टिच फर नेपालका संस्थापक शिशिरको पिक एण्ड ड्रप, यसरी बन्दैछ मुलुकको लिडिङ डेलिभरी कम्पनी



काठमाडौं । कोरोना संक्रमणले तीव्ररुप लिएपछि मुलुकभर लकडाउन जारी भयो । पहिलो लकडाउनको मध्यतिर पुग्दा ग्यासको अभाव देखिनथाल्यो ।

त्यहीबेला शिशिर खनाललाई लाग्यो ग्यास डेलिभर गर्न सक्ने हो भने राम्रै व्यवसाय हुन्छ । एक ड्राइभर र गाडी खोजे । अनलाइन, फेसबुक र अन्य डिजिटल प्लेटफर्मबाट ग्यास डेलिभर गर्छौं भनेर जानकारी गराए ।

त्यसपछि शुरु भयो ग्यास डेलिभरी सेवा । जसलाई सन् २०२० मेमा नाम दिए ‘पिक एण्ड ड्रप’ । जुन अहिले डेलिभरी र लजिष्टिक सर्भिस कम्पनीका रुपमा चर्चित छ ।

आज यो कम्पनी नेपालको लिडिङ लिजिष्टिक एण्ड डेलिभरी कम्पनी बनेको छ । जसले ३ सय साना र ठूला अनलाइनसँग कारोबार गर्छ । र, दैनिक ७० अनलाइनका सामान डेलिभर गर्छ ।

छोटो समयमा राम्रो बजार लिएको पिक एण्ड ड्रपले दैनिक ४ सयदेखि ५ सय ब्यागेज डेलिभरी गर्दै आएको छ । जसको मासिक कारोबार ८० देखि ९० करोड रुपैयाँ हुन्छ । एउटा प्याकेज डेलिभरी गरेको ९५ रुपैयाँ लिन्छन् । उक्त शुल्कलाई मात्र हिसाब गर्ने हो भने महिनाको १० लाखको कमाइ हुन्छ ।

४० लाख रुपैयाँ लगानी गरेका खनालको टीमले अहिलेसम्म डेढ करोड रुपैयाँ लगानी गरिसकेको छ । नयाँ लगानी जुटाउने क्रममा छन् ।

४२ जना स्टाफ रहेको पिक एण्ड ड्रपलाई अझ बिस्तार गर्न चाहन्छन् यस कम्पनीका सह-संस्थापक शिशिर खनाल । उनीसँग दुई सह संस्थापक साथी घनश्याम खनाल र नवीन पराजुली छन् ।

अहिले इकमर्श प्लेटफर्ममा मात्र यसले सामान डेलिभरी गरिरहेको छ भने अब आफ्नै मोबाइल एप बनाएर व्यक्तिगत सामान समेत डेलिभरी गर्ने तयारीमा जुटेका छन् ।

साथै, काठमाडौं केन्द्रित रहेको डेलिभरी सेवालाई अन्य ठाउँमा पनि बिस्तार गर्ने तयारी गरिरहेका छन् ।

नेपालको फैलिँदो इकमर्श व्यवसाय र अनलाइन डेलिभरी सेवामा लिडिङ कम्पनी बनाउने सपना ४३ वर्षे खनालसहितकाे टीमले बुनेका छन् ।

‘नयाँ लगानी आउने तयारी भइरहेका बेला ‘पिक एण्ड ड्रप’ मुलुकको लजिष्टिक एण्ड डेलिभरी कम्पनीका रुपमा कसरी स्थापित हुँदै छ ?,’ टिच फर नेपाल संस्था संस्थापकसमेत रहेका खनालसँग हामीले कुरा गरेका छौं ।

अमेरिकाबाट फर्किएपछि शिशिर शिक्षा क्षेत्रमा काम गर्ने ‘टिच फर नेपाल’ स्थापनामा सक्रिय भए । झन्डै १० वर्षसम्म आइएनजीओमा काम गरे ।

अमेरिकामा पढ्दा २० वर्षअघि इकमर्शको प्लेटफर्ममा इन्टर्न गरेको थिए । त्योबेला अमेरिकामा डट कमको ब्यापक चर्चा थियो ।

जुनसुकै काम पनि इन्टरनेटबाट गर्न सकिन्छ भन्ने थियो । उनले सोचिरहेका थिए, ‘नेपालमा पनि यस्तै इन्टरनेटमा आधारित व्यवसाय गर्नुपर्छ ।’

उनले नेट नेपाली डट कम भन्ने डोमेन दर्ता गरे । तर, त्यो नेपालको सन्दर्भमा धेरै छिटो भयो । इन्टरनेट पनि खासै बिस्तार भएको पनि थिएन । त्यो अगाडि बढ्न सकेन ।

‘मलाई प्रविधि, इन्टरनेट र समाज जोड्ने व्यवसायमा पहिलेदेखि रुचि हो,’ खनाल भन्छन् ।

