३४ वर्षे दीपेन्द्रले उत्पादन गर्छन् १० हजारदेखि लाखसम्मका सोफा, मनग्य आम्दानी



काठमाडौं । स्कुलमा जेहेन्दार विद्यार्थीमा चिनिने दीपेन्द्र धरेललाई धेरै पढेर ठूलो मानिस बन्ने चाहना थियो । २०६१/६२ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं अमृत साइन्स क्याम्पसमा विज्ञान पढ्न थाले ।

आइएससी सकेपछि भने उनको पढाइको चाहना फेरियो । उनले स्नातक तहमा कमर्श पढ्न पब्लिक युथ पक्नाजोलमा भर्ना भए ।

कलेज पढ्दै गर्दा उनी बौद्धमा दाइको चिकेन कोल्ड स्टोर सञ्चालन गर्थे । व्यवसाय राम्रो थियो । दाइहरुको व्यापारबाट आएको पैसाको ‘फ्लो’ देखिरहेका थिए ।

त्यहीबेला काठमाडौंमा बर्डफ्लु व्यापक फैलियो । चिकेन कोल्ड स्टोर चल्न सकेन र बन्द भयो । चिकेन कोल्ड स्टोर बन्द भएपछि दाइले बौद्धमा फर्निचर उद्योगमा शुरु गरे ।

‘म पनि दाइसँग फर्निचर कारखानामा संलग्न भएँ,’ दीपेन्द्रले भने, ‘तर दाइले फर्निचर उद्योगको जिम्मा मलाई दिएर धादिङ फर्किनु भयो ।’

दुर्भाग्यवश २०६९ सालमा फर्निचर उद्योगमा ठूलो आगलागी भयो । रातिमा आगलागी भएकाले सबै नष्ट भयो ।

उनी शून्यमा झरे ।

‘शून्यमा पुगेपछि अब कसरी अगाडि बढ्ने भन्नमा धेरै चिन्ता भयो, दीपेन्द्रले भने, ‘विदेश जाने कि भनेर पनि सोचेको थिएँ ।’

अन्ततः उनी यही पेशालाई निरन्तरता दिने निर्णय गरे र नयाँ बजारमा सोफा उत्पादन शुरु गरे ।

उनले यस क्षेत्रका धेरैलाई चिनिसकेका थिए । टहरा बनाउन सानो लगानीबाहेक धेरै लगानी गर्नु परेन । कच्चा पदार्थदेखि अन्य सामानहरु ल्याउने पहिला कै नेटवर्क प्रयोग गरे ।

‘होलसेला र खुद्रामा पनि उपलब्ध गराउने गरी सोफा बनाउन थालें,’ उनी भन्छन्, ‘शुरुका दिनमा एक दुई सेट उत्पादन हुन्थ्यो ।’

बागबजारमै पाँच वर्षसम्म गरे । व्यापार बढ्दै गयो । ठूलो ठाउँ चाहिने भयो । उनी शोभाभगवति, चमतिको ठूलो क्षेत्रफलमा सरे । जहाँ अहिले कारखाना सञ्चालन गरिरहेका छन् । यसबाहेक बौद्धमा पनि अर्को कारखाना छ ।

पढेर ठूलो मान्छे बन्ने इच्छा राखेका दीपेन्द्र आफ्ना दाइसँगको संगतले उनी सफल उद्यमी बन्न सफल भएका छन् । दश वर्षअघि सानो लगानीबाट शुरु गरेको सोफा व्यवसाय आज मासिक ३० लाख रुपैयाँ कारोबार गर्न सक्ने भएको छ ।

नेपाली सोफा उत्पादन गरेर देशका विभिन्न ठाउँमा होलसेल बिक्री गरिरहेको दीपेन्द्रले ४० जनालाई रोजगारी दिँदै कति जनालाई यसै पेशमा आउन प्रेरित पनि गरेका छन् ।

नेपालमा उद्यम गर्न गाह्रो छ भनेर बेरोजगार बनेका युवाका लागि उदाहरणीय व्यक्ति पनि हुने ३४ वर्षिय दीपेन्द्र ।

कारखनामा कैयनथरीका सोफा उत्पादन भइरहेका छन् । धेरै बिक्री होलसेलमा जान्छ । केही व्यक्तिगत अर्डरमा पनि ।

‘अहिले हामीले दश हजारदेखि एक लाखसम्मका सोफा उत्पादन गरिरहेका छौं,’ दीपेन्द्र भन्छन्, ‘त्योभन्दा माथि अर्डरअनुसार उत्पादन हुनसक्छ ।’

