द्र महतोबिरुद्ध दशैंलगत्तै मुद्दा हाल्ने ४ घरानाको तयारी



काठमाडौं। युनाइटेड टेलिकम (युटिएल) खरिद गर्न व्यवसायी उपेन्द्र महतोलाई दिएको ७१ करोड रुपैयाँ ५ वर्षसम्म पनि फिर्ता नभएपछि देशकै चर्चित ठूला चार व्यावसायिक घरानाले महतोविरुद्ध मुद्दा हाल्ने भएका छन्।

धेरैपटक प्रयास गर्दा पनि महतोले पैसा फिर्ता नगरेपछि उनीहरु कानूनी उपचार खोज्न थालेका छन् ।

‘उपेन्द्रजीले हामीलाई फसाउनु भयो, धेरै प्रयास गर्दा पनि उहाँले पैसा फिर्ता गनु भएन, अब सम्झौता अनुसार कानूनी उपचार खोज्छौं,’ एक व्यवसायीले भने, ‘कानून व्यवसायीसँग छलफल गरिरहेका छौं, दशैंपछि तीब्ररुपमा काम अघिबढ्छ ।’

ती व्यवसायीका अनुसार असोज मसान्तसम्मा पनि महतोले पैसा फिर्ता नगरे अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

आर्थिक संकटका कारण नगद प्रबाह संकुचित हुँदै गएपछि व्यवसायीहरु पैसा उठाउन आक्रामक देखिएका हुन् ।

‘आजका दिनमा ७० करोड रुपैयाँ नगद भनेको सानो कुरा होइन, त्यसैले अब हामी छाड्दैनौं,’ उनले भने ।

२०७४ सालमा व्यावसायिक घराना विशाल ग्रुप, जावलाखेल ग्रुप, ज्योति ग्रुप र आइएमएस ग्रुपले युटिएल खरिद गर्न महतोलाई ६६ करोढ रुपैयाँ एडभान्स दिएका थिए। त्यसको केही समयपछि प्रभु ग्रुपका देवीप्रकाश भट्टचनले पनि ५ करोड रुपैयाँ एड्भान्स पेमेन्ट गरेका थिए । उक्त ७१ करोड रकमको ब्याजसहित जोड्ने हो भने महतोसँग अर्ब रुपैयाँभन्दा बढी असूली गर्नुपर्ने उनीहरुको भनाइ छ ।

के थियो घटना ?

५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना थियो उनीहरुको ।

युटिएलको योजनामा साथ दिन नेपालका व्यवसायिक घरानाहरु विशाल ग्रुप, ज्योति ग्रुप, आइएमइस ग्रुप र जावलाखेल ग्रुप अफ कम्पनी तयार भएका थिए ।

चार वटा व्यवसायिक घरानालाई लगानी गर्न मनाउने काम गरेका थिए गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ।

भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो ।

युटिएलमा भारतीय कम्पनीहरु टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडको सेयर थियो । एनसेलको सेयर बिक्री गरेपछि युटिएलमा उपेन्द्र महतो नेपाल भेञ्चरको सेयर किने २० प्रतिशत स्वामित्वमा भित्रिएका थिए ।

युटिएलमा नेपालका ४ व्यवसायिक घरानाले पैसा लगानी गर्ने बेला महतो समूहको नाममा ५३ प्रतिशत सेयर स्वामित्व थियो भने भारतीय कम्पनीहरुको ४७ प्रतिशत थियो ।

कम्पनी चलाउन सक्ने राम्रो सम्भावना भएपनि युटिएल राम्रोसँग चलेको थिएन । फोरजीको लाइसेन्स पाएमा कम्पनी चलाउन सक्ने सम्भावना थियो ।

महतोले ४ जना व्यवसायिक घरानालाई युटिएल सेयर किन्ने प्रस्ताव गर्नुअघि अन्य ग्रुपसँग कुरा गरेका थिए । जसमा शंकर ग्रुपका शाहिल अग्रवाल, कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहिया, आइएमई ग्रुपका चन्द्र ढकाल तथा प्रभु ग्रुपका देवी भट्टचन थिए ।

महतोको प्रस्तावमा शुरुमा उत्साहित भएका शंकर ग्रुपका साहिल अग्रवाल तथा सिरोहिया दुई÷चार पटकको बैठकपछि पछाडि हटे । शाहिलले डिलमा रुची नदेखाएपछि सिरोहिया पनि बाहिरिए । त्यसको केही समयपछि आइएमई ग्रुपका ढकालले पनि रुची देखाएनन् ।

त्यसपछि महतोले विशाल ग्रुपका अनुज अग्रवाल, ज्योति ग्रुपका सौरभ ज्योति, आइएमएसका दीपक मलहोत्रा र जावलाखेल ग्रुप अफ कम्पनीका विजय शाहसँग डिल फाइनल गरे ।

