५ अर्ब लगानीमा हुन्डाइले नेपालमा खोल्दै छ गाडी एसेम्लिङ उद्योग, डेढ वर्षमा उत्पादन शुरु गर्ने



काठमाडौं । विश्वको चर्चित गाडी उत्पादन कम्पनी हुन्डाइका गाडीहरु नेपालमा एसेम्लिङ गरेर उत्पादन गरिने भएको छ ।

नेपालमा हुन्डाइ गाडीको आधिकारित बिक्रेता लक्ष्मी ग्रुपअन्र्तगतको लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै गाडी एसम्बल गरेर उत्पादन गर्ने तयारी गरिरहेको छ ।

सन् २०२३ सम्म नेपालमै हुन्डाइका केही मोडलहरुको एसम्बल गाडीहरु उत्पादन गर्नेगरी काम भइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

‘हामीले सन् २०२३ भित्रमा एसम्बल गाडी उत्पादन गर्ने तयारी गर्दै गरिरहेका छौं । उक्त समयमा टेष्ट प्रोडक्सन गर्ने योजना छ,’ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यसका लागि अहिले विभिन्न कामहरु भइरहेको छ ।’

नवलपरासीमा १२ विगाहा क्षेत्रफलमा प्लान्ट लगाउने तयारी गरिरहेको कम्पनीले अहिले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)को काम भइरहेको जनाएको छ । आईईईसँगै जग्गा, मेसिन र उपकरणको काम भइरहेको छ ।

एसम्बल उद्योग सञ्चालन गर्ने निर्णयसँगै मुख्य कम्पनीसँग टेक्निकल लाइसेन्सका लागि छलफल भइरहेको श्रेष्ठले बताए ।

शुरुको अवस्थामा धेरै गाडीको एसम्बल गर्न नसकिने भएकाले २ देखि ३ वटा मोडलको एसम्बलबाट उद्योग शुरु गर्ने तयारी कम्पनीको छ ।

नेपालमा हुन्डाइका १२ वटा मोडलका गाडी उपलब्ध छन् । मोडलअनुसार एसेम्बल लाइनको सेटअप फरक-फरक हुन्छ । मोडलअनुसार लगानी पनि फरक पर्ने उनले बताए । कुन मोडल फिजिबल हुन्छ त्यसअनुसार योजना बनाउने उनले बताए ।

लक्ष्मी ग्रुपले हुन्डाइका विभिन्न मोडलका गाडीको एसेम्बल उद्योग सञ्चालन गर्ने भनेर सन् २०१९ नोभेम्बरमा उद्योग दर्ता गरेको थियो । त्यसलगत्तै विश्वभर कोभिड-१९ महामारी फैलियो ।

महामारीका कारण २ वर्ष ढिला भएको श्रेष्ठले बताए । ‘अहिले फेरि यो उद्योग सञ्चालन गर्ने भनेर कामलाई तीव्रता दिएका छौं,’ श्रेष्ठले भने ।

नेपालमा एसेम्बल गाडी उत्पादनको चर्चा धेरै भएपनि उद्योगहरु स्थापना हुन सकेका छैनन् । अहिलेसम्म नेपालमा हुलास अटो क्राफ्ले नवलपरासीमा बजाज मोटरसाइकलको एसम्बल उद्योग सञ्चालन गरिरहेको छ भने शंकर ग्रुपको जगदम्बा मोटर्सले टीभीएस मोटरसाइलकको एम्बल शुरु गरेको छ ।

दुई मोटरसाइलक कम्पनीको एसम्बल उद्योग शुरु भए पनि ठूलो परीणाममा हुन सकेको छैन । अन्य धेरै उद्योग व्यवसायीले एसम्बल उद्योग गर्ने स्थापना गर्ने भनिरहे पनि शुरु हुन सकेका छैनन् ।

केही समयभित्र यामाहा, होन्डा, सुजुकीजस्ता मोटरसाइलकको एसेम्बल उद्योग सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यसै, अन्य कम्पनीले पनि चारपांग्रे गाडीको एसेम्बल उद्योग स्थापना योजना बनाइरहेका छन् ।

नेपालमा स्थिर र स्पष्ट नीति, सुविधा र करको दायर, जग्गालगायतको समस्याले गर्दा एसेम्बल उद्योग आउन नसकेको व्यवसायीहरु बताउँछन् ।

‘नेपालमा स्पष्ट र स्थिर नीति छैन,’ श्रेष्ठले भने, ‘नीति परिवर्तन भइरहन्छन् र स्पष्ट पनि छैनन् ।’ नेपालमा सवारी सधान एसेम्बलिङ उद्योग सञ्चालन सम्बन्धी नीति छ तर त्यसले स्पष्ट र ठूलो दायरलाई कभर गरेको छैन ।

अहिलेको नीतिमा चार/पाँच बुँदा राखेर होलसेलमा बनाइएको श्रेष्ठ बताउँछन् । नीतिमा भ्यालु एडिसनमा कुरा छन् । पहिलो वर्ष १० प्रतिशत भ्यालु एडिसन हुनुपर्ने, पाँच वर्षमा ३० प्रतिशत भ्यालु एडिसन गर्नुपर्छ भनेको छ । र, १० प्रतिशत लोकल उत्पादन हुनुपर्ने भनेको छ ।

पहिलो वर्ष ५० जना र पाँचौ वर्ष २०० जनालाई रोजगारी भनेर उल्लेख गरेको छ ।

त्यस्तै, एसेम्बल उद्योगको लागि अन्तशुल्कमा ५० प्रतिशत छुट दिइएको छ । त्यसलेमात्र नेपालमा एसेम्बल उद्योग फस्टाउन नसक्ने व्यवसायीको भनाइ छ । गाडी आयात गर्नु र यहाँ एसम्बल गरेर गाडी उत्पादन गरेर बिक्री गर्नुमा मूल्यमा २-३ प्रतिशतमात्र फरक परेको उनी बताउँछन् ।

‘अन्त शुल्कको छुटले मात्र एसेम्बल उद्योग फस्टाउन सक्दैनन्,’ श्रेष्ठले भने, ‘भन्सारमा छुट दिनुपर्छ । सहायक उद्योग स्थापना गर्ने वातावरण बनाउनु पर्छ ।’

साथै, एसम्बल उद्योगका लागि चाहिने अन्य पार्टस तथा वस्तुहरु उत्पादन गर्न सरकारले सजीकरण गर्नुपर्ने उनको भनाइ छ । सहायक उद्योग स्थापना नहुँदासम्म एसेम्बल उद्योगले नेपालको अर्थतन्त्रमा खासै योगदान दिन नसक्ने उनको भनाइ ।

अहिले एसेम्बल उद्योगलाई एकमुष्ट राखिएको छ तर विश्वमा विभिन्न देशले आफ्नो आवश्यकताअनुसार उद्योगको बर्गिकरण गरेका छन् । नेपालमा पनि कुन स्तरको एसम्बल उद्योग स्थापना गर्ने र त्यसअनुसार कर र सुविधा फरक फरक हुनुपर्ने उनको भनाइ छ ।

‘नेपालको आवश्यकताअनुसार एसम्बल उद्योगलाई बर्गिकरण गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘त्यसैअनुसार सुविधा र करको दायर निर्धारण गर्नुपर्छ ।’


क्लिकमान्डु