उनका साथी घनश्याम नेपालको पहिलो राइड सेयरिङ एप सारथीमा टेक हेड (सीटीओ)मा कार्यरत थिए । अर्को साथी नबिन ।रेष्टुराँ व्यवसाय गर्थे ।

नबिनलाई रेष्टुराँलाई चाहिने दैनिक सामान लिन सँधै आफै जानुपर्थ्यो । उनलाई लागिरहेको थियो कसैले त्यो सामान रेष्टुराँसम्म ल्याइदियो भने कति सहज हुन्थ्यो ।

प्रविधिसँग जोडिएको केही नयाँ काम गर्ने तीन जना साथीहरुको सोच थियो ।

‘हाम्रो शुरुको सोचाइ अनलाइन व्यवसाय गर्ने भन्ने थियो,’ खनाल भन्छन्, ‘बजारमा गएर सामान ल्याउने र अनलाइनबाट बेच्ने ।’

नेपालमा अनलाइन व्यवसाय बढ्दोक्रममा थियो । दराज, सस्तोडिलजस्ता अनलाइन व्यवसायसँग गएर उनीहरु छलफल गरे ।
त्यो छलफलमा उठेको एक प्रमुख विषय थियो, लजिष्टिक कम्पनीको अभाव । नेपालमा जति पनि अनलाइन व्यवसाय चलिरहेको छन्, उनीहरुको सामान डेलिभरी गर्ने लजिष्टक कम्पनी नै थिएनन् । यसमा ठूलो समस्या रहेछ ।

केही कम्पनी आएका थिए तर पर्याप्त थिएन । परम्परागत रुपमा कुरियर कम्पनीले यो काम गरिरहेको थिए तर उनीहरुको प्रकृति अलि फरक थियो ।

‘नेपालमा अनलाइन व्यवसाय बढेपछि ग्राहकको अर्डरलाई घरमै पुर्याइदिने कम्पनीको आवश्यकता थियो,’ खनाल भन्छन्, ‘परम्परागतरुपमा चल्दै आएको कुरियरभन्दा फरक किसिमको थियो ।’

यस किसिमको व्यवसायमा ठूलो स्पेस देखियो । यसमा प्रविधिको प्रयोग पनि भएको थिएन ।

‘इकमर्श प्लेटफर्मभन्दा लजिष्टिक डेलिभरी कम्पनी स्थापना गर्ने निर्णयमा पुग्यौं,’ खनाल भन्छन् ।

उनीहरु नयाँ कम्पनी कसरी शुरु गर्ने भनेर अध्ययनकै क्रममा थिए । मुलुकभर कोरोना संक्रमण फैलिएपछि लकडाउन शुरु भयो । त्योबेला काठमाडौंमा ग्यासको अभाव भयो । त्यही मौकामा उनीहरुले शुरु गरे ग्यास डेलिभरी सेवा । जुन अहिले डेलिभरी र लजिष्टिक सर्भिस कम्पनीको चर्चित छ ।

‘ग्यास नपाएको अवस्थामा राम्रै किसिमको बजार लिन सफल भयौं,’ शिशिर भन्छन्, ‘झन्डै एक वर्षजति यस्तै काम गर्यौं ।’
ग्यासको काम गर्न थालिसकेपछि अरु सामान पनि डेलिभरी गरिदिन आग्रह आउन थाल्यो । पिक एण्ड ड्रप नाम सुनेपछि सामान डेलिभरी गर्छ भन्ने भइसकेको थियो ।

ग्याससँगै किराना सामानहरु पनि डेलिभरी गर्न शुरु गरे । काठमाडौं ग्रोसरी भन्ने अनलाइनको सामान डेलिभर गर्न थाले ।
यसले पिक एण्ड ड्रपको नाम बजारमा सुनिन थाल्यो । अन्य कम्पनीहरु पनि जोडिन थाले । राम्रा कम्पनीहरुलाई प्रपोजल बनाएर आफै प्रस्ताव राखे । ३ सय अनलाइन प्लेटफर्मसँग कारोबार गरेको पिक एण्ड ड्रपमा जोडिने क्रम बढ्दै गएको छ ।

बाहिरबाट सामान डेलिभरी गर्ने कुरा सामान्य देखिए पनि यस व्यवसायमा ठूला चूनौतीहरु छन् । नेपालको सन्दर्भमा याे अझ बढी भएको खनाल बताउँछन् । जस्तो हरेक ठाउँमा पुग्न अप्ठारो, असहज बाटो, ट्राफिक जाम, प्रविधिको प्रयोग, अनलाइन सामान डेलिभरीमा विश्वासलगायत विषय यसमा जोडिन्छन् ।

‘यति हुँदाहुँदै पनि सम्भावना अझै ठूलो देखिन्छ,’ खनाल भन्छन्, ‘विश्वभरी नै व्यवसाय अफलाइनबाट अनलाइनमा गइरहेको बेला नेपालमा पनि त्यो सम्भावना देखिन्छ ।’

