तेस्रो प्रतिस्पर्धी टेलिकम नहुँदा ‘मोनोपोली’को डर, विज्ञ भन्छन्- ठूलो लगानी गर्ने अर्को कम्पनी चाहियो



काठमाडौं । टेलिकम क्षेत्रको कुरा गर्दा भारतको ‘जियो शैली’ निकै चर्चा हुन्छ । जियोले जसरी भारतको प्रतिस्पर्धी बजारमा प्रवेश गरेर आफ्नो बजार बनायो, यसले प्रत्यक्षरुपमा भारतका करोडौं उपभोक्ताले सर्वसुलभ दरमा दूरसञ्चार सेवा उपभोग गर्न पाए ।

सन् २०१६ को सेप्टेम्बरमा भारतको टेलिकम बजारमा रिलायन्स इन्डस्ट्रिज रिलायन्स जियो मोबाइल प्रवेश भएको थियो ।

भारतमा पहिलदेखि नै ठूलो र प्रतिस्पर्धी टेलिकम कम्पनीहरुको अधिपत्य थियो । त्यस्तो अवस्थामा जियोले कसरी अगाडि बढ्ला भन्ने सबैको चासो थियो ।

जियोले मोबाइल उपभोक्तालाई यसरी सेवा सुविधा ल्याइदियो भारतको टेलिकम बजारमै तहल्का मच्चियो । यसको ‘स्ट्राटेजिक प्लान’ले अन्य टेलिकम सेवा प्रयोग गरिरहेका उपभोक्ता स्वात्तै तानिए । बजारमा आउने नयाँ ग्राहक पनि जियोमै जोडिए ।

जियो एकैपटक फोरजी टेक्नोलोजीमा गयो । निःशुल्क परीक्षण सेवा उपलब्ध गराउँदै बजार प्रवेश गरेको जियोले यसरी आक्रमक बजार बिस्तार गर्यो कि सेवा शुरु गरेका छ महिनामै एक करोड ग्राहक नेटवर्कमा जोडिए ।

पाँच वर्षको अवधिमा ४२ करोड ६२ लाख ग्राहक बनाइसकेको थियो ।

छोटो समयमा यति ठूलो सफलता कसरी पायो त ? यसको पछाडिको खास कारण थियो तीव्र गतिको अति सस्तो मोबाइल डेटा र निःशुल्क कल सेवा । यसले भारतका आम उपभोक्ताले निकै सस्तो मोबाइल सेवा उपभोग गर्न पाइरहेका छन् ।

भारतको जियो शैलीको चर्चा नेपालमा पनि बेलाबेलामा हुन्छ । नेपालमा जियोको चर्चा तब बढ्यो, जब सिजी टेकिमले अनुमतिपत्र पाएमा जियोकै शैलीमा बजारमा आउने भनेर भन्यो ।

ठूलो लगानी गर्ने र नेपाली उपभोक्तालाई भारतको जस्तै सर्वसुलभ टेलिकम सेवा दिने घोषणा उसको थियो । सिजी टेलिकमले अनुमतिपत्र पाउनु नपाउनु आफ्नै ठाउँमा होला तर नेपालमा पनि जियो शैलीको टेलिकम कम्पनीको प्रवेश हुन आवश्यक छ भन्ने धेरैको बुझाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्भर झाले पहिलादेखि तेस्रो ठूलो दूरसञ्चार कम्पनी ल्याउन प्रयास गरे पनि सफल नभएको बताए ।

‘हामीले तेस्रो ठूलो कम्पनी ल्याउन धेरै प्रयास गरेका थियौं,’ झा भन्छन्, ‘युटीएल, स्मार्ट टेलिकमलाई अवसर दियौ तर काम गर्न सकेनन् ।’

उनीहरुले ठूलो अवसर पाउँदा पनि लगानी गर्न नसकेको उनको भनाइ छ ।

अहिलेको अवस्थामा नेपाल टेलिकम र एनसेल दुई वटामात्रै कम्पनी छन् । नेपाल टेलिकम सरकारी स्वामित्वका भएकाले उसको निर्णय प्रकृया ढिला हुन्छ । एनसेल एकलौटी हुँदा भोलिका दिनमा मोनोपोली होला भनेर अर्को कम्पनी ल्याउन प्रयास गरेको झाले बताए ।

