के नेपाल पनि क्रिप्टो माइनिङबाटै धनी हुनसक्छ ? समृद्ध देशहरुले कसरी कमाउँदैछन् ?



काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरीले गत वर्ष संसद्‍मा पूर्वबजेट छलफलको क्रममा नयाँ र फरक धारणा राखेका थिए ।

उनको प्रस्ताव थियो- नेपाललाई क्रिप्टोकरेन्सी माइनिङको हब बनाउन सकिन्छ । र नेपाल सरकारले पनि क्रिप्टो माइनिङबाट प्रसस्त विदेशी मुद्रा कमाउन सक्छ। जसले अन्तत देशको अर्थतन्त्र नै बलियो बनाउन सक्छ ।

तर चौधरीको उक्त प्रस्तावबारे सरकारले वा अर्थतन्त्रबारे चासो राख्ने कुनै नेताले पनि खासै ध्यान भने दिएनन् । न त यसबारे धेरै बहस र चर्चा नै भयो । चौधरीले भने झैं देशले क्रिप्टो माइनिङ गरेर देशको ऋण कम गर्न सक्ला त ? वा देशको समृद्धि यसले ल्याउला त ? यसको जवाफ अहिले नै दिन नसकिए पनि यसबारे बहस भने आवश्यक हुनसक्छ ।

नेपालमा यसबारे बहस नभइराख्दा कतिपय साना र विपन्न देशहरुले क्रिप्टोकरेन्सी बिक्री वा माइनिङबाट आफ्नो राष्ट्रिय ऋण तिर्न सक्षम भएका प्रसस्त उदाहरण छन् । यसै सात मात्रै विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकामा क्रिप्टोकरेन्सीमा पर्ने बिटक्वाइनको मूल्य आकासियो । डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचन जितेपछि नै यसको मूल्य व्यापकरुपमा आकासियो ।

तथ्यांक के छ भने अमेरिका जस्तो बलियो अर्थतन्त्र भएको देशमा १७ प्रतिशत वयष्करुले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । भुटानले मात्रै यसै साता बिटक्वाइन बिक्री गरेर अर्बौं कमायो । एल साल्भाडोर जस्तो विपन्न देशले क्रप्टोमा लगानी गरेर आफ्नो राष्ट्रिय ऋण पर्याप्त मात्रामा घटाउन सम्भव भयो ।

के हो क्रिप्टो माइनिङ ? कसरी हुन्छ आम्दानी ?

क्रिप्टो करेन्सीले आम्दानी दिने भनेको बिक्री गरेर र माइनिङ गरेर हो । तर कसरी सम्भव हुन्छ ? धेरैलाई के लाग्नसक्छ भने क्रिप्टो माइनिङ भनेको नयाँ क्वाइन वा मुद्रा बनाउने तरिका मात्रै हो । जबकि ब्लक चेन नेटवर्कमा क्रिप्टोकरेन्सी कारोबारलाई भ्यालिडेट गर्नु र त्यसलाई वितरित खातामा पुर्‍याउनुलाई क्रिप्टो माइनिङ भनिन्छ । क्रिप्टो माइनिङले एक डिस्ट्रिब्युटेड नेटवर्कमा डिजिटल करेन्सीको दोहोरो खर्चलाई रोक्ने काम पनि गर्छ ।

क्रिप्टोकरेन्सी माइनिङ एक यस्तो प्रक्रिया हो जुन प्रुफ अफ वर्क तरिकाको उपयोग गर्ने क्रिप्टोकरेन्सीका लागि ब्लक चेनमा नयाँ कारोबारलाई भेरिफाइ गर्छ र जोड्छ । यसमा प्रतियोगिता जित्ने माइनर व्यक्ति वा कम्पनीलाई केही करेन्सी वा ट्रान्जेक्सन फि रिवार्डको रुपमा दिइएको हुन्छ ।

उदहरणका लागि कागजी पैसा जस्तै जब एक सदस्यले क्रिप्टोकरेन्सी खर्च गर्छ भने उसले डिजिटल लेजरलाई एक एकाउन्टबाट पैसा झिकेर अर्को एकाउन्टमा पैसा जम्मा गर्दै अपडेट गर्नुपर्छ । तर डिजिटल करेन्सीमा के समस्या हुन्छ भने डिजिटल प्लेटफर्मलाई सजिलै हेरफेर गर्न सकिन्छ ।

यसैले पनि बिटक्वाइनलाई डिस्ट्रिब्युटेड लेजरबाट डिजिटल लेजरमा ट्रान्जेक्सन गर्ने अनुमति भेरिफाइड माइनर्सलाई मात्रै दिइएको हुन्छ । साथै यी माइनरलाई दोहोरो खरचबाट बचाउने अतिरिक्त जिम्मेवारी पनि दिइन्छ ।

यसक्रममा नेटवर्क सञ्जाललाई सुरक्षित गर्ने काममा माइन तथा खानीहरुलाई पुरस्कृत गर्नका लागि नयाँ क्वाइन तथा सिक्काहरू सिर्जना गरिन्छ। किनकि वितरित खातामा केन्द्रिकृत नियन्त्रणको कमी हुने गर्छ । यसैले पनि कारोबारलाई भेलिडेट गर्नका लागि माइनिङ प्रक्रिया महत्त्वपूर्ण हुन्छ । यसैले माइनरहरुलाई कारोबार प्रमाणीकरण प्रक्रियामा भाग लिएर नेटवर्कलाई सुरक्षित गर्नका लागि प्रोत्साहन गरिन्छ । र यसैले नयाँ बनाइएका क्वाइन जित्ने सम्भावना बढी हुन्छ ।

यसलाई सुनिश्चित गरनका लागि भेलिफाइड क्रिप्टो माइनरले नै कारोबार गर्न सक्छ । वा भेलिडेट गर्न सक्छ ।

के हो प्रुफ अफ वर्क ?

यससँगै क्रिप्टो माइनिङलाई सर्वसम्मत रुपमा प्रोटोकल लागू गरिएको हुन्छ । जसलाई पो अर्थात् ‘प्रुफ अफ वर्क’ भनिन्छ । यसैले कुनै पनि बाहिरी आक्रमणबाट क्रिप्टो नेटवर्कलाई सुरक्षित बनाइराख्ने काम गर्छ । यसको महत्त्व किन पनि छ भने यही प्रुफ अफ वर्कले नै स्क्यामहरुलाई रोक्ने काम गर्छ र भेरफाइड पनि गर्छ । यसैले भेरिफाइड क्रिप्टो माइनिङले मात्रै कारोबार गर्नसक्छ ।

प्रुफ अफ वर्क भनेको ब्लकचेन साझ प्रोटोकल हो । जसका लागि एक गणितीय पज्जल समाधान गर्न एक माइनरको आवश्कता हुन्छ । बिटक्वाइन र एथेरयमले प्रुफ अफ वर्कक उपयोग गरेका हुन्छन् । क्रिप्टो बाहेक स्प्यामहरुलाई रोक्नका लागि इमेलका लागि प्रुफ अफ वर्क विधिलाई परिवर्तन गर्ने प्रस्ताव गरिएको हुन्छ । उदाहरणका लागि हरेक म्यासेज पठाउनुभन्दा पहिले पहिलो १५ सेकेन्ड पर्खन लगाइन्छ । त्यसपछि कम्प्युटरको उपयोग कम्प्युटरको प्रयोग कहिले पनि हजारौं सन्देश पठाउनको लागि हुन सक्दैन।

यद्यपि क्रिप्टो विवादित विषय पनि बन्ने गरेको छ । यसको एउटै तर्क के हो भने यसमा स्क्यामहरु हुनसक्ने त्रास र यसका लागि अत्यधिक बिजुली आवश्यक पर्ने भएकाले क्रिप्टोको विरुद्धमा पनि तर्कहरु इरहेका हुन्छन् । यति हुँदा हुँदै नेपाल जस्तो विद्युत उत्पादनको पर्याप्त स्रोत भएको देशमा बिजुलीको प्रयोग गरेर यसलाई आर्थिक आम्दानीका लागि उपयोगी बनाउन सकिने जानकारहरु बताउँछन् ।

क्रिप्टो माइनिङलाई प्रमुख रुपमा नयाँ क्वाइन बनाउनुका साथै मौजुदा ट्रान्जेक्सनलाई भ्यालिडेट गर्नका लागि उपयोग गरिएको हुन्छ । ब्लकचेनको विकेन्द्रिकरण प्रकृतिले ठगीहरुलाई एकै समयमा एकभन्दा धेरै पटक क्रिप्टोकरेन्सी खर्च गर्ने अनुमति दिनसक्छ । माइनिङले यस्ता किसिमका ठगीहरु कम गर्नुका साथै क्वाइनमा प्रयोगकर्ताहरुको विश्वास बढाउने गरेको हुन्छ ।

क्रिप्टोकरेन्सी माइिङका प्रमुख रुपमा दुई उद्देश्य छन् । यसले नयाँ क्रिप्टोकरेन्सी तयार पार्छ र ब्लकचेनमा मौजुदा क्रिप्टोकरेन्सी ट्रान्जेक्सनलाई प्रमाणिकता पुष्टि गर्छ । ट्रान्जेक्सनको एक ब्लकको पुष्टि गर्ने प्रक्रिया पूरा गरेपछि एक माइनर पूर्ण हुन्छ । र प्रतिफलमा तयार भएको क्रिप्टोकरेन्सी प्राप्त हुन्छ ।

क्रिप्टो माइनिङका लागि एक विशेष सफ्टवेयरसहितको कम्प्युटर आवश्यक पर्छ । जुन विशेष रुपमा जटिल र क्रिप्टोग्राफिक गणितीय समीकरणहरु हल गर्नका लागि डिजाइन गरिएको हुन्छ । प्रविधिको सुरुवातका दिनहरुमा बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीलाई घरेलु कम्प्युटरमा एक साधारण सीपीयु चिपसहित माइन गर्न सकिन्थ्यो ।

जवकि पछिल्लो केही वर्षयता सीपीयु चिप्स बढ्दो कठिनाइको कारण अधिकांश क्रिप्टोकरेन्सी माइनिङमा असफल हुन थाल्यो । फलस्वरुप क्रिप्टोकरेन्सी माइनिङका लागि एक विशेष जपीयु वा एक एप्लिकेसन-स्पेसिफिक इन्टेग्रेटेड सर्किट (एएसआईसी)माइनरको आवश्यकता हुन्छ । यसवाहेक माइनिङ रिङमा जीