अंगदान नहुँदा बिरामीले ज्यान गुमाएपछि डा. सापकोटाले यसरी शुरु गरे ‘नेपाल अर्गान डोनेसन फाउण्डेसन’



डा. प्रडेज सापकोटा र डा. स्निधा मैनाली

काठमाडौं । मृत्युपछि जलेर खेर जाने शरीरको कुनै खास अंग यदि कसैको जीवन बचाउनका लागि काम लाग्छ भने तपाईं के गर्नु हुन्छ ?

तपाईंको मृत्युपछि तपाईंका आँखा, कलेजो, मृगौला वा अन्य कुनै अंगले मृत्युको मुखमा पुगेको अर्को कसैका लागि फेरि जीवन जिउने आधार बन्छ त्योभन्दा बढी खुसी अरु के होला ?

अंगदानको महत्व सायद जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा लम्पसार परेको व्यक्ति जति कस्ले पो बुझेको होला र ?

अस्पतालको शैय्यामा डोनर पर्खी बसेका बिरामीहरुको आँखाबाट पोखिएको यही पीडा महशुस गरेपछि डा. प्रडेज सापकोटको मनमा ‘नेपाल अर्गान डोनेसन फाउण्डेसन’ शुरुवात गर्ने योजना फुरेको हो ।

मानव कल्याणका लागि उनले शुरु गरेको यो पुनित काममा उनकी श्रीमति समेत रहेकी डा. स्निधा मैलानीले साथ दिएकी छन् । डा. सापकोटा लिभर ट्रान्सप्लान्टेसनका कन्सलटेन्ट सर्जन हुन् भने डा. मैनाली पेडियाट्रिक डेन्टिस्ट हुन् ।

उनीहरुले स्थापना गरेको फाउण्डेसनको वैशाख ९ गते शुक्रबार ताहाचलस्थित हायात प्लेस होटलमा कैयन प्रतिष्ठित डाक्टरहरुको सहभागितामा उनीहरुले दीप प्रज्वलन गरेर फाउण्डेनको श्री गणेश हुँदैछ ।

शुरुवाती समयमा ५ जना मिलेर शुरु गरेको फाउण्डेसनमा अहिले २ जना थपिएर ७ जना पुगेका छन् । शुक्रबारको कार्यक्रममा डा. सन्दुक रुइत र डा. वसन्त पन्तलगायतका व्यक्तिहरुले अर्गान डोनेसनका बारेमा आफ्ना भनाइहरु राख्नेछन् ।

डा. सापकोटा भारतको चेन्नईमा लिभर ट्रान्सप्लान्ट सम्बन्धी विषय पढ्दै गर्दा मोहन फाउण्डेसन (मल्टी ओर्गान हार्भेस्टिङ एड नेटवर्क)बाट प्रभावित थिए । उक्त फाउण्डेसनले चेन्नईलगायतका स्थानमा अंगदानलगायतका कामामा निकै प्रभावकारी काम गरिरहेको थियो ।

साथै, सापकोटाले अध्ययन गर्ने किंग्स कलेज हस्पिटलमा प्रोफेसर मोहमद रेलाले चेन्नईमा डिसिज्ड डोनरको संख्या बढाउन र त्यसबारेमा जनचेतना फैलाउनमा ठूलो भूमिका खेलेका थिए ।

सापकोटाले पनि अध्ययनका क्रममा प्रोफेसर रेलासँग काम गर्ने मौका पाए । केही सिक्ने मौका पाए । कैयन विरामीलाई डोनरको सहायतामा बचाउन पाएको अनुभव संगालेर नेपाल फर्किए ।

नेपालमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर समेत रहेका सापकोटासँग प्रत्यारोपणका लागि मानव अंग नपाउँदा आफ्ना बिरामीले भोगेको पीडा छ ।

‘मैले हेरेका करिब २० जना बिरामीमध्ये ५ जनाको मानव अंग नपाएकै कारण ज्यान गुम्यो, केही अझै पर्खाइमा छन् भने केहीले आशै मारिसकेका छन्,’ उनले भने ।

दुर्घटनामा परेर ब्रेन डेथ भइसकेका व्यक्तिहरु बाँच्ने सम्भावना निकै कम हुन्छ । त्यस्ता व्यक्तिहरुको अंग अन्य व्यक्तिका लागि दान गरेर उनीहरुलाई बचाउन सकिन्छ ।

नेपालमा पनि यससम्बन्धी कानून नभएको होइन । नातेदारभित्र लिन र दिन पाउने एउटा कानून छ भने अर्को डोनेसन नै हो ।
कतिपय अवस्थामा मानिसहरुले पैसा वा डोनर दुबै हुँदा पनि कानूनको अभावमा लिन वा दिन नपाउने अवस्था छ । तर ब्रेन डेथ भएका डिसिज्ड डोनरहरु भएको अवस्थामा यो समस्या आउँदैन ।

कानून अनुसार कसैले मानव अंगदान गर्नु परेमा ३६ जनाको नाताभित्र पर्नैपर्ने बाध्यता छ । तर तपाईंले डोनेसन दिने निर्णय गर्नु भयो भने यो समस्या आउँदैन । र, तपाईंलाई कस्ले अंग लिँदैछ भन्ने पनि थाहा हुँदैन ।

