मोबाइल सेवा गुणस्तरमा तीनै टेलिकम कम्पनी पटक-पटक असफल, के गर्दै छ प्राधिकरण ?



काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका तीनवटै टेलिकम कम्पनीको सेवा गुणस्तरहीन भएको पाइएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गरेको परीक्षणअनुसार नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा कमजोर देखिएको हो ।

प्राधिकरणले पुस १६ देखि २७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यी टेलिकम कम्पनीको भ्वाइस सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

प्राधिकरणले टेलिकम कम्पनीको कल सेटअप सक्सेस रेट, कल सेटअप समय, कल ब्लक रेट र कल ड्रप रेट परीक्षण गरेको थियो । यी प्रायः सूचकमा टेलिकम कम्पनीहरु प्राधिकरणले तोकेको गुणस्तर पूरा गरेको पाइएन ।

प्राधिकरणले तोकेको मापदण्डअनुसार कल सेटअप सक्सेस रेट कम्तिमा ९९.९९ प्रतिशत हुनुपर्छ तर नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले त्यो मापदण्ड भेट्याउन सकेका छैनन् ।

नेपाल टेलिकमको कल सेटअप रेट ७५ प्रतिशतदेखि ९६.५५ प्रतिशत रहेको छ । नेपाल टेलिकमको औसत कल सेटअप रेट ८९ प्रतिशत छ ।
त्यस्तै, एनसेलको कल सेटअप रेट औषत ९२ र स्मार्ट टेलिकमको ७२ प्रतिशत रहेको परीक्षणले देखाएको छ ।

कल सेटअपको समयमा पनि तीनै कम्पनीले नियामक निकायको मापदण्ड पूरा गर्न सकेका छैनन् । कल लाग्ने समय नेपाल टेलिकमको औषत ९.३२ सेकेन्ड, एनसेलको ६.२४ सेकेन्ड र स्मार्ट टेलिकमको ११.५४ सेकेन्ड रहेको छ ।

मापदण्डअनुसार कल लाग्ने समय बढीमा ५ सेकेन्ड हुनुपर्छ ।

तीनै कम्पनीको कल अवरोध हुने प्रतिशत पनि मापदण्डभन्दा धेरै रहेको पाइएको छ । कल अवराधे हुने रेट बढीमा २ सेकेन्ड हुनुपर्नेमा नेपाल टेलिकमको ११, एनसेलको ८ र स्मार्ट टेलिकमको २८ सेकेन्ड लागेको छ ।

त्यस्तै, फोन काटिने समयमा भने एनसेल राम्रो देखिएको छ । मापदण्डअनुसार फोन काटिने प्रतिशत बढीमा २ प्रतिशत हुनुपर्नेमा एनसेलको १.१८ प्रतिशत, नेपाल टेलिकमको ४.३८ प्रतिशत र स्मार्ट टेलिकमको १० प्रतिशत रहेको पाइएको छ ।

नियामक निकायले गरेको अनुगमनमा टेलिकम कम्पनीहरुको सेवा कमजोर देखिएको यो पहिलो पटक भने होइन । प्राधिकरण आफैले बेलाबेलामा गरिरहेका यस्ता अनुगमनले दूरसञ्चार कम्पनीको सेवा उसले तोकेको मापदण्डअनुसार नभएको भेटिदै आएको छ ।

प्राधिकरणले आफैले गरेको परीक्षणमा टेलिकम सेवा कमजोरी गुणस्तरको देखिए पनि त्यसलाई सुधार गर्ने प्रयत्न भने खासै देखिदैन । टेलिकम सेवा मापदण्डअनुसार नभएमा टेलिकम कम्पनीलाई कारवाही गर्ने, ग्राहकलाई क्षतिपूर्ति दिलाउने व्यवस्था छ तर प्राधिकरणले भने कारवाही गरेको पाइदैन ।

प्राधिकरणले काठमाडौं उपत्यकाका काटेश्वर, पुरानो सिनामंगल, चावहिल, सुन्दर टोल, बौद्ध, जोरपाटी, थली, कपन, धुम्बराही, बुंमति, भैसेपाटी, जाउलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, जमल, सिंहदरबार, नयाँ बानेश्वर गौशला, पेप्सीकोला, ग्वार्को, सितापाइला, रामकोट, कलंकी, थमेल, सामाखुसी, गंगबु, धापासी, महांकाल, गल्फुटार, बर्र्फेंदीलगायतका ठाउँमा गुणस्तर परीक्षण गरेको थियो ।


क्लिकमान्डु