एक अध्ययनले नेपालमा अर्को ५ वर्षमा इकमर्शको व्यवसाय वार्षिक १ बिलियन डलरको हुन्छ भन्ने देखाएको छ । आजको विनिमयदरलाई हेर्ने हो भने एक अर्ब डलर भनेको १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ हुनआउँछ ।

यदि १ अर्ब डलरको अनलाइन व्यवसाय भयो भने दैनिक ब्याेगेज डेलिभरी २ लाखसम्म हुनुपर्छ । भर्खर शुरु भएको अनलाइन डेलिभरी सेवालाई त्यो स्तरमा पुर्याउन धेरै क्षमता वृद्धि गर्नुपर्ने छ ।

अमेरिकामा सन् १९९० दशकको अन्ततिरदेखि २००५ को बीचमा अनलाइन डेलिभरी ब्यापक शुरुवात भयो । त्यस्तै भारतमा सन् २०११ देखि सन् २०१५ को बीचमा पनि त्यस्तै भयो । अहिले नेपालको अवस्था पनि त्यही स्टेजमा रहेको खनाल बताउँछन् ।

मुलुकमा देखिएको त्यो ठूलो सम्भावनालाई सेवा गर्न पिक एण्ड ड्रपजस्ता लजिस्किट कम्पनीहरुले आफ्नो क्षमतालाई वृद्धि गर्नुपर्ने हुन्छ ।

खनाल पनि आफ्नो क्षमतालाई दुई तरिकाले वृद्धि गर्दै छन् । पहिलो हो प्रविधिको विकास । नेपालको परिस्थितिअनुसारको इनहाउस टेक्नोलोजी विकास गरिरहेका छन् ।

उनीहरुले गरिरहेको अर्को काम हो भौगोलिक सेवा र नेटवर्क विस्तार । उनीहरुको सेवा अहिले मुख्य त काठमाडौं उपत्यका केन्द्रित छ । त्यसबाहेक मुलुकका मुख्य सहरहरु बिर्तामोड, बिराटनगर, धरान, इटहरी, पोखरा, भरतपुर, बुटबल, भैरहवा, नेपालगञ्ज, धनगढीमा पनि सेवा सञ्चालन गरिरहेका छन । तर, फाट्टफुट्टमात्र छ ।

‘अहिले हामीले गरिरहेको डेलिभरीमा ८० प्रतिशत काठमाडौंमा र २० प्रतिशतमात्र बाहिर छ,’ खनाल भन्छन्, ‘अब हामीले यो सेवालाई बाहिरी सहरमा र साना सहरमा बिस्तार गर्ने योजनामा छौं ।’

सेवा बिस्तारका लागि वितरण नेटवर्क निर्माण र वेयर हाउस निर्माण गर्ने योजनामा छन् उनी । अहिलेसम्म विभिन्न सहर सहरबीचको डेलिभरी नेटवर्क बन्न सकेको छैन । एकतर्फीरुपमा काठमाडौंबाट अन्य सहर र सहरभित्र मात्रै डेलिभरी भइरहेको छ ।

‘सहर–सहरबीच सामान डेलिभरी गर्ने नेटवर्क बनाउन आवश्यक छ,’ खनाल भन्छन्, ‘हामीले त्यही नेटवर्क बनाउने तयारीमा छौं ।’

अहिले खासगरी इकमर्श प्लेटफर्ममा मात्र सामान डेलिभरी गरिरहेका छन् । अन्य क्षेत्रमा पनि सामान डेलिभरी गर्ने ठूलो स्पेस बाँकी छ ।

व्यक्तिको सामान डेलिभरी गर्ने पनि ठूलो सम्भावना छ । अहिलेसम्म कुनै पनि व्यक्तिको सामान अर्को व्यक्तिलाई पुर्याउने लजिष्टिक कम्पनीहरु आएका छैनन् । कुरियरहरु भए पनि एपमा आधारित भएर काम गर्न सकेका छैनन् ।

‘हामीले व्यक्तिगत डेलिभरी सेवा गर्ने सोच बनाइरहेका छौं,’ खनाल भन्छन्, ‘त्यसका लागि एपलगायतका पूर्वाधारमा तयारी गर्नुपर्ने छ ।’

यसका लागि अझै एकवर्ष समय लाग्ने उनकाे भनाइ छ ।

यसबाहेक बैंक तथा वित्तीय क्षेत्र, कृषिजस्ता क्षेत्रमा पनि सामान डेलिभरीको सम्भावना उनले देखेका छन् ।

प्रविधिको विकास र क्षेत्रगत नेटवर्क निर्माण गर्न ठूलो लगानी लाग्छ । नयाँ लगानी जुटाउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सञ्चालन गरिरहेको स्टार्टअप कार्यक्ममा लगानी कार्यक्रममा प्रस्ताव पेश गरेका छन् ।

आफ्नो व्यवसायको आइडिया पीच गर्दै ५ करोड रुपैयाँ थप लगानीका लागि उनले माग गरेका छन् ।

‘त्यसबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ खनालले भने, ‘सायद छिट्टै त्यो लगानी आउँछ होला ।’


सन्तोष न्यौपाने