काउन्टर ग्यारेन्टीमा फसेको डेढ अर्ब रुपैयाँ हिमालयन र बीओकेको खातामा फिर्ता आयो



काठमाडौं । काउन्टर ग्यारेन्टी बसेको करिब एक दशकपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डू(बीओके)को खातामा पैसा फिर्ता आएको छ ।

हिमालयन र बीओकेले स्टाण्डर्ड चार्टर्ड बैंकमा खोलेको खातामा चिनियाँ रेल्वे ब्यूरोबाट पैसा जम्मा भएको हो ।

बीओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर तथा १४ लाख ११ हजार ४५३ युरो काउन्टर ग्यारेन्टी अन्तर्गत मेलम्ची खानेपानी आयोजनालाई दिएको थियो ।

हिमालयन बैंकले ६६ लाख अमेरिकी डलरको काउन्टर ग्यारेन्टी दिएको थियो ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पैसा फिर्ता आएको जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ठेक्का चाइना रेल्वेले पाएको थियो । सम्झौता अनुसार काम गर्न नसकेपछि मेलम्ची खानेपानी आयोजनाले चाइना रेल्वेसँग ठेक्का तोडेपछि काउन्टर ग्यारेन्टी वापतको पैसा हिमालयन र बीओकेले पाएका थिएनन्।

बीओकेका सीईओ श्रवण मास्केले चिनियाँ रेल्बेबाट रकम फिर्ता आएको जानकारी दिए ।

‘बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ फिर्ता आएको छ’ मास्केले भने ।

चाइना रेल्वेले ठेक्का पाएको बेला ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बिओके बसेका थिए ।

सम्झौता अनुसार काम नगरेपछि चाइना रेल्वेले ग्यारेन्टी वापतको पैसा दिनुपर्ने थियो । उसले पैसा तिर्न नसक्ने भन्दै चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपालमा मेलम्ची खानेपानी आयोजनाले हिमालयन बैंक र बीओके विरुद्ध मुद्दा दायर गरेको थियो । नेपालमा मुद्दा परेसँगै राष्ट्र बैंकले काउन्टर ग्यारेन्टी बसेर आयोजनालाई तिनुपर्ने बराबरको रकम ‘एअरमार्क’गरेर राखेको थियो । पछि अदालतको आदेश अनुसार मेलम्ची खानेपानी आयोजनालाई पैसा हिमालयन र बीओकेले भुक्तानी गरेको थिए ।

चीनमा भने हिमालयन र बीओकेले चाइना रेल्वे र चाइना कन्सट्रक्सन बैंकसँग मुद्दा लडेका थिए ।

मेलम्ची खानेपानीले २०६९ मा ठेक्का तोडेपछि राष्ट्र बैंकले हिमालयन तथा बिओकेबाट पैसा ‘एअरमार्क’ गरेर राखेको थियो ।

चाइना रेलवे ब्युरोले ठेक्का तोडेपछि मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा ग्यारेन्टी रकमको दाबी गर्दै हिमालयन तथा बिओकलाई बिपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

गतसाता चीनको उच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेपछि नेपाली बैंकको डेढ अर्ब रुपैयाँ फिर्ता आएको हो ।

दुई बैंकले आयोजनालाई पैसा भुक्तानी गरेपछि नाफाबाट सो वापतको रकम प्रोभिजन गरेका छन् । चिनियाँ अदालतको आदेशसँगै पैसा फिर्ता पाएपछि हिमालयन र बीओकेको सेयरधनीले पाउने लाभांशसमेत बढ्ने छ ।


क्लिकमान्डु