नेपालमा नयाँ स्टक एक्सचेञ्ज चाँहिदैनः अध्ययन प्रतिवेदन



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने बाटो खुला भएसँगै देशमा अर्को स्टक एक्सचेञ्ज चाहिने/नचाहिने विषयमा बहस भइरहेको छ ।

गत मंगलबारको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार संचालन नियमावली-२०६४ संशोधन गर्दै निजी क्षेत्रले पनि स्टक एक्सचेञ्ज खोल्नसक्ने गरी नीतिगत व्यवस्था गरेको हो ।

अर्थमन्त्रालयमा समेत काम गरेका पूर्वसञ्चार सचिव हरी बस्याल नेतृत्वको समितिले गरेको अध्ययनले नेपालमा नयाँ स्टक नचाहिने निष्कर्ष निकालेको हो ।

‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनःसंरचनाका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदन’ ले छुट्टै नयाँ स्टक नचाहिने निष्कर्ष निकालेको प्रतिवेदन क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

उक्त अध्ययन प्रतिवेदन गत मंगलबार नै अर्थमन्त्रालयमा बुझाइएको थियो । तर, सोही दिन बसकेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक खोल्न धितोपत्र बोर्डले गरेको प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

बस्याल नेतृत्वको उक्त समितिले नेपालको सेयर बजारमा एउटा स्टक एक्सचेञ्जले पुग्ने तर त्यसका लागि निजी क्षेत्र भित्र्याउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेप्सेलाई अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धी बनाउन, वैदेशिक ज्ञान, अनुभव र प्रविधि भित्र्याउनका लागि व्यवस्थापन करारमा सेवा लिन सकिने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, विदेशी साझोदार भित्र्याउन भने आवश्यक नगरहेको समितिको निष्कर्ष छ ।

‘नेप्से जस्तो सुरक्षित पुँजी, नाफामूलक सरकारी कम्पनीमा सेयर लगानी गर्न नेपालभित्रै वित्तीय संघ, सस्था र नेपाली लगानीकर्ता इच्छुक देखिएकाले विदेशी साझेदार भित्र्याउन आवश्यक देखिँदैन,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा अहिलेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । हालको नेप्सेको कार्यक्षेत्र, पुँजी बजारमा देखा परेका अन्तर्राष्ट्रिय अभ्यास, सूचना प्रविधिमा भएको परिवर्तन, निजी क्षेत्रको पुँजी बजारमा लगानी गर्ने उत्साहजनक वातावरण समेतलाई हेर्न भनिएको छ ।

अहिलेको नेप्सेलाई पुनर्संरचना गर्दा पुँजी बजारमा विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकलाई लागानी गर्ने वातावरण बनाउन अध्ययनले सुझाएको छ ।

यस्तै नेपालमा दोस्रो पुँजी बजारको व्यापार विविधिकरण गर्न, नेपालको पुँजी बजारमा बढीभन्दा बढी स्वदेशी तथा बैदेशिकलगानी भित्र्याउन पनि सुझाव दिएइको छ ।

अध्ययनले विदेशी पुँजी, प्रविधि ज्ञान, सीप र अनुभव भित्र्याउन आवश्यक ठानेको छ । हालको नेप्सेलाई पुनर्संरचना गर्दा वित्तीय संस्था, निजी क्षेत्र, नेप्सेका कर्मचारी तथा सबैको स्वामित्व हुने गरि लगानीमा सहभागी गराउन भनेको छ ।

नेपालमा निजी क्षेत्रबाट छुट्टै स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने चर्चा चलेको बेला नेपालको पुँजी बजारको स्थिती, पुँजीबजारमा लगानीकर्ताको संख्यात्मक स्वरुपको अवस्था, अन्तर्राष्ट्रिय स्टक एक्सचेञ्ज सन्चालन गर्ने देशहरुमा स्टक एक्सचेञ्जहरुको संख्यात्मक अवस्थालाई ध्यान दिन भनेको छ ।

सुरुमा धेरै स्टक एक्सचेन्जहरु खोलेका देशहरुले हाल मर्जर गर्दै एउटा वा दुईवटामा सिमित गर्दै गएको र नेपालको पुँजीबजारमा लागानीकर्ताहरुको उत्साहाजनक स्थितिलाई हेर्दा हालको स्टक एक्चेञ्जलाई पुनर्संरचना गरी निजी क्षेत्रसमेत सहभागी गराई संस्थाको क्षमता अभिवृद्धि गर्न जरुरी देखिएको अध्ययनमा उल्लेख छ ।

‘हालकै नेप्सेको संरचनालाई पुनर्संरचना गर्ने र यसै संस्थामा निजी क्षेत्रलाई लगानी गर्ने अवसर दिने तर नेपालको पुँजीबजारले धान्न नसक्ने गरी नेप्सेको प्रतिस्पर्धी छुट्टै अर्को संस्था खोल्न आवश्यक देखिँदैन,’ प्रतिवेदनमा उल्लेख छ ।

एशियाका बंगलादेश, पाकिस्तान, भारत, इन्डोनेसियाजस्ता देशहरुले सेयर विनिवेष गरी विदेशी पुँजी र प्रविधि भित्र्याएका छन् ।

नेपाल जस्तो थोरै कम्पनी सूचिकत भएको र सानो आकारको पुँजी बजार भएको देशमा अर्को स्टक एक्सचेञ्ज आवश्यक नरहेको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

तर, सरकारले भने कुनै एक व्यापारिक घरानालाई नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने उदेश्यले विनियमावली नै संशोधन गरेको भन्दै आलोचना भइरहेको छ ।


सोभित थपलिया