एनसेलको आम्दानी नेपाल टेलिकमको भन्दा धेरै भइसकेको छ ।

‘भोलिका दिनमा एकमात्र निजी कम्पनीको मोनोपोली हुनसक्छ,’ झा भन्छन्, ‘उसलाई टक्कर दिने अर्को निजी कम्पनी चाहिन्छ ।’

लगानी थप्यो भने त प्रतिस्पर्धा बढ्छ । यसको उदाहरण भारतको जियोलाई लिन सकिने उनको भनाइ छ ।

‘नेपाममा ठूलो पुँजी लगाउन सक्ने कम्पनी चाहिन्छ,’ उनी भन्छन्, ‘प्रतिस्पर्धा होस्, जसले गर्दा सबै ग्राहकले सस्तो दरमा सुविधा पाउँछन् ।’

नेपालमा तेस्रो ठूलो कम्पनी चाहिन्छ भन्नुमा मुख्य दुई कारण रहेको विज्ञहरु बताउँछन् ।

पहिलो कारण नेपाली उपभोक्ताले छिमेकी देशमा जस्तो सर्वसुलभ र सस्तो डेटा र भ्वाइस सेवा पाएनन् भन्ने हो ।

नेपालमा अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रका एनसेल र स्मार्ट टेलिकम सञ्चालनमा छन् । बजार हिस्साको अवस्था हेर्ने हो भने नेपाल टेलिकम र एनसेलको अधिपत्य छ ।

स्मार्ट टेलिकम आफैं समस्याग्रस्त छ । आर्थिक संकटमा परेपछि टाट पल्टिएको स्मार्ट टेलिकमलाई सरकारले अनुमतिपत्र खारेज गरिसकेको छ ।

यस हिसाबले हेर्दा औपचारिक रुपमै नेपाल टेलिकम र एनसेलमात्र बजारमा छन् । नेपाल टेलिकम सरकारी प्रक्रियामा आफ्नै तरिकाले चलिरहेको छ । निजी क्षेत्रमा एनसेलसँग प्रतिस्पर्धा गर्ने अर्को टेकिलम छैन ।

‘डुओपोली मार्केट’ हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको विज्ञहरुको भनाइ छ । भारतमा डेटा र भ्वाइससेवा अति सस्तो हुँदा नेपालील उपभोक्ताले पनि त्यो किसिमका सेवा उपभोग गर्न पाएका छैनन् भन्ने बजारको बुझाइ छ ।

दुई कम्पनीले उच्च नाफा गर्दा उनीहरुको सेवा न त गुणस्तरी छ, न त सस्तो छ ।

सन् २०२१ को वित्तीय विवरणअनुसार एनसेलले गत वर्ष कुल ४१ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । एनसेलको त्यसअघिको वर्ष सन् २०२० मा भने उसको आम्दानी ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ थियो । उसको चुक्तापुँजी १० करोड रुपैयाँ छ ।

त्यस्तै, नेपाल टेलिकमले गत आर्थिक वर्षमा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको थियो । यसको चुक्ता पुँजी १५ अर्ब रुपैया छ । नेपालमा जियो शैलीको टेलिकम कम्पनी चाहियो भन्नुको अर्को तर्क गुणस्तरको विषय पनि हो ।
विश्वभर डिजिटल प्रविधिको उच्च विकास भइरहँदा नेपाली उपभोक्ताले भने गुणस्तरी टेलिकम सेवा पाउनसकेका छैनन् । नेपालका उच्च पहाडी क्षेत्र, भित्री तराईका कतिपय क्षेत्रमा अझै पनि टेलकम सेवा राम्रोसँग उपलब्ध छैन । त्यहाँ भ्वाइस सेवा राम्रोसँग नचल्ने र डेटाको गुणस्तर कमसल रहेको छ ।

ग्रामीण र दुर्गम क्षेत्रमा मात्र होइन, काठमाडौं उपत्यकामा पनि सरकारी मापदण्डअनुसार सेवा सञ्चालन हुन नसकेको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै रिपोर्टमा उल्लेख छ ।

