हिमालयनलाई सिभिल बैंकको जवाफः मर्जका लागि अर्कै जोडी खोजिसक्यौं, सिटिजन्स ९७ दिन तयार



काठमाडौं । लामो समयको छलफलपछि मर्जरको सम्झौता गर्ने मिति नै तोकेका हिमालयन र सिभिल बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको छ । यी दुई बैंकबीच गत शुक्रबार दिउँसो सोल्टी होटेलमा मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने मिति तोकेर पत्रकारहरुलाई निम्ता समेत दिइएको थियो ।

तर, स्वाप रेसियो र कर्मचारी समायोजनलगायतका विषयमा कुरा नमिलेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति स्थगित गरिएको थियो । यद्यपि दैनिकजसो दुबै बैंकका प्रतिनिधिबीच बाक्लो कुराकानी भइरहेको थियो । नमिलेका कुराहरुमा घनिभूत छलफल गरी टुंगो लगाउने प्रयास भएको थियो ।

तर, मंगलबार दिउँसो सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हिमालयनसँग मर्ज हुनका लागि समय वितिसकेको जवाफ दिएका छन् । योसँगै यी दुई बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको हो ।

हिमालयनले आफूहरुलाई हेपेको महशुस गर्दै सिभिलले अब उसँग मर्जरमा नजाने निष्कर्ष निकालेको हो ।

‘हामीले सबै त्याग गर्छौं भन्दा पनि उहाँहरु (हिमालयन)ले पेल्न मात्रै खोज्यो,’ सिभिल बैंक स्रोतले भन्यो, ‘त्यसैले अब हिममालयनसँग मर्जरमा नजाने निचोड निकालेका हौं ।’

सिटिजन्ससँग कुरा मिल्दै

पछिल्लो समय सिभिल बैंक सिटिजन्स बैंकसँग नजिकिएको छ । मंगलबार मात्रै पनि सिभिल र सिटिजन्सको मर्जर कमिटि बसेर मर्जरमा जाने विषयमा भद्र सहमति जुटाएका छन् । यद्यपि त्यसलाई सञ्चालक समितिले औपचारिकरुपमा अनुमोदन गर्न भने बाँकी नै छ । सिटिजन्ससँग मर्जरमा जाने करीब करीब निश्चित भएपछि सिभिलले हिमालयनलाई अर्कै पार्टनर खोजिसकेको जवाफ दिएको हो ।

स्रोतका अनुसार सिटिजन्स सिभिललाई ९७ दिन तयार भएको छ । यसको अर्थ सिभिल बैंकमा १०० कित्ता सेयरधनीको मर्जरपछि सिटिजन्समा ९७ कित्तामात्रै हुन्छ ।

हिमालयनसँग सिभिल ८१ को स्वाप रेसियोमा मर्जरमा जान सहमत भएको थियो ।

मर्जरपछि बैंकको नाम सिटिजन्स नै रहने, अध्यक्ष राजनसिंह भण्डारी नै रहने र प्रमुख कार्यकारी अधिक पनि गणेशराज पोखरेल नै हुने भद्र सहमति भएको छ । सिनियर डेपुटी सीइओका रुपमा सुनिल पोखरेल रहने र सञ्चालक सममितिमा सिभिलको पनि प्रतिनिधित्व हुने खाका तयार पारिएको छ ।

‘हिमालयन र सिभिलबीच स्वापमा भन्दा पनि कर्मचारी समायोजनमा कुरा नमिलेको रहेछ,’ सिटिजन्स बैंक बैंक स्रोतले भन्यो, ‘कर्मचारी सायोजनमा किचलो नहोस् भन्नेमा हामी गंभीर छौं । दुबै बैंकका कर्मचारीलाई खुसी बनाएर मात्रै मर्जरमा जान्छौं । त्यसका लागि अझ घनिभुत छलफल हुन्छ ।’

सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे र सिटिजन्स बैंकका सञ्चालक प्रवलजंग पाण्डे सहोदर दाजुभाई हुन् । यसले पनि यी दुई बैंकको मर्जरको कुराकानी थप सजिलो भएको र परिणाममूखि हुनसक्ने सरोकारवालाहरुको बुझाइ छ ।

सिटिजन्स बैंक मर्जरमा गएर ठूलो बन्न चाहन्छ । तर, उन आफ्नो नाम गुमाउन चाहँदैन । सिभिल आफ्नो नाम गुमाउन पनि तयार छ । तर, मूल्य र आत्मसम्मानमा भने कम्प्रमाइज गर्ने पक्षमा छैन ।

सिटिजन्स बैंकले यसअघि विभिन्न विकास बैंक र फाइनानस कम्पनीलाई मर्ज तथा एक्वायर गरिसकेको छ ।

सिभिलसँग नमिलेको खास कुरा के हो ?

दुई बैंकबीच मर्जरमा जाने पक्कापक्की भए पनि अन्तिम समयमा आएर स्वाप रेसियो र कर्मचारी समायोजनका विषयमा कुरा नमिलेपछि प्रक्रिया नै अवरुद्ध भएको हो । विगत ३ महिनादेखि दुई बैंकबीच स्वाप र कर्मचारी समायोजनका विषयमा बार्गेनिंग भएको थियो ।

हिमालयनले ६० दिने प्रस्ताव गरेको थियो भने सिभिलले ९० मागेको थियो । पछिल्ला केही हप्ता दुई बैंकबीच ६५ र ८५ को बार्गेनिंग चल्यो । र, अन्तिममा ८१ म कुरा मिलेको थियो । सिभिलका सीइओ सुनल पोखरेललाई मर्जपछि हिमालयनको सिनियर डेपुटी सीइओ बनाउने सिभिलको प्रस्ताव थियो । तर, उक्त प्रस्ताव हिमालयनले मानेन । अरु कर्मचारीहरुको पनि उचित समायोजन गर्ने सहमति भएको थियो ।

तर, सिभिलसँगको मर्जरको प्रस्तावका विषयमा छलफल गर्न बसेको हिमाललयन बैंकको सञ्चालक समितिको बैठकमा केही सञ्चालकले स्वाप रेसियो ८१ दिनुको औचित्य पुष्टि गर्न चुनौति दिएका थिए । केही सञ्चालकले इन्भेष्टमेन्ट बैंकलाई ७८ प्रस्ताव गरेको सन्दर्भ कोट्याउँदै सिभिललाई कसरी इन्भेष्टमेन्ट बैंकभन्दा बढी दिन सकिन्छ ? भनेर प्रश्न उठाएपछि हिमालनको सञ्चालक समितिले मर्जर कमिटिको प्रस्ताव पारित गर्न सकेन । अन्तिम समयमा आएर हिमालयनले सिभिललाई डीडीए रिपोर्टमा जे आउँछ त्यसका आधारमा स्वाप रेसियो तय गर्ने प्रस्ताव गर्यो । जसकारण हिमालयनले अन्तिममा आएर कुरा फेरेपछि सिभिल बैंक झस्कियो ।

गत शुक्रबार हुने भनिएको सम्झौता स्थगित भएपछि पनि दुई बैंकका प्रतिनिधिबीच बारम्बार कुराकानी भयो । उक्त कुराकानीमा हिमालयन फेरि ८१ दिन तयार भयो । त्यसपछि कर्मचारी समायोजनका विषयमा सिभिल आफ्नो अडानमा टसको मस भएन ।

सिभिलले समान पदमा कर्मचारीको समायोजन गर्नुपर्ने प्रस्ताव राखेको थियो । हिमालयनले उक्त प्रस्ताव स्वीकार गर्न सकेन । किनभने, केही वर्षअघि हिमालयनबाट जागिर छाडेर गएका जुनियर कर्मचारीहरु अहिले सिभिलमा ३/४ तहमाथि पुगिसकेका छन् । यता हिमालयनका कर्मचारीहरु भने बढुवामार्फत् एक तहमात्रै माथि पुगेका छन् । हिमालयनबाट सिभिलमा थुप्रै कर्मचारी गएका थिए ।

