करिब साढे ६ करोड लागतमा कमलपखोरीको निर्माण सम्पन्न



काठमाडौं । बुधबार साँझ कमलपोखरी वरीपरी अरु दिन भन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी ।

लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण बुधबार साँझ त्यहाँको चहलपहल बढेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएकामा खुशी देखिन्थे ।

नभन्दै आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ । बुधबार साँझ भिलिमिली उज्यालोका बिच कमलपोखरीको उद्घाटन गर्दै उनले अवरोधका बिच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताए ।

‘ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो नीति नै हो,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिस र फोहोर जमेको पाखेरीलाई पुनर्जीवन दिने काम सम्पन्न गर्दा आज खुशी लागेको छ ।’ उनले परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियान अन्तर्रगत कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरेको पनि जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको भन्दै प्रमुख शाक्यले पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा कमलपोखरी रहने बताए ।

उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग समेत पटक–पटक छलफल गरेर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भए पनि बिचमा पुनर्निर्माणको काममा अवरोध भएको भन्दै दुःख व्यक्त गरे । केही युवाले यो कमलपोखरी होइन कंक्रिटको पोखरी हो भन्दै भ्रममा पनि पार्ने काम गरे ।’ पछि महानगरपालिकाले सम्झाएपछि काम अघि बढेको उनले बताए ।

‘कहिलेकाँही भ्रम फैलाउँदा पनि गलत सन्देश जान सक्छ,’ उनले भने ‘हामीले मौलिकता नमर्ने गरी अलिकती आधुनिकता पनि झल्किने गरी पोखरी पुननिर्माण गरेका छौँ । अहिले यो पोखरी कस्तो बनेको छ । तपाईँहरु आफैँ हेर्नुहोस् र सुझाव दिनुहोस् । यो सबैको साझा पार्क हो ।’ उनले पोखरी घुम्न आउँनेहरुका लागि मनोरञ्जन दिने उदेश्यले मण्डप, चैत्य र फाउण्टेनसमेत निर्माण गरेको जानकारी दिए ।

केही हप्ता अघि सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको मेयर शाक्यले नै विधिवतरुपमा प्रतिस्थापन गरेका थिए । उनले पहिलो चरणको काम सम्पन्न गरी कमलपोखरीको उद्घाटन भएको र अब दास्रो चरणको काम सँगसँगै सुरुवात गर्ने जानकारी दिए । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उनको भनाई छ ।

उनले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढाउँदै उद्घाटनसम्म आइपुगेको पनि बताए ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरिएको हो । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरिएको छ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहेका छन् ।


क्लिकमान्डु