नेपालमा वर्षेनी औसतमा ३ हजारभन्दा बढी मृगौला फेल हुने बिरामी र १ हजारको हाराहारीमा लिभर खराब हुने बिरामीहरु अस्पतालमा भर्ना हुन्छन् । जसमध्ये अधिकांशले डोनरको अभावमा ज्यान गुमाउनु परिरहेको हुन्छ ।

फेरि यो निकै महंगो उपचार पनि हो । यद्यपि नेपालमा किड्नी प्रत्यारोपणको हकमा सरकारको अनुदानमा ५ लाख रुपैयाँमै सम्भव हुन्छ भने लिभर प्रत्यारोपणको हकमा २० लाख रुपैयाँमा गर्न सकिन्छ । तर भारतमा लिभर ट्रान्सप्लान्ट गर्ने हो भने १ करोड भारुभन्दा बढी खर्च लाग्छ ।

नेपालमा यसप्रकारको प्रत्यारोपणका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मात्रै अधिकार दिइएको छ ।
मानव अंग प्रत्यारोपणको आवश्यकता किन त ?

उनले तथ्यांक पस्किए ।

हरेक वर्ष सवारी दुर्घटनामा परेर सयौं व्यक्तिले ज्यान गुमाउँछन् । ज्यान गुमाउनेहरुको कैयनको मृत्यु ब्रेन डेड भएकै कारण हुन्छ ।

त्यस्ता व्यक्तिहरु जो मृत्युको मुखबाट फर्केर आउन असम्भव जस्तै हुन्छ । त्यस्ता व्यक्तिहरुले शुरुमै वा सोही अवस्थामा परिवारका सदस्यले अर्गान डोनेसन गरिदिने हो भने मृत्युको मुखमा पुगेको अर्को व्यक्तिको ज्यान बचाउन सकिन्छ ।

उसो त मानव अंग कसैको शरीरबाट झिकेर लामो समयसम्म स्टोरेज गर्न सकिने होइन । यो तर तुरुन्तै गर्नुपर्ने हुन्छ । मृगौलाको हकमा ८ देखि १८ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ भने लिभरको हकमा ६ देखि ८ घण्टामा प्रत्यारोपण गरिसक्नुपर्छ ।

त्यसैले यदि कसैको सवारी दुर्घटना वा अन्य कुनै कारणले ब्रेन डेथ भइसकेको छ भने उसको अंग अस्पतालको शैय्यामा पर्खिरहेको व्यक्तिलाई दिएर किन नबचाउने भन्ने उद्देश्य नै फाउण्डेशनको हो ।

‘यस्तो पुनित काममा किन नगर्ने भन्ने लागेर नै फाउण्डेन शुरुवात गर्ने निर्णयमा पुगेका हौं,’ सापकोटाले भने ।

नेपालमा हालसम्म यसरी डोनरका माध्यमबाट मानव अंग प्रत्यारोपण लिनेहरु जम्मा ३ जना छन् । बाँकी अन्यले कानून अनुसार नातेदारभित्रका व्यक्तिहरुबाट प्राप्त अंग मात्रै प्राप्त गरिरहेका छन् ।

तर मैनाली र सापकोटालगायतका डाक्टर र व्यक्तिहरु मानिसहरुलाई जीवन छँदै अंगदानबारे चेतना मात्रै फैलाउन र मानव अंग नपाएकै कारणबाट कसैको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ फाउण्डेशनलाई अघि बढाउँदैछन् ।

‘१० वर्षपछि आर्यघाटमा जल्दै गरेको चिता देख्ने जो कोहीलाई कसैको जीवन बचाउने अंग किन जलेर खरानी भएको होला भन्ने लागोस र अंगदान गर्नुपर्छ भन्ने चेतना मात्रै फैलियोस भन्ने हाम्रो चाहना हो,’ डा. मैनालीले क्लिकमाण्डूसँग भनिन् ।

नेपालमा अंगदानबारे निकै कम ज्ञान छ । थाहा हुनेहरुलाई पनि आफ्नै मान्यताले अंगदान गर्नबाट रोकेको छ ।

नेपालमा शुरुवाती चरणमा रहेको अंगदान स्पेन, अमेरिका, क्रोएसिया, पोर्चुगल, फ्रान्स, नर्वे, बेलायत, स्वीडेन, क्यानडालगायतका देशमा भने व्यापक छ । स्पेनमा त प्रत्येक १० लाख मानिसका लागि ३५.३ जना डोनर छन् भने अमेरिकामा यो संख्या १० लाखमा २६ जना छ ।

युरोपका देशमा त सरकारी स्तरबाटै डोनरदेखि प्राप्त गर्ने बिरामीहरुको तथ्यांक र म्याचिङ समेत गर्ने काम भइरहेको हुन्छ । जहाँ कलेजो, मृगौला, प्यान्क्रियाज, मुटु, फोक्सो, स्मल इन्टेस्टाइन, क्रोनियसका साथै छाला समेत दान गर्नेहरुको तथ्यांक सटिक रुपमा राखिएको हुन्छ ।

नेपालमा पनि डाक्टर, ट्राफिक प्रहरी र सर्वसाधारणमा जनचेतना जगाउने काममा उनीहरु लागिरहेका छन् । र, केही वर्षमै यस विषयमा सबैमा चेतना फैलिने र अंग नपाएकै कारण कसैले ज्यान गुमाउने पर्ने अवस्था आउँदैन भन्नेमा उनीहरुको विश्वास छ ।


कमलकुमार बस्नेत