प्राधिकरणले गएको पुस १६ देखि २७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवाको गुणस्तर परीक्षण गरेको थियो । प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गरेको परीक्षणअनुसार नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा कमजोर देखिएको थियो ।

प्राधिकरणले टेलिकम कम्पनीको कल सेटअप सक्सेस रेट, कल सेटअप समय, कल ब्लक रेट र कल ड्रप रेट परीक्षण गरेको थियो । यी प्रायः सूचकमा सञ्चालनमा रहेका टेलिकम कम्पनीहरु असफल देखिएका थिए ।

यसले के देखाउँछ भने बजारमा तीनवटा कम्पनी भए पनि ग्राहकको गुणस्तरी सेवाको लागि प्रतिस्पर्धा गरेका छैनन् । नियामक निकाय प्राधिकरणले पनि ती टेलिकम कम्पनीहरुको गुणस्तर वृद्धिमा खासै प्रयास गरेको देखिँदैन ।
अर्को ठूलो टेलिकम कम्पनीको खोजी भइरहँदा अहिले तेस्रो ठूलो कम्पनीमा रहेको स्मार्टसेल किन चलेन भन्ने प्रश्न पनि आउँछ । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक बुद्धि आचार्यले पनि अर्को कम्पनी आएन भन्ने विषय गर्नुभन्दा स्मार्ट टेलिकम किन चलेन भन्ने विषय खोज्नु पर्ने बताउँछन् ।

टेलिकम विज्ञहरु स्मार्ट टेलिकम असफल हुनुमा दृष्य र अदृष्य विभिन्न कारणहरु रहेको केही जानकारको भनाइ छ ।

स्मार्ट असफल हुनुको पहिलो कारण पर्यप्त लगानी गर्न नसक्नु नै हो । चार वर्षअघि फोरजी सेवा सञ्चालन गर्दैगर्दा जसरी स्मार्ट टेलिकमले बजारमा आक्रमक जाने घोषणा गरेको थियो, त्यसअनुसार जान सकेन ।

स्मार्टले २०७४ कात्तिक महिनामा औपचारिकरुपमा फोरजी सेवाको शुरुवात गरेको थियो । त्यो बेलासम्म नेपाल टेलिकम र एनसेलले फोरजी सेवा शुरुवात गरिसकेका थिए । तर, धेरै उपभोक्तामाझ जान सकेका थिएनन ।
एकैपटक फोरजी सेवा शुरुवात गरेको स्मार्ट टेलिकमका लागि फोरजीको लागि ‘भर्जिन मार्केट’ उपलब्ध थियो । लगानी बढाएर फोरजी बिस्तार गर्न सकेन ।

कपितय जानकारहरु स्मार्ट टेलिकमको लगानीकर्ताको स्पष्ट योजना के हो भनेर बाहिर नआउँदा कम्पनीले प्रगति गर्न नसकेको भनाइ छ । उनीहरुका अनुसार स्मार्ट टेलिकम सेयर होल्डरले साच्चिकै स्मार्ट टेलिकम सञ्चालन गर्न चाहेका छन त ? भन्ने प्रश्न उठेको छ ।

फ्रिक्वेन्सी ओगटेर बस्ने र अरुलाई छिर्न नदिने खेल पनि हुनसक्ने ति विज्ञको भनाइ छ ।

स्मार्टसँग फोरजीको लागि १८ सय मेगाहर्ज व्यान्डमा १२ मेगाहर्ज फ्रिक्वन्सी छ भने उसले ९ सय मेगाहर्जको व्यान्डमा ५ मेगाहर्ज व्यान्डमा टुजी संचालन गरिरहेको छ ।

अर्को टेलिकम कम्पनी आउनको लागि अहिले उपयुक्त फ्रिक्वेन्सको अभाव छ । फोरजी सञ्चालनको लागि ९०० सय र १८०० मेगाहर्जको व्याण्ड उपयुक्त हुन्छ । तर, अहिले प्राधिकरणसँग वितरणको लागि ९०० मा १.४ र १८०० मा २ मेगाहर्ज ब्यान्डविथ मात्रै उपलब्ध छ ।

