३ अर्ब पुँजीको नयाँ स्टक एक्सचेञ्ज आउने भएपछि पुँजी बढाउने नेप्सेको रणनीति, यसरी जुटाउँदैछ ५ अर्ब



काठमाडौं । धितोपत्र बोर्डले न्यूनतम तीन अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ स्टक ल्याउने तयारी गरिरहेको समयमा नेप्सेले आफ्नो संरचना सुधार गरेर पुँजी ५ अर्ब पुर्‍याउने रणनीति बनाएको छ ।

पूर्वसचिव हरि बस्याल नेतृत्वको समितिले गरेको अध्ययन प्रतिवेदनमा नेप्सेलाई पुनर्संंरचना गरी ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सुझाव दिइएको छ । हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

सरकारको नीति तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेप्सेको पुनर्संंरचना गर्दा हाल कायम रहेको पुँजीमा चुक्ता पुँजी वृद्धि गरी ५ अर्ब बनाउन सुझाव दिइएको छ ।

अध्ययन प्रतिवेदनमा नेप्सेको पुँजी वृद्धिगर्दा सरकार, राष्ट्र बैंकले आफ्नो लगानीलाई यथावत कायम राखि वृद्धि गरेको चुक्ता पुँजीलाई उच्च संस्थागत सुशासन भएका संस्थाहरुलाई सेयर बिक्री गर्ने र थप सेयरहरु सरकारी बैंक, सर्वसाधारणमा जारी गर्न भनिएको छ ।

अध्ययनले कर्मचारीसहित सर्वसाधारणलाई ३० प्रतिशत सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न सुझाव दिएको छ ।

यस्तै नेपाल सरकारको १९.५५ प्रतिशत, उच्च संस्थागत सुशासन भएका संस्थाहरुलाई २० प्रतिशत, नेपाल राष्ट्र बैंकको ४.८७ प्रतिशत, कर्मचारी संचय कोषको ३.३३ प्रतिशत, प्रभु र लक्ष्मी बैंकको ३.३३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक सहित थप अन्य सरकारी बैंकको १८.९२ प्रतिशत सेयर संरचना हुनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

सर्वसाधारणलाई सेयर जारी गर्न धितोपत्र बजार सञ्चाल नियमावलीमा संशोधन गर्नुपर्ने देखिएको छ ।

हालै नेपाल धितोपत्र बोर्डले जारी गरेको बुक विल्डिङमार्फत् समेत नेप्सेको सेयर सर्वसाधारणलाई जारी गरेर नयाँ अभ्यास थालनी गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै अन्तर्राष्ट्रिय मान्यता अनुसार नेप्सेले हाल सीडीएस एण्ड क्लियरिङ मा रहेको आफ्नो शतप्रतिशत लगानीलाई ५१ प्रतिशतसम्म कायम गर्न सुझाएको छ ।

विद्यमान संस्थाको अवस्थालाई हेर्दा विदेशी ज्ञान ,सीप, प्रविधि र आधुनिक व्यवस्थापकीय ज्ञान हासिल गर्न आवश्यकताको आधारमा उपयुक्त विदेशी संस्थाबाट व्यवस्थापन करार सेवा लिई संस्थालाई क्षमतावान बनाउन सकिने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हालको सेयर संरचनामा परिवर्तन गर्दा समावेशीमुलक लगानी गर्न पाउने वातावरण तयार गर्न र हालको नेप्सेको पुनर्संरचना गर्नु अगाडि सम्पत्ति, सेयर, पुँजीको मूल्याङकन गर्न नेप्सेले डीडीए गराउनु पर्ने सुझाव समितिले दिएको छ ।

हालको सञ्चालक समितिलाई माथि सिफारिस गरिएको सेयर संरचना अनुसार समितिको प्रतिनिधित्व हुने गरी नियमावलीमा संशोधन गर्नु पर्ने देखिएको छ ।

हालको नेप्सेको संगठन संरचनालाई डिजिटल प्रविधियुक्त बनाउने गरी सूचना प्रविधिमा आधारित संगठन संरचना बनाउने, दोस्रो बजारका सहभागीहरुको कारोबारलाई व्यवस्थित बनाउन प्रभावकारी रियल टाइम अत्याधुनिक सुपरिवेक्षण प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउने, साइबर तथा तथ्यांक सुरक्षाको लागि अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जहरुले प्रयोग गरिरहेका नवीनतम प्रविधि जडान गर्ने र सन्चालन गर्न दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

यता धितोपत्र बोर्डले सोमबार धितोपत्र बजार सञ्चालन नियमावली-२०७९ जारी गर्दै नेप्सेलाई तीन अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने बाध्याता नभएको जनाएको छ ।

नयाँ खुल्ने स्टकको पुँजी न्यूनतम ३ अर्ब रुपैयाँ हुनुपर्ने छ । नयाँ आउने स्टकले २ वर्षभित्र जारी पुँजीको ३० प्रतिशत आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने छ । अहिलेको स्टकलाई त्यो बाध्यता छैन ।

तर बस्यालले गरेको अध्ययन प्रतिवेदन अहिलेको स्टकले नै आईपीओ जारी गर्नुपर्ने सुझाव दिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने उल्लेख गरिएको छ ।

पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हक/हित संरक्षण गरिने बजेटमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु