एनआइसी एशियामा रोशन न्यौपानेको चमत्कारः ५ वर्षमा ४ गुणाले बढ्यो बिजनेश



काठमाडौं । पाँच वर्षअघि एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त हुँदा रोशन न्यौपानेलाई बैंकिङ क्षेत्रका धेरैले पत्याएका थिएनन् ।

‘भर्खरको युवा, धेरै अनुभव छैन बैंकलाई उँभो लगाउला र ?,’ धेरैले यस्तै भन्थे ।

यस्तो प्रक्रिया दिनुमा मुख्य कारण थियो उनको उमेर । सीइओमा नियुक्त हुँदै गर्दा उनी ३६ वर्षका थिए । वाणिज्य बैंकमा सीइओ नियुक्त हुन दुई दशक काम गरेको अनुभव चाहिने प्रचलनलाई ब्रेक गर्दै एनआईसी एशिया बैंकले उनलाई नियुक्त गरेको थियो ।

चार्टर्ड एकाउन्टेन्ट न्यौपानेमा केही सम्भावना देख्यो र सञ्चालक समितिले उनलाई सीइओ बनायो ।

धेरैले नपत्याएका न्यौपानेले आफ्नो कार्यकाल यस्तो नतिजा ल्याइदिए कि जसले एनआइसी एशिया बैंक मुलुककै ‘नम्बर वान’ बैंक बन्यो । बैंक धेरै सूचकमा पहिलो नम्बरमा उक्लिएको छ ।

समकालिन साथीहरु सिनियर म्यानेजरसम्म पुगेको बेला सीइओको ‘जोखिम’ पद लिएका न्यौपानले उदारणीय सीइओ बनेका छन् । न्यौपानेले के काम गरे भन्ने कुरा बैंकको वित्तीय विवरणले देखाउँछ ।

बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले प्रमुख वित्तीय सूचकहरुमा अब्बल देखिएको छ ।

जसअनुसार कुल कर्जा, निक्षेप, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा संख्या, विस्तारित काउन्टर, एटीएम मेसिनलगायतका सूचकहरुमा अन्य वाणिज्य बैंकहरुभन्दा अगाडि छ ।

सीइओ न्यौपानेको करिब ५ वर्षको अवधिमा बैंकले ठूलो सफलता हात पारेको छ । यो एनआइसी एशिया बैंकको ‘स्वर्णिम काल’ नै भन्न सकिन्छ ।

न्यौपाने सीइओ हुने बेला बैंकमा निक्षेपको आकार ८६ अर्ब रुपैयाँ थियो । अहिले निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, नियुक्त हुने बेला बैंकको कर्जा जम्मा ७३ अर्ब रुपैयाँ थियो । अहिले कर्जा प्रवाह २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । न्यौपानेको व्यवस्थापकीय नेतृत्वमा ५ वर्षमा कर्जामात्र २ खर्ब रुपैयाँले बढाएका छन् ।

न्यौपानेको नेतृत्वमा बैंकले आक्रामक बजार विस्तार गर्यो । जसले बैंकलाई अधिकांश सूचकमा पहिलो स्थानमा ल्याएको छ । उनको कार्यकालमा बैंकको निक्षेप र कर्जा ४ गुणाले बढेको छ । जुन कतिपय बैंकले स्थापनाकालदेखि अहिलेसम्म पनि बढाउन सकेका छैनन् ।

यो सफलता पाउन न्यौपानले आक्रमक बजार नीति लिए । जुन रणनीतिलाई धेरैले आलोचना पनि गरे । तर, आलोचनाबाट बिचलित भएनन् ।

पाँच वर्षे कार्यकालमा बैंकका परिसूचकहरु हेर्ने हो भने बैंकले फरक किसिमको नयाँ मोडलको व्यवसायको जग बसाल्यो । शुरुमा विरोध गर्नेहरुले पनि एनआइसी एशियाकै बिजनेश मोडेल अपनाए ।

देशका विभिन्न ठाउँमा ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ ।

साथै, बैंकले डिजिटल च्यानलहरूमार्फत् ग्राहकको बैंकिङ्ग आवश्यकता सहज एवं सरलरुपमा पूरा गर्न आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विभिन्न बैंकिङका डिजिटल च्यानलहरू सञ्चालनमा ल्याएको छ ।

जस्तैः एनआइसी एशिया मोबैंक, आईसर्भ, आईटच एवं वेबसाइटमार्फत् ग्राहकले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ आवश्यकताहरू सहज एवं सरलरुपमा पूरा गर्न सक्ने व्यवस्था रहेको छ ।

साथै, बैंकले आफूलाई पूर्णरुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालिन रणनीति लिएको छ । आईसर्भमार्फत् मोबाइल बैंकिङ, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न सकिन्छ ।

एनआइसी एशिया मोबैंकबाट आन्तरिक रेमिट्यान्स पठाउन र बुझ्ने, मुद्दति निक्षेप खाता खोल्न, मोबाइल टपअप, युटिलिटी, बिल भुक्तानी, देशभर रहेका २५ सयभन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुटसहितको क्यूआर भुक्तानी गर्न सकिन्छ । साथै, यसबाट विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्डबिनै एटीएमबाट रकम झिक्न सकिने सुविधालगायत दर्जनौं सेवा लिन सकिन्छ ।

न्यौपानेको नेतृत्वमा बैंकले सफलता पाएसँगै उनी आफैंले पनि विभिन्न सम्मान पाएका छन् । गत चैत २६ गते व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै उनलाई म्यानेजर अफ दि इयर–२०२२ बाट सम्मानित गरेको छ । यसअघि न्यौपानेले विभिन्न अवार्ड र सम्मान पनि प्राप्त गरेका छन् । राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित भएका थिए । जुन नेपालको प्रतिष्ठितसम्मानको रुपमा रहेको छ ।

त्यसैगरी, कर्पोरेट सीइओ अफ द इयर, २०७८ र ग्लोबल बिजनेश आउटलुक (जिबिओ) लण्डनबाट बैंकिङ सीइओ अफ द इयर–नेपाल २०२१ बाट पनि न्यौपाने सम्मानित भइसकेका छन् ।

‘मेहनत, आँट, लगनशीलता र निरन्तरता मेरो सफलताको आधारशीला हुन्,’ न्यौपानेले भने, ‘योजनाबद्ध सोच, मेहनत र आँटको सम्मिश्रण भयो भने नसोचिएको सफलता पनि हात लाग्दो रहेछ ।

’बैंकका देशभर करिब ३७ लाख २८ हजार ४ सय ६६ भन्दा बढी खाताहरुमार्फत् ग्राहकहरूको सेवामा बलियो भौतिक एवं डिजिटल सञ्जाल निर्माण गरेका छन् ।

विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन उनले लिएका रणनीति सफल भएका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्लिकमान्डु