चीनमा कोरोना भयावह, के समस्यामा पर्दैछ विश्व अर्थतन्त्र ?



एजेन्सी । रुस र युक्रेनबीचको चर्कंदो र अन्त्यहिन युद्ध । विश्वव्यापीरुपमा बढेको महंगी तथा मुद्रास्फीतिको जालो । फेरी पनि कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनका कारण चीनमा एकप्रकारको संकट देखा परेको छ ।

सन् २०१९ को डिसेम्बरदेखि शुरु भएको कोरोनाका कारण विश्व अर्थतन्त्र तवाह भएको बेला पुनः कोरोनाकै कारण लकडाउन गर्नुपर्ने वाध्यतामा चीन पुगेको छ । विश्वका धेरैजसो देशमा कोरोनाको लहर क्रमशः साम्य भइरहेको बेला चीनमा भने एकप्रकारको संक्रमणको दरमा वृद्धि भएको छ ।

समाचार विवरणहरुमा जनाइएअनुसार चीनका केही शहरहरुमा कोरोनाको लहर बिजुलीको गतिमा फैलिएको छ । जसकारण विश्व दुनियाँलाई थाहै नदिएर नै लकडाउन गरिएको छ । यो बाध्यात्मक अवस्था सिर्जना भएपछि मानिसहरुले पनि असजिलो अवस्थालाई पत्याउन विवश भएका छन् ।

विश्वव्यापी आपूर्ति श्रृंखलाको लागि यो एउटा वास्तविक तूफानजस्तै बन्न पुगेको छ । अब कसरी सामानहरु अन्य देशहरुमा पुर्याउने भन्ने प्रश्नले धेरैलाई तर्साएको छ ।

सामान्य घटनाक्रले पनि विश्व बजारमा प्रभाव पर्दछ । एकातिर रुस र युक्रेनबीच गोलाबारुद्धको संघर्ष जारी छ । त्यसले विश्व अर्थतन्त्रमा समस्या परेकै छ । त्यस्तै चीनमा अशान्ति हुन्, अर्को संकटको कारक बन्ने त होइन भन्ने चिन्ता र चासो पनि उत्तिकै बढेको छ ।

चीनमा देखिने संकट र त्यसको परिमाणले सम्पूर्ण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ । विवरणहरुका अनुसार संसारको तेस्रो ठूलो उत्पादन क्षमता चीनमा नै छ । अनेकन उद्योग तथा कलकारखानाको हब नै भन्दा हुन्छ चीन । राज्य नियन्त्रित पूँजीवादका कारणले चीनले पछिल्ला वर्षमा नै नपत्याउँदो तरक्की गरेको छ ।

यदि कोही मानिसले अनलाइनमा केही सामान खरिद गर्दै छ भने त्यो सेन्जेनमा बनाइएको हो भन्नेमा धेरैको समान धारणा हुनजान्छ । किनकी, अनलाइनमा बिक्री हुने अधिकांश सामान त्यही बनाइएको हुनसक्ने अधिक सम्भावना रहन्छ ।
चीनको दक्षिणपूर्वमा अवस्थित यस शहरको जनसंख्या १.७५ करोड बराबर छ । जहाँ चीनका लगभग आधा अनलाइन खुद्रा निर्यातकर्ताहरू छन् । यो आफैमा एउटा महत्वपूर्ण पाटो हो ।

सोही कारणले गर्दा, कोरोनाका केसहरूमा ठूलो मात्रामा वृद्धि भएको बेला, पछिल्लो पटक सेन्जेनमा करिब एक साताको लकडाउन लागू गरिएको थियो । जसका कारण विश्व बजार र व्यापार व्यवसायमा ठूलो धक्का लागेको छ ।
चीनका सञ्चार माध्यमहरुका अनुसार कोरोनाको संक्रमण बढेपछि सांघाई, जिलिन र ग्वाङ्झाउजस्ता ठूला सहर र प्रान्तहरूमा पनि कडा खालका प्रतिबन्धहरू लागू गरिएको छ । प्रतिबन्धका कारण विश्व बजारको आपूर्ति श्रृखला नराम्ररी प्रभावित भएको छ ।

विश्वका समुन्द्री कार्गो जहाजको अनुगमन गर्ने प्रोजेक्ट ४४ का अनुसार चीनका धेरैजसो बन्दरगाहमा जहाजको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । यो सन् २०२० मा विश्व नै चरम कोरोना संकटको बेलाको भन्दा बढी रहेको पाइएको चिनियाँ र पश्चिमा सञ्चार माध्यमहरुको दावी छ ।

प्रोजेक्ट ४४ का वरिष्ठ उपाध्यक्ष एडम कोम्पान भनेका छन् ‘हामीले यान्टियन पोर्टमा पार्किङ गरिएका जहाजहरूमा २८.५ प्रतिशतले वृद्धि भएको देखेका छौं । जुन युरोप र उत्तर अमेरिकामा सामानको सबैभन्दा ठूलो निर्यातक बन्दरगाह हो ।’

रुस र युक्रेन संकटका कारण पश्चिमबाट पूर्व आउने र जाने जहाजको संख्या त्यत्तिकै बढीरहेको बेला चीनमा देखिएको कोरोना संकटले झनै समस्या बढाइदिएको उनको भनाइ छ ।

यो त्यही बन्दरगाह हो जुन गत वर्ष कोभिडका कारण बन्द भएको थियो । सोही कारण क्रिसमसको समयमा समेत सामान ढुवानीमा ढिलाइ भएको थियो ।

फेब्रुअरीमा चिनियाँ नयाँ वर्षको बिदापछि चीनमा उत्पादन भएका सामानहरु बाहिर आउन थालेपछि कोरोना प्रतिबन्धहरू लगाइएको छ । सामानको मात्रामा वृद्धि गर्नुपर्ने बेला लगाइएको प्रतिबन्धले आपूर्तिको चेनमा समस्या पैदा भएको छ ।

चीनमा पछिल्लो पटक लगाइएको नयाँ कोभिड प्रतिबन्ध विगतको भन्दा असाध्यै र उनीहरुको स्वयम्को भाषामा एकदमै कडा छन् । तर यो लामो समयसम्म चल्ने छैन भन्ने विश्वास आम रुपमा गरिएको छ ।

‘यो एक दुईधारे तरवार हो,’ ब्रिटिस चेम्बर अफ कमर्स चाइनाका प्रबन्ध निर्देशक स्टीफन लिन्चका अनुसार यसले दुवै पट्टी काट्न सक्छ । त्यसकारण थप होशियार बन्नुभन्दा अरु कुनै विकल्प विश्व बजारलाई छैन ।

‘चीनले यस खालको प्रतिबन्ध धेरै चाँडो गर्यो । जसले जटिल प्रकृतिका समस्या सिर्जना गरेको छ तर तुलनाका आधारमा चीजहरू चाँडै सामान्य हुनेछन्’ लिन्चले थप अगाडि भने । यस्तो देखिन्छ कि कम्पनीहरू अहिले धेरै राम्रो तयारीमा छन् ।

लिन्च बताउँछन्, ‘हामीले त्यस्ता लकडाउनहरू देखेका छौं, त्यसैले कम्पनीले बलियो आपूर्ति श्रृंखलाको व्यवस्थापन सञ्जाल बनाएका छन् ।’

उदाहरणका लागि, अमेजन, सबैभन्दा ठूलो ई-कमर्स कम्पनीले ओमिक्रोनको केसहरू बढ्दै गर्दा कुनै पनि समस्याबाट बच्न चीनमा आधारित धेरै सूचीका सामान खरिद गरेको छ । भर्खरका प्रतिबन्धहरूले यसको लागि कुनै ठूलो समस्या सिर्जना तत्काल गरिहाल्ला र भईहाल्ला जस्तो लाग्दैन ।

अमेजनका प्रवक्ताले भनेका छन् ‘हामी यी प्रतिबन्धहरू पछ्याउँदै यस क्षेत्रका छिमेकी गोदाममा हाम्रा उपलब्ध सामान सार्न सक्षम छौं । सो काम हामी निरन्तर गर्छौ नै । किनकी, बजारमा सामानको अभाव त हुन दिनु भएन नी ।’

अर्को उदाहरण फक्सकन को हो । जसले एप्पलको आईफोन उत्पादन गर्दछ । यसले आफ्नो उत्पादनलाई अन्य उत्पादन साइटहरूमा सारेको छ जबकि यसले आफ्ना कर्मचारीहरूलाई बबल प्रणालीमा काम गर्न भनेको छ । यसमा मानिस कम्पनीको क्याम्पसमा बस्ने र काम गर्ने छन् । आपतकालका लागि यो नै उत्तम उपाय हो ।

फक्सकनका लागि यो सजिलो हुन सक्छ, ह्याङ सेङ बैंक चीनका वरिष्ठ अर्थशास्त्री डान वाङका अनुसार अवस्था नियालेर मात्रै अगाडि बढ्दा सबै क्षेत्रमा सहजता पैदा हुन्छ ।

तर, अन्य उत्पादकहरू जो प्रायः यस क्षेत्रमा छन् । जहाजका तुलनामा अन्य यातायातमा भर पर्छन् । उनीहरुका लागि भने यो धेरै गाह्रो हुनेछ किनभने चीनभित्र यतिबेला यातायात पनि अवरुद्ध छ । सरकारले कडा प्रतिबन्ध लगाएको छ ।

