बिलेट उत्पादनमा १० अर्ब लगानी थपिँदै, २ सय मेगावाट विजुली खपत हुने



काठमाडौं । सरकारले बिलेट उत्पादनमा प्रोत्साहन दिएपछि डण्डी उद्योगहरुले लगानी थप्ने प्रक्रिया शुरु गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बिलेट आयातमा लाग्ने भन्सार शुल्क बढाएका थिए भने बिलेट बनाउन प्रयोग हुने स्पन्च आइरनको आयातमा लाग्ने भन्सार शुल्क घटाएका थिए ।

सरकारले लिएको नीतिपछि डण्डी उत्पादन उद्योगीहरु पक्ष र विपक्षमा विभाजित बनेका थिए । बिलेट आयात गरेर डण्डी बनाएका उद्योगीहरुले सरकारको नीतिको विरोध गरेपनि प्रतिस्पर्धामा उत्रनका लागि बिलेट उत्पादनको लागि प्लान्ट लगाउने प्रक्रिया शुरु गरिसकेका छन् ।

व्यवसाय टिकाउनका लागि बिलेट उत्पादन गर्नुको बिकल्प नभएको श्री स्टीलका लगानीकर्ता राजेश अग्रवाल बताउँछन् । श्री स्टीलले वैशाखदेखि व्यवसायिक रुपमा बिलेट उत्पादन शुरु गर्ने तयारी गरेको छ । अहिले उद्योगले परीक्षण उत्पादन गरिरहेको छ ।

‘सरकारले ल्याएको नीतिले बिलेट उत्पादन गर्नुपर्ने बाध्यता भयो, समय दिएर ल्याउनुपर्ने नीति एकैपटक ल्याउदा समस्या भएको छ,’अग्रवालले क्लिकमाण्डूसँग भने ।

श्री स्टीलले बिलेट उत्पादनका लागि १ अर्ब १५ करोड लगानी थप गर्न लागेको जनाएको छ ।

‘सरकारले बिलेट उत्पादनमा प्रोत्साहनको नीति नलिएपनि हाम्रो योजना बिलेट उत्पादन गर्ने थियो, सरकारी नीतिले डण्डी उत्पादकहरु समस्या परेका हुन्,’ अग्रवालले थपे ।

श्री स्टीलले अहिले ४ मेगावाट विजुली उपयोग गरिरहेको छ । बिलेटका लागि १८ युनिट थप विजुली चाहिने अग्रवाल बताउँछन् ।

पूर्वको बिराटनगरमा रहेको प्रिमियर स्टीलले बिलेट उत्पादन गर्नका लागि डेढ अर्ब लगानी थप्ने प्रक्रिया शुरु गरेको छ । प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले राज्यले बिलेट उत्पादनमा प्रोत्साहनको नीति लिएपछि कम्पनीले बिलेट उत्पादनका लागि लगानी थप्ने निर्णय गरेको जानकारी दिए ।

‘राज्यले लिएको नीति अनुसार बिलेट उत्पाद नगर्ने उद्योगहरु प्रतिष्पर्धामा टिक्न सक्ने स्थिती छैन, सञ्चालनमा आएको ३ वर्षमै पुनः लगानी थपेर बिलेट उत्पादन गर्ने निर्णय गरेका छौ,’ राठीले क्लिकमाण्डूसँग भने ।

उद्योगीहरुका अनुसार बिलेट उत्पादनका लागि सबैभन्दा पुरानो हिमाल स्टीलले समेत प्रक्रिया शुरु गरेको छ । यस्तै शुभलक्ष्मी स्टील, गोदावरी स्टील, हुलास स्टील, विजया स्टील, जगदम्बा इन्टरप्राइजेज छन् । अहिले बिलेट उत्पादन गरिरहेको लक्ष्मी स्टीलले आफ्नो उत्पादन क्षमता बढाउन लागेको छ ।

बिलेट उद्योगमा ठूलो लगानी गरेको सौरभ ग्रुपका अध्यक्ष बिष्णु न्यौपाने बिलेट उत्पादन गर्ने उद्योगको संख्या २१ वटा पुग्ने बताए ।

‘सरकारले बिलेट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको बेला ९ वटा उद्योगले मात्र उत्पादन गरेका थिए, अब २१ वटा उद्योगले बिलेट उत्पादन गर्छन्,’ न्यौपानेले भने ।

न्यौपानेले बिलेट उद्योग उत्पादनका लागि मात्र सञ्चालनमा रहेका उद्योगहरुले १० अर्बभन्दा बढी लगानी थप्ने बताउँछन् ।

डण्डी उद्योगबाट बिलेटमा लगानी थप्न लागेका उद्योगीहरु सरकारी नीति भने ठीक नभएको बताउँछन् । डण्डी उत्पादनबाट बिलेटमा लगानी थप्न लागेको शुभलक्ष्मी स्टीलका सञ्चालक अन्जन श्रेष्ठ सरकारी नीति ठीक नभएको बताउँछन् ।

‘कसले लगानी थप्छ त्यो महत्वपूर्ण कुरा होइन, अहिले सरकारी नीतिको कारण डण्डी उद्योगीहरु समस्यामा छन्,’ महासंघका वस्तुगत उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने ।

थप २ सय मेगावाट विजुली खपत हुने

अम्बे ग्रुपले सञ्चालनमा ल्याउन लागेको जय अम्बे स्टीलले बिद्युत् उत्पादनका लागि ३५ मेगावाट विजुली खपत गर्ने छ । नेपालमा आन्तरिक विजुलीको उत्पादन बढेको बेला यसको खपत बढाउन बिलेट उद्योगीहरु सहयोगी हुने देखिएको छ ।
बाँकेमा सञ्चालनमा रहेको उद्योग अहिले ८ मेगावाट मात्र विजुली पाएको छ । उद्योग २ लाख ९० हजार मेट्रिक टन उद्योगको क्षमता छ ।

लक्ष्मी स्टीलले २५ मेगावाट थप विजुली प्रयोग गर्दैछ । यस्तै जगदम्बा इन्टरप्राइजेजले २८.२ मेगावाट विजुली थप प्रयोग गर्ने छ । अशोक स्टीलले १० मेगावाट, हुलास वायरले १८ मेगावाट विजुली प्रयोग गर्ने छन् ।

‘सरकारले बिलेट उद्योगको प्रोत्साहनको नीतिले २ सय मेगावाट विजुली खपत हुनेछ, २ सय मेगावाटको बजार सरकारको नीतिले गर्दा भएको हो,’ न्यौपानेले भने ।

बिलेट उत्पादनमा कुन उद्योगको कस्तो तयारी ?

बिलेट उत्पादनमा जानको लागि डण्डी उद्योगहरुले केही मेसिन अर्डर गरेका छन् भने केहीको तयारी गरेर विद्युत् प्राधिकरणमा विजुलीको लागि थप निवेदन दिएका छन् ।

गोदावरी स्टीलले मेसिन अर्डर गरिसकेको छ । गोदावरीले ८० हजार मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट लगाउने छ । यस्तै हुलास स्टिलले मेसिन अर्डर गरिसकेको छ । हुलास स्टीलले मेसिन अर्डर गरेको छ ।

यस्तै विजया स्टीलले बिलेट उत्पादनका लागि भवन निर्माणको काम गरिरहेको छ । शुभलक्ष्मी स्टीलले बिलेट उत्पादन गर्ने भनेर विद्युत् माग गरेको छ ।

जगदम्बा इन्टरप्राइजेजले बिलेट उत्पादनका लागि ट्रान्सफर जडान गर्ने तथा मेसिन अर्डर गरिसकेको छ । काठमाडौं स्टीलले मेसिन अर्डर गरिसकेको छ भने लगानी थप्न उद्योग विभागमा निवेदन दिएको छ ।

प्रिमियर स्टीलको मेसिन अर्डरको काम सकिसकेको छ । हिमाल स्टीलले मेसिन अर्डर गरिसकेको छ । साथै, गोयल स्पात कम्पनीले पनि मेसिन अर्डर गरिसकेको छ ।


आशीष ज्ञवाली