सरकारले उठाउने आन्तरिक ऋणको ब्याज १६८% ले बढ्यो, अन्तरबैंक ब्याजदरमा ११८%को बृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर बढाएपछि सरकारले आन्तरिक ऋण उठाउने लागत बढेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा दिँदा लिने ब्याजदरलाई बैंक रेट भन्ने गरिन्छ । यस्तो बैंक रेट गत वर्ष ३ प्रतिशतमात्रै थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको शुरुदेखि बैंक दर बढाएर ५ प्रतिशत पुर्याएको थियो ।

राष्ट्र बैंकले गत फागुन ५ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बैंकदर बढाएर ७ प्रतिशत बनाएको थियो ।

बजारमा कम पैसा प्रवाह होस् भन्ने उदेश्यले राष्ट्र बैंकले बैक रेट ७ प्रतिशत बनाएपनि त्यसको प्रत्यक्ष असर सरकारले उठाउने आन्तरिक ऋणमा परेको छ ।

गत वर्ष ९१ दिने ट्रेजरी बिलको ब्याजदर ३.६९ रहेको मा चालु आर्थिक वर्षको जेठमा यस्तो ब्याजदर ९.९ प्रतिशत पुगेको हो । एक वर्षको अवधिमा ६.२१ प्रतिशत विन्दुले ट्रेजरी बिलको ब्याजदर बढेको छ ।

ट्रेजरी बिलको ब्याजदर एक वर्षमा १६८ प्रतिशतले बृद्धि हुँदा सरकारले उठाउने आन्तरिक ऋण महँगो हुनुको साथै सरकारी खर्च बढेको हो ।

एक बैंकले अर्काे बैंकलाई कर्जा दिने अन्तरबैंक ब्याजदर पनि एक वर्षको अवधिमा ११८ प्रतिशतले बढेको छ । गत वर्ष अन्तरबैंक ब्याजदर ३.२१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तमा अन्तरबैंक ब्याजदर ७.०१ प्रतिशत पुगेको हो । एक वर्षको अवधिमा अन्तरबैंक ब्याजदर ३.८ प्रतिशत विन्दुले बढेको हो ।

अन्तर बैंक ब्याजदरका साथै निक्षेपको ब्याजदर पनि महँगो हुँदा बैंक वित्तीय संस्थाको आधारदर समेत बढेको छ ।

एक वर्षको अवधिमा बैंक वित्तीय संस्थाको आधार दर ४०.९९ प्रतिशतले बढेको हो । गत वर्ष जेठमा बैंक वित्तीय संस्थाको आधार दर ६.६६ प्रतिशत रहेकोमा यो वर्षको जेठमा बैंक वित्तीय संस्थाको आधार दर ९.३९ प्रतिशत पुगेको हो ।


क्लिकमान्डु