हर्क साम्पाङको चुनौतीपछि बालेनको ‘नायक’ शैली !



काठमाडौं । एक साताअघिसम्म काठमाडौंका मुख्य चोक र सडक पेटीमा फोहोरको रास थियो । काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा पाएको महानगरपालिकाले बञ्चरेडाँडामा फोहर बिसर्जन गर्न प्रयास जारी राखेको भए पनि सफल हुने सकेको थिएन ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडासम्म संगठन भएका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै बालेन शाहले महानगरको साँचो पाँच वर्षका लागि हात पारेका थिए । ठूला भनिएका पार्टीका उम्मेदवारलाई २३ हजार बढी मतले जितेका बालेनमाथि काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना सुरु भइसकेको थियो ।

नेपाली राजनीति र नेतृत्वमा ‘जुन जोगी आए पनि…’ उखान चरितार्थ हुन लागेको भन्दै मेयर शाहको आलोचना जारी रहँदा त्यसमा धरान उपमहानगपालिकामा स्वतन्त्रतर्फबाट मेयरमा विजयी हर्क साम्पाङले आगोमा घ्यू थपे ।

केही साताअघि धरानबाट काठमाडौं आएका हर्कले काठमाडौंमा थुप्रिएको फोहोरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । लेखेका थिए, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डङ्गुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

धरानमा निरन्तरजसो श्रमदान गरेर वाहावाही कमाइरहेका हर्कको तुलनामा काठमाडौंका मेयर शाह फोहोर उठाउन नसकेका कारण छाँयामा थिए । त्यति मात्र होइन उनी आलोचनाका पात्र बनिरहेका थिए । त्यतिनै बेला हर्कले शाह लक्षित प्रहारलाई निरन्तरता दिए ।

हर्कको सामाजिक सञ्जालका स्टेटसमा बालेनले प्रतिक्रियासमेत जनाएका थिए । शाहले भनेका थिए, ‘हिँड न केटा हो, ५-५ केजी फोहोर बोकेर बञ्चरे । किन चाहियो ट्रक, किन चाहियो बाटो, किन चाहियो व्यवस्थापन ?’

हर्कले फेरि अर्को स्टेटस लेखे, ‘काठमाडौंको फोहोर व्यवस्थापनमा सख्तीका साथ प्रस्तुत हुनुपर्छ । गुलेलीले हान्यो, त्यसैले सकिएन भन्ने बहानाको कुनै तुक छैन । फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन् फोहोरी भो ।’ जतिबेला बालेन फोहर व्यवस्थापनका लागि आफूलाई राजनीतिक दलले असहयोग गरेको भन्दै आक्रोश पोखिरहेका थिए ।

हर्क त्यतिमै रोकिएनन् । उनले फेरि बालेनलाई ‘दनक’ दिए । उनले लेखे, ‘जसले जे भनोस् तर म काठमाडौं नआएको भए फोहोर उठ्ने थिएन रैछ । कमसेकम काम त सुरू गरे’ उक्त कमेन्टमा बालेनको जवाफ थियो, ‘तपाईंकै लौरो चुनावचिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

हर्कले बालेनमाथि प्रहारलाई निरन्तरता दिए । जसमा आएका प्रतिक्रिया बालेको पक्षमा भन्दा बिपक्षमा धेरै देखिएका थिए ।

हर्कले नामले खाएको तर पाखुरा बजाउन पछिपरेका भन्दै आक्रमणलाई निरन्तरता दिए ।

‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउन छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस् बेस्सरी ! काम गर काम, हावा तालका हो।’ साम्पाङले दैनिकजसो चुनौती दिइरहँदा मेयर शाहमा केही गर्ने हुटहुटी लाग्नु अस्वभाविक थिएन ।

पुराना राजनीतिक दलबाट वाक्क भएका महानगरबासीलाई केही गरेर देखाउने चुनौती बालेनलाई छ । जसलाई अन्य स्वतन्त्रले पनि चुनौती दिइरहँदा उनले ‘पाखुरा बजाए’का छन् ।

