एक वर्षमा पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाए ३८ प्रतिशत सम्पत्ति



काठमाडौं । कोरोनाकालमा उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक कोरोनाकाल सकिएपछि ओरालो यात्रामा छ । ३२ सयको एतिहासिक विन्दु छोएर फर्किएको परिसूचक ८३१ अंकले घटेर अहिले २३६९ विन्दुमा सयको हाराहारीमा सीमित भएको छ ।

परिसूचकको ग्राफ ओरालो लागेसँगै सूचिकृत कम्पनीको सेयर मूल्य पनि घट्दै गएको देखिन्छ । यसका पछाडि कैयन कारण छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयरधितो कर्जा सम्बन्धी लिएको ४/१२ को नीति, बैंकिङ प्रणालीमा तरलता अभाव तथा कर्जाको चर्को ब्याजदरलगायतका कारणले पुँजीबजारमा पछिल्ला महिनामा उत्साह छैन ।

यतिसम्म कि निर्वाचनले सेयर बजारमा हरियाली ल्याउँछ कि भन्ने आशामा बसेका लगानीकर्ताहरु पनि निराश भएका छन् । अब कुन वित्तीय औषधिले सेयर बजारमा उत्साह फेरि फर्किएर आउँछ भन्नेमा यकिन छैन ।

सेयर बजारको ओरालो यात्रामा सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा पर्छ, नेपाल पुनर्बीमा कम्पनी ।

गत वर्षको वैशाख २८ गते नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५६८ रुपैयाँ रहेकोमा अहिले उक्त मूल्य ३७.८१ प्रतिशतले ओरालो लागेको ९७५ रुपैयाँमा सीमित भएको छ । तर, यसबीचमा जेठ २५ कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको भने होइन । यस अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ९७७ रुपैयाँसम्म पुगेको थियो ।

लाभांशपछि पनि बढेर मूल्य

कम्पनीले गत असार ७ गते नै लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गर्यो । उक्त प्रस्तावमा बोनस १६.५० र नगद ३.५० प्रतिशत दिने प्रस्ताव गर्यो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५३ रुपैयाँ रहेको थियो । लाभांश घोषणा गरेपछि पनि कम्पनीको सेयर मूल्य बढ्न सकेन ।

कम्पनी घोषणा गरेको लाभांशम बीमा समितिले संशोधन गर्यो । कम्पनीको लाभांश १ प्रतिशतले घट्यो । बीमा समितिको निर्देशनमा गत भदौ २२ गते कम्पनीले लाभांशदर घटायो । जसमा बोनस १६.५० र नगद २.५० प्रतिशत कायम गरियो ।

उक्त अवधिमा आइपुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६९ रुपैयाँ झरिसकेको थियो । मंसिर २० गते मन्त्रिस्तरीय बैठकले उक्त लाभांश पारित गर्यो । उक्त मितिसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२३४ रुपैयाँमा रहेको थियो ।

असोजसम्मको वित्तीय अवस्था

नेपाल पुनर्बीमा कम्पनीले भने अहिलेसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासको मात्रै वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । पुस २२ गते सम्पन्न आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले १६.५० प्रतिशत बोनस सेयर वितरण गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

यस्तै असोज मसान्तसम्म कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ र जीवन बिमातर्फ ६६ करोड ९७ लाख रुपैयाँ छ । कम्पनीले ३ महिनाको अवधिमा निर्जीवन बीमा व्यवसायतर्फ १६ करोड ४९ लाख ३१ हजार रुपैयाँ र जीवन बीमातर्फ ७ करोड ५० लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले निर्जीवन बीमा व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख २४ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३७ करोड १५ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ९२ पैसा छ ।


क्लिकमान्डु