आइओसीको पैसा नतिर्दा जेठमा विदेशी मुद्राको सञ्चिति बढ्यो, अर्थतन्त्र सुधार भएको गलत प्रचार



नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी) को पैसा नतिर्दा जेठ महिनामा वैशाखभन्दा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ मा सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढेको छ ।

वैशाख मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब २८ करोड डलर थियो । जेठ मसान्तसम्ममा उक्त सञ्चिति १७ करोडले बढेर ९ अर्ब ४५ करोड डलर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांकमा विदेशी मुद्राको सञ्चिति बढेपनि वास्तविकतामा भने नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको पाइएको छ । नेपाल आयाल निगमले भारतीय आयाल निगम (आइओसी)लाई तिर्नुपर्ने रकम समयैमा नतिर्दा जेठ महिनामा विदेशी मुद्राको सञ्चिति बढेको हो ।

नेपाल आयल निगमका अनुसार जेठ मसान्तसम्म आइओसीलाई २२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । यदि निगमले जेठ मसान्तसम्ममै आइओसीलाई सबै रकम भुक्तानी गरेको भए १८ करोड अमेरिकी डलरभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने थियो । त्यसले जेठ मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति ९ अर्ब २७ करोड डलर पुग्ने थियो ।

तर, घाटामा इन्धन बिक्री गरिरहेको निगमलाई सरकारले पैसा नदिँदा आइओसीलाई पैसा तिर्न सकेन । जसले गर्दा जेठ महिनामा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको हो ।

असार २४ गते सम्म आइओसीलाई निगमले ३३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो सातामा आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम बढ्ने नेपाल आयल निगमका अधिकारी बताउँछन् ।

निगम घाटामा भए पनि पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल्ने सरकारले भने निगमलाई ५ अर्ब ७३ करोड मूल्य अभिवृद्धि कर फिता गरेको छैन ।

सरकारले विदेशी मुद्राको सञ्चितिमा सुधार भएको देखाउन आइओसीलाई तत्कालै पैसा भुक्तानी गर्न चाहेको देखिदैन् ।

यदि निगमले असार मसान्तसम्मको सबै पैसा भुक्तानी गरे २६ करोड अमेरिकी डलर भन्दा बढी रकम भुक्तानी गर्नुपर्छ । त्यसले विदेशी मुद्राको सञ्चिति झनै घटाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘यहाँ अर्थतन्त्र सुधारका लागि प्रयास गर्नेभन्दा पनि तथ्यांक तोडमडोर गर्ने गरिएको छ,’ ती अधिकारी भन्छन्, ‘यसले अर्थतन्त्रमा झनै समस्या ल्याउनेछ ।’

जेठ महिनामा विदेशी मुद्राको सञ्चिति बढेको देखिएकाले वैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँ घाटामा रहेको भुक्तानी सन्तुलन (देशबाट बाहिरिने र भित्रिने मुद्राको फरक) जेठ महिनामा २ खर्ब ६९ अर्ब रुपैयाँमा घाटामा पुगेको छ ।

निगमलाई भुक्तानी गर्नुपर्ने पैसा समयमै तिरेको भए जेठ महिनामा भुत्तानी सन्तुलन २ खर्ब ९१ अर्ब रुपैयाँले घाटामा हुन्थ्यो ।

‘अर्थतन्त्रका सूचक यसरी खराब हुँदा पनि सरकारले व्यापारमा कडाइ नगर्ने हो भने आगामी दिनमा झनै समस्या हुन्छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारी भन्छन्, ‘एक महिनाको अपूर्ण तथ्यांक देखाएर अर्थतन्त्रमा सुधार भयो भन्ने अवस्थामा हामी छैनौं ।’


शरद ओझा