महतोसँग नेपाली व्यवसायिक घरानाको भएको सहमतिअनुसार युटिएलमा ६० प्रतिशत ४ वटा व्यवसायिक घरानाको सेयर हुने थियो भने महतो समूहको ४० प्रतिशत सेयर हुने थियो । ४० प्रतिशत हिस्सामा पछि प्रभु ग्रुपका देवी भट्टचन पनि युटिएलको सेयर किन्न सहमत भए ।१५ प्रतिशत स्वामित्व आइएमएससँग हुने थियो । ५ प्रतिशत स्वामित्व सौरभ ज्योतिसँग हुने थियो । २० प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत जावलाखेल ग्रुपसँग हुने सहमति भएको थियो ।

सहमति अनुसार ६६ करोड रुपैयाँ ४ जना व्यवसायिक घरानाका प्रतिनिधिले पैसा हाले भने प्रभु ग्रुपका अध्यक्ष भट्टचनले ५ करोड रुपैयाँ पैसा लगानी गरे ।

२०७४ सालमा एनसेल सेयर खरिदबिक्रीमा भएको लाभकर विवादमा थियो । एनसेल कमजोर भएको अवस्थामा आक्रामक बजार विस्तार गरेर स्थापित हुने उनीहरुको योजना थियो ।

फोरजी लाइसेन्स टेलिकम र एनसेल दुबैले पाउन सकेका थिएनन् । युटिएलको युनिफाइड लाइसेन्स लिएर एकैपटक फोरजीमा सेवा बिस्तार गर्ने सोचका साथ नेपाली व्यवससायिक घरानाले पैसा लगानी गरेका थिए ।

२०७४ सालमा ६६ करोड रुपैयाँ सेयर किन्नका लागि युटिएलको सेयर स्वामित्व रहेको कम्पनी नेपाल भेन्चरमा खातामा पैसा ट्रान्सफर गरेका थिए ।

२०७४ सालमा पैसा ट्रान्सफर गरे पनि सेयर स्वामित्व भारतीय कम्पनीले नेपाली लगानीकर्ताको नाममा गरेन । त्यो बेलाको सहमति भारतीय लगानीकर्ता नेपाली लगानीकर्तालाई सेयर बिक्री गरेर बाहिरिने थियो ।

डेढ अर्ब रुपैयाँ पाए भारतीय लगानीकर्ता बाहिरिने अवस्था थियो । तर, युटिएलको सेयर स्वामित्व परिवर्तन भएन । यता एनसेल तथा नेपाल टेलिकमले फोरजीको लाइसेन्स पाए । एनसेलको पनि कर सम्बन्धी विवाद सकिने चरणमा पुग्यो ।

पैसा हालेको डेढ वर्षपछि नेपाली लगानीकर्ताको समूह युटिएलको डिलबाट बाहिरिने निर्णयमा पुग्यो । एनसेल र टेलिकमसँगै फोरजीको लाइसेन्स स्मार्टले पाएपछि चलाउन नसकिने निष्कर्ष नेपाली लगानीकर्ताको थियो ।

सेयर किन्न दिएको पैसा अहिलेसम्म उठेन

नेपाली लगानीकर्ताको समूहको सेयर किन्नका लागि दिएको ७१ करोड अहिलेसम्म उठ्न सकेको छैन । नेपाली कम्पनी नेपाल भेञ्चर प्रालिले अहिलेसम्म पैसा फिर्ता सकेको छैन ।

कर्पोरेट सेक्टरमा नेपाली लगानीकर्ताको पैसा फसेको चर्चा सबैलाई जानकारी छ । शुरुमा पैसा फसाएका व्यवसायीहरु कोही पनि यसको बारेमा कुरा गर्न तयार नभए पनि पछिल्लो समयमा भने आक्रामक देखिएका छन् ।

औपचारिक तथा अनौपचारिक रुपमा कुरा नगरे पनि व्यवसायीहरु अन्य व्यवसायीहरुसँग भने युटिएलमा लगानी गरेर सेयरधनी बन्न खोज्दा आफूहरु फसेको बताउँछन् ।

युटिएलको लाइसेन्स अहिले नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । जसविरुद्ध युटिएल अदालत गएको छ । युटिएलले अहिले ८५०, ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ । सरकारको स्पष्ट नीति नभएका कारण चल्न नसक्ने कम्पनीले फ्रिक्वेन्सी होल्ड गर्ने तथा नयाँ कम्पनी आउन नसक्ने स्थिति छ ।

‘टेलिकम बिजनेश धेरै नै रिस्की बिजनेश रहेछ भन्ने बुझियो । तर, अहिले पनि किन टेलिकमको लाइसेन्स लिन साथीरु मरिहत्ते गरिरहनु भएको छ ?’ करोडौं फसाएका ती व्यवसायीले भने ।


क्लिकमान्डु