यसअघि यस्तो गर्ने हिम्मत अरुले पनि नगरेका भने होइनन् । काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित र प्रधानमन्त्री भएको बेला सडक विस्तारमा बाबुराम भट्टराईले यस्तै हिम्मत गरेका थिए ।

बालेको ‘पाखुरा बजाइ’ धेरैलाई मन परेको सामाजिक सञ्जालहरुमा उनको समर्थनमा आएका स्टेटसहरुले प्रमाणित गर्छ । थुप्रिएको फोहरलाई व्यवस्थापन थालेको केही दिनमा नै बालेन आक्रामक रुपमा देखापरे । जसले बलिउड फिल्म ‘नायकको’ झल्को दिइरहेको टिप्पणी भइरहेको छ ।

बालेनको ‘नायक’ रुप

राजनीतिप्रति वितृष्णा भएका धेरैलाई मन पर्ने हिन्दी फिल्म हो ‘नायक’ । एक मिडिया हाउसमा क्यामेरा पर्सनको जागिर खाइरहेका शिवाज राव (अनिल कपुर) ले एकदिन कार्यक्रम प्रस्तोताको अनुपस्थितमा कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था बन्छ । त्यो पनि मुख्यमन्त्रीसँगको । त्यसका लागि उनले तयारी गर्छन् ।

देशको अवस्था, मुख्यमन्त्रीको दलले निर्वाचनका समयमा गरेको वाचा । उनको पारिवारिक स्थिति र मुख्यमन्त्री रहँदाको सम्पत्ति विवरणबारे उनले मुख्यमन्त्रीलाई तथ्यसहितका प्रश्नहरु गर्छन् । मुख्यमन्त्री रहेका बलराम चौहान (अमरिस पुरी) ले सरकार चलाउने काम सजिलो नभएको भन्दै नपत्याए एक दिनका लागि मुख्यमन्त्री बनेर हेर्न कपुरलाई प्रस्ताव गरे । जसलाई उनले स्वीकार गर्छन् ।

२४ घण्टाको समय सुरु भएपछि अभिनेता अनिल कपुरले २४ घण्टामा ‘धडाधड’ काम गर्छन् । डोजर लिएरसँगै हिँड्छन् । गलत गर्नेहरुमाथि ठाउँको ठाउँ कारबाही गर्छन् । धेरै जनताले उनको समर्थन गर्छन् ।

त्यस्तै अवस्था पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा देखिएको छ ।

बुधबार बिहानदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन कपुर शैलीमा उत्रिए । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेको र पार्किङका लागि बनेका व्यवसायी भवनहरुमा अवैधरुपमा भाडामा लगाउने काम भइरहेको बेला कानुन विपरित बनेका संरचनाहरुमाथि बालेनले डोजर चलाए ।

नायक फिल्ममा कपुरकै गेटअपसँग मिल्दोजुल्दो गरि उत्रिएका शाहले बुधबार बिहान काठमाडौं मलमा डोजर चलाए । त्यसपछि उनी खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगे । त्यहाँबाट दरबारमार्ग हुँदै उनी कोटेश्वरसम्म पुगे । त्यसलाई बिहीबार पनि शाहले निरन्तरता दिए ।

बिहान बानेश्वरस्थित अल्फाबिटा र गौशाला पुगे शाह । अल्फाबिटा पुगेका उनी कानुनअनुसार नै भवन भएको जवाफ पाएपछि फर्किए । तर, नक्सा हेर्दा अवैध भएको पाइएपछि बिहीबार दिउँसो शाह डोजरसहित फेरि पुगे । उनको निर्देशनमा डोजरले अल्फाबिटाको भवनमा अवैधरुपमा बनेको संरचना भत्काएको छ ।

बालेनको काम गर्ने यो शैलीलाई धेरैले मन पराएका छन् । काम गर्न लाग्दा अदालत वा अन्य विभिन्न कागजी प्रकृयाले गर्दा भटाभट नहुने र नगर्ने परिपाटी बसेको देशमा यस्तो सक्रियतालाई धेरैले प्रशंसा गरेका छन् । यसलाई निरन्तरता दिने चुनौती भने शाहसँग रहेको छ ।

यस्तो छ नायक फिल्म


क्लिकमान्डु