यस्तो अवस्थामा अर्को ठूलो कम्पनी कसरी आउनसक्ट भन्ने प्रश्न छ । यसको लागि प्राधिकरणले अनुमतिपत्र खारेज गरेका कम्पनीका फ्रिक्वेन्सी लिएर वितरण गर्नसक्छ ।

बन्द अवस्थामा रहेको युटिएलले १८ सय मेगाहर्ज व्यान्डमा १२ मेगाहर्ज फ्रिक्वन्सी छ भने उसले ९ सय मेगाहर्जको व्यान्डमा ५ मेगाहर्ज व्यान्डमा टुजी संचालन गरिरहेको छ । त्यस्तै, नेपाल स्याटेलाइट टेलिकमसँग १८०० मेगाहर्ज व्यान्डमा ९ मेगाहर्ज र ९०० मेगाहर्ज व्यान्डमा ४.४ मेगाहर्ज ओगटेर बसेका छन् ।

युटिएल र नेपाल स्याटेलाइटले ओगटेको फ्रिक्वेन्सीलाई मात्र लिएर नयाँ टेलिकम कम्पनीलाई उपलब्ध गराउनसके पनि आवश्यक फ्रिक्वेन्सी हुनेछ । फ्रिक्वेन्सीकै लागि स्मार्ट टेलिकम खारेजी प्रकृया पर्खनुपर्दैन ।
टेलिकम क्षेत्र ठूलो पुँजी लगानी हुने व्यवसाय हो । सानोतिने लगानी गरेर नाफा कमाइहाल्छु भन्ने अवस्था यसमा हुँदैन ।

बजारमा बर्चश्व जमाइसकेका दुई ठूला कम्पनीको बीचमा नयाँ कम्पनी स्थापित हुन धेरै गाह्रो पर्ने आचार्य बताउँछन् । यो संसारभरकै ट्रेन्ड पनि हो । उनले भारतको उदाहरण दिए । भारतमा अन्य टेलिकम कम्पनी भए पनि जियो र भारतीय एयर टेलमात्र अगाडि छन् ।

‘यति ठूलो जनसंख्या भएको देशमा तेस्रो कम्पनी माथि आउन गाह्रो भइरहेको छ भने नेपाल जस्तो सानो जनसंख्या भएको देशमा अर्को नयाँ कम्पनीलाई कति गाह्रो पर्ला ?,’ उनी भन्छन्, ‘धेरैभन्दा धेरै अपरेटर भएको राम्रो हो तर अर्को नयाँ कम्पनी आउँदा फेलियर हुने अवस्था हुनुहुँदैन ।’

उनले स्मार्ट टेलिकमको उदाहरण दिन्छन् ।

‘स्मार्ट टेलिकम असफल हुँदा नियामक निकायले किन यो असफल भयो भनेर कहिले पनि खोजिनीति गरेन,’ आचार्यले भने ।

यदि अनुमतिपत्र दिएर काम गर्न सकेको छैन भने समयमै उसलाई खारेज गरेर अर्को कम्पनीमा जानसक्नुपथ्र्यो भन्छन् आचार्य ।

नेपालमा कल र डेटा महंगो हुनुमा व्यान्डविथको आयात महंगो हो भन्छन् आचार्य । नेपाल अहिले पूर्णरुपमा भारतको एयर टेल र टाटासँग व्यान्डविथ किन्नु पर्छ । उनीहरु एकलौटी भएकाले पनि महंगो मूल्यमा व्यान्डविथ किन्नु पर्ने बाध्यता नेपाली टेलिकमलाई छ । त्यसले गर्दा नेपालमा व्यान्डविथको मूल्य महंगो पर्छ ।

व्यान्डविथ सस्तो बनाउन राज्यले नै पहल गर्नुपर्ने आचार्य बताउँछन् ।

‘राज्यले सार्क वा अन्तर्राष्ट्रिय फोरुममा इन्टरनेट पहुँचको लागि मिनिमम मूल्यमा व्यान्डविथ प्रयोग गर्न पाउनुपर्छ भनेर लविङ गर्नुपर्छ,’ आचार्य भन्छन् ।


क्लिकमान्डु