चीनको यो पछिल्लो अवस्था शून्य कोभिड नीतिका कारण बनेको हो । चीनमा कोभिडको नियन्त्रणका लागि कुनै पनि खालको शर्त मञ्जुर छैन । कोही कसैले सरकारको निर्देशनलाई नमानेको खण्डमा कडा कारवाहीसमेत हुनसक्छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका शीर्ष नेताहरूसँगको भेटमा आफ्नो देश यही नीतिमा अडिग रहने बताएका थिए । उनले महामारीको बन्देजका कारण आर्थिक समस्या नआउने विषयमा पनि जोड दिएका थिए ।

यसले ठूलो लागत बढाएको र केही ठूला कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थितिलाई पुनर्विचार गरिरहेका छन् भन्ने संकेतहरु पनि उत्तिकै देखिएका छन् ।

सिंगापुरको सबैभन्दा ठूलो मालवाहक कम्पनी हाउलियोका प्रमुख कार्यकारी अधिकृत अल्विन इया भन्छन्, उद्योग अहिले धेरै लचिलो भएको छ र चीनबाहेक अन्य विकल्पहरू खोजिरहेको छ ।

धेरै प्रमुख खेलाडीले आफ्ना स्रोत र योजनाहरू विविधीकरण गरेका छन् । उनीहरूले आफ्ना सबै विकल्पहरू एकै ठाउँमा राखेका छैनन् । विकल्पहरु खुुला गरेर अगाडि जाँदामात्रै समस्याबाट मुक्ति पाउन सकिन्छ ।

दक्षिणपूर्वको परिप्रेक्ष्यमा हेर्दा सम्भावितरूपमा भियतनाम, मलेसिया र इन्डोनेसियाका कारखानामा मागको वृद्धि भइरहेको छ । त्यसका लागि भएका केही संकेत पनि स्पष्ट भएको छ । जेनेटाका प्रमुख विश्लेषक पिटर स्यान्ड यो विषयमा पूर्णसहमत छन् ।

आफ्नो आपतकालीन योजनाको एक भागको रूपमा, कम्पनीले आफ्नो सूचीबाट छिमेकी देशमा उत्पादनको इकाइ बढाएको छ । ताकी, उपभोक्ताको उच्च माग भएको ठाउँमा उत्पादन रोक्न नपरोस् किनभने यो सबैभन्दा महँगो विकल्प हुनसक्ने देखिन्छ ।

अमेरिकी चेम्बर अफ कमर्स इन चाइनाका माइकल हार्टका अनुसार यसका धेरै सदस्यहरू त्यहाँबाट आफ्नो काम स्थानान्तरण गर्ने सोचमा अगाडि बढेका छन् । तर तिनीहरूको संख्या अझै न्यून रहेको बताइएको छ ।

तर, आफ्नो काम अन्यत्र सार्न खोज्नेहरूको संख्या गत वर्ष २२ प्रतिशत बराबर थियो । उनीहरूले कोभिड प्रतिबन्धका कारण पनि उद्योग अन्य देशमा लैजान खोजेका थिए । तर, केहीले भने अवस्थाको मूल्यांकन गर्दै सहज दिनको प्रतिक्षा पनि गरिरहेका छन् ।

विपदका कारण सिर्जना भएको अवस्थाको मूल्यांकन गरेर अगाडि बढ्न खोज्नेको जमात पनि धेरै छ । किनकी, लामो समयदेखि विश्वले भोगेको संकट आफैमा अर्को जटिल परिपाठ बनेर खडा भएको छ । तर, चीनमा देखिएको लगातारको संकटले पैदा गर्ने अस्थिरता एवम् हतास मनस्थितीको समयमै सम्बोधन हुनु भने जरुरी रहेको छ ।

संसारभर नै सामान उपलब्ध गराउने एक फर्मका सञ्चालक भन्छन्- सहज अर्थतन्त्रको निर्माणका लागि पनि जोखिम त उठाउनै पर्छ । जस्तोसुकै अवस्थामा पनि बजारमा टिक्नका लागि काम गर्नैपर्छ ।

कोरोना भएपनि, युद्ध भएपनि वा अन्य कुनै पनि खालको विपद भएपनि जुध्नु जरुरी छ । संघर्षमा उत्रनु जरुरी छ । तर, कोरोना नियन्त्रणको सन्दर्भमा चीनले लगाउने शुन्य सहनशिलताको नीति आफैमा भने अर्को महत्वपूर्ण पाटो बन्ने गरेको छ ।


क्लिकमान्डु