‘हिँजो हिमालयनमा रहँदा जुनियर रहेका कर्मचारीहरु सिभिल मर्जपछि आफ्नै समकक्षीको हाकिम हुने देखियो, जसकारण समान पदमा समायोजन गर्न हामीलाई अफ्ठ्यारो परेको हो,’ हिमालयन बैंक स्रोतले भन्यो, ‘तर, सिभिलले हाम्रो बाध्यता बुझेन, आफ्नो अडानबाट कति पनि पछि नहट्दा मर्जर भाँडिएको हो ।’

सिभिलले आफूसँग मर्ज नहुने भनेर जवाफ दिइसकेको हिमालयन बैंक स्रोतले पुष्टि गर्यो ।

दुई वर्षअघि ४५ को स्वाप रेसियोमा मर्ज हुन्छु भन्दै सिभिलले नै हिमालयनलाई प्रस्ताव गरेको थियो । तर, हिमालयनले ३५ भन्दा बढी दिन नमानेपछि छलफल नै अघिबढ्न सकेको थिएन । अहिले ८१ दिन्छु भन्दा पनि हिमालयनले सिभिललाई पाउन असफल भयो । पछिल्ला २ वर्षमा सिभिलले आक्रामक ब्यवसाय विस्तार गरेर आफ्नो आकार मात्रै ठूलो बनाएको छैन, मर्जरमा जानका लागि बार्गेनिंग पावर पनि बढाएको छ ।

सिभिललाई हेपिएको आभाष

उता सिभिलका सञ्चालक तथा उच्च व्यवस्थापन भने हिमालयने आफूहरुलाई हेप्न खोजेको अनुभुति भएपछि मर्जर भाँडिएको बताउँछन् । इन्भेष्टमेन्टले मेगालाई ९० को स्वाप रेसियो दिएको, समान हैसियतमा कर्मचारी समायोजन गरेको र नाम पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दिएको उदाहारण दिँदै ती सञ्चालकले हिमालयलाई आफूहरुले सबै कुरा छाड्दा पनि त्यसको मूल्य तिर्न नमानेको बताए ।

‘हिमालयनबाट हेपिएको महशुस गर्यौं,’ स्रोतले भन्यो, ‘हामी हेपिएर र पेलिएरचाहीँ कसैसँग पनि मर्जरमा जाँदैनौं ।’

अहिले सिटिजन्ससँग मर्जरमा जानका लागि छलफल भइरहेको र उक्त छलफल निष्कर्ष नजिक पुगेको सिभिलका एक सञ्चालक बताउँछन् ।

‘मर्जरको सम्झौता गरिसकेपछि पछि हट्यो भने राष्ट्र बैंकको कारबाहीमा परिन्छ, इमज पनि राम्रो हुँदैन,’ ती सञ्चालकले भने, ‘त्यसैले सिटिजन्ससँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि नै सबै कुरा प्रष्ट होस् भनेर हामी गंभीर छौं । कुरा मिलेन भने अरु बिकल्प छँदै छन् नि ।’

अफ्ठ्यारोमा हिमालयन

सिभिलले मर्जरमा नजाने जवाफ दिएसँगै हिमालयनलाई अफ्ठ्यारो पर्ने देखिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर विषेश साधारणसभाले मर्जरमा नजाने निर्णय गरेको थियो । साधारणसभाले नै मर्जर भाँडेपछि राष्ट्र बैंकले नियामकीय सुविधा नदिने लगायतका विभिन्न कारबाही गर्ने भएको छ । ०७९ असार मसान्तसम्ममा अर्को बैंकसँग मर्ज नगरेको अवस्थामा हिमालयनले थप कारबाही भोग्नुपर्ने भएको छ । तत्कालै अर्को बैंक खोजेर मर्जरमा जानसक्ने संभावना पनि अत्यन्तै न्यून छ ।


क्लिकमान्डु