एक लाखदेखि डेढ लाखको सोफाहरु उत्पादन गरिरहेका छन् ।

सस्तो भनिएको दश हजार ५ सय पर्ने सोफा ५ सिटे हो। जसमा तीन पिसमा आउँछ । पाँच वर्षको ग्यारेन्टी हुने यो सोफा सामान्य प्रयोग गर्दा १० वर्षसम्म चल्ने उनी बताउँछन् ।

बजारमा विभिन्न किसिमका सोफाको माग छ । सस्तोदेखि लक्जरियस महंगा खालका । भाडामा बसेका कति ग्राहकले बिग्रिए पनि खासै फरक नपर्ने भएकाले सस्तो खालको सोफा खोजिरहेका हुन्छन् भने केहीले उच्चस्तरका सोफा पनि खोजिरहेका छन् ।

सामान्यताः नेपालमा ३० हजारदेखि ३५ हजार रुपैयाँका सोफाहरु धेरै बिक्री भइरहेको उनको अनुभव छ । ३५ हजारको सोफा लिने हो भने चारवटा मुडा, टेबुल पनि उपलब्ध हुन्छ । एल आकारको यो सोफाको कर्नरमा मोबाइल वा अन्य केही राख्न मिल्ने ठाउँ छ ।

यो सोफा विभिन्न कलरमा उपलब्ध भएको दीपेन्द्र बताउँछन् ।

महंगो र सस्तो यसको डिजाइन र कच्चा पदार्थमा निर्भर हुन्छ । काठ, प्लाइउड नेपाली बजारमै उपलब्ध छन् । कपडाहरु भारत र चीनबाट आयात गर्नुपर्छ ।

नेपालमा सोफाको बजार बढ्दो छ । माग बढेसँगै सोफा उत्पादन गर्ने स्थानीय कम्पनीहरुको संख्या पनि वृद्धि भइरहेको छ भने विदेशबाट आयात हुने क्रम पनि बढेको छ ।

‘पहिला तीनचार सेटमात्र उत्पादन हुन्थ्यो भने अहिले ८ देखि १० सेट उत्पादन गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय उत्पादन गर्नेहरु पनि बढ्दै गएका छन् । यसले गर्दा पनि प्रतिस्पर्धा बढ्दो छ ।’

मासिक व्यापार ३० लाखको हराहारीमा भइरहेको उनी बताउँछन् ।

अहिले त उनीसँग काम गरेर निस्केकासँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । केही वर्ष आफैसँग काम गरेकाले आफ्नै सोफा उद्योग सञ्चालन गरिरहेका छन् ।

सोफा उत्पादन र बिक्रीमा धेरै नाफा होला भनेर बाहिर भने पनि प्रतिस्पर्धाका कारण एक सेटमा एक हजारदेखि २ हजारसम्म मात्र मार्जिन रहेको उनको भनाइ छ ।

नेपाली बजारमा स्थानीय उत्पादनको माग पनि राम्रो हुँदै गएकाले यसको बजार फस्टाउँदै गएको छ ।

‘बरु दुई तीन हजार महंगो परोस् तर अलि राम्रो फिनिसिङ गरिदिनुस् भन्ने धेरै हुनुहुन्छ,’ उनी भन्छन्, ‘कतिपय ग्राहक भने नेपाली सोफा फिनिसिङ नहुने भएकाले बाहिरको खोजिरहेका हुन्छन् ।’

विदेशबाट आएको सोफा हेर्दा चिटिक्क र फिनिसिङ राम्रो देखिन्छ । टिकाउका हिसाबले हेर्ने भने नेपाली सोफा राम्रो भएको उनी बताउँछन् । अहिले त बाहिरको डिजाइन हेरेर नेपाली सोफा उत्पादन हुन थालेका पनि फिनिसिङ पनि राम्रो भइरहेको उनको भनाइ छ ।

नेपालमा युवाहरु सोफा तथा फर्निचर उद्योगमा आउन थालेका छन् । उनीसँग काम गरेका १०/१२ जनाले आफैं उत्पादन गरिरहेका छन् ।

यसरी नयाँ उद्यम गर्नेहरु भने प्रतिफल भन छिटो खोज्छन् । प्रतिफलका लागि केही वर्ष धैर्य गरेर मेहनत गर्नुपर्नु उनको सुझाव छ ।

साथै, कोही नयाँ युवाले यस पेशमा आउन चाहन्छन् भने आफै खोल्नुभन्दा पहिला केही अनुभव लिन राम्रो हुने उनको सुझाब छ ।

केही वर्षको अनुभव लिने हो भने यसको नेटवर्क, कच्चा पर्दाथ, मार्जिन, दक्ष जनशक्ति तथा जोखिमको बारेमा बुझन् सकिन्छ । एक दुई वर्षको अनुभवले आफै सफल उद्यमी बन्न सकिने दीपेन्द्रको सुझाब छ ।


सन्तोष न्यौपाने