२० वस्तुको आयातमा मात्रै ११ खर्ब खर्च, कुन–कुन सामानमा लाग्ला प्रतिबन्ध ?



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब रुपैयाँ बराबरको सामान आयात गर्दा २० वस्तुलाई मात्र ११ खर्ब रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालले जेठ मसान्तसम्ममा १० खर्ब ९५ अर्ब ४७ करोड ९१ लाख रुपैयाँको २० वस्तु आयात गरेको छ भने अन्य वस्तु ६ खर्ब ६७ अर्ब ७४ करोड ३९ लाख रुपैयाँको आयात गरेको छ ।

उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र तरलता अभाव देखिएको भन्दै सरकारले गत वैशाख १३ गते १० वटा वस्तुको आयातमा चालु आर्थिक वर्षसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।

शुक्रबार मन्त्रीपरिषद्को बैठकले गत वैशाख १३ गतेदेखि १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘हामीले धेरै आयात हुने वस्तुलाई प्रतिबन्ध लगाउनुपर्ने गरी प्रस्ताव तयार गरेका थियौं । मन्त्रीपरिषद्ले कुन–कुन वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्छ । राजपत्रमा सूचना प्रकाशित गरेपछि थाहा होला ।’

विदेशी वस्तु आयातमा कडाइ गर्ने हो भने सबैभन्दा धेरै आयात भएको २० वस्तुलाई सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । उक्त अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

नेपालले उक्त अवधिमा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालले चालु आर्थिक वर्षको जेठसम्ममा १७ खर्बको वस्तु आयात गर्दा २ खर्ब ९२ अब ७७ करोड १७ लाख रुपैयाँको मात्रै पेट्रोलियम वस्तु आयात गरेको छ ।

त्यसैगरी, सो अवधिमा सवारी साधन तथा पार्टपूर्जा १ खर्ब १६ अर्ब ५८ करोड ६४ लाख रुपैयाँको आयात भएको राष्ट्र बैंकले तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, ८४ अर्ब ७२ कोड ६१ लाख रुपैयाँको अन्य मेशिनरी पार्टस्, ६७ अर्ब ८६ करोड ८० लाख रुपैयाँको औषधि, ५३ अर्ब ३२ करोड ८२ लाख रुपैयाँको कच्चा भटमासको तेल र ५० अर्ब ७३ करोड ६७ लाख रुपैयाँको मोबाइल फोन तथा पाट्र्सपूर्जा आयात भएको छ ।

नेपालले ११ महिनाको अवधिमा ४८ अर्ब ८१ करोड ९४ लाख रुपैयाँको एमएस ब्लेड, ४५ अर्ब ७ करोड ९९ लाख रुपैयाँको धान÷चामल, ३९ अर्ब ३१ करोड ५३ लाख रुपैयाँको सुन, ३७ अर्ब ८७ करोड ५० लाख रुपैयाँको कोइला, ३६ अर्ब ५९ करोड ६५ लाख रुपैयाँको कच्चा पाम तेल, ३४ अर्ब ९३ करोड ६४ लाख रुपैयाँको हटरोल्ड सिट इनकोयल र ३० अर्ब ९८ करोड ८९ लाख रुपैयाँको विद्युतीय उपकरण आयात गरेको छ ।

त्यस्तै, २९ अर्ब ८ करोड १८ लाख रुपैयाँको रेडिमेड गार्मेन्ट, २६ अर्ब ८० करोड ८१ लाख रुपैयाँको टेक्स्टायल, २२ अर्ब ३६ करोड १९ लाख रुपैयाँको स्पञ्ज आइरन, २१ अर्ब २६ करोड १९ लाख रुपैयाँको धागो, १९ अर्ब ६६ करोड ८५ लाख रुपैयाँको विद्युतीय सामग्री, १८ अर्ब ३९ करोढ ९९ लाख रुपैयाँको इडीबल आयल र १८ अर्ब २६ करोड ४७ लाख रुपैयाँको एमएस वायर रोड तथा डण्डी आयात गरेको छ ।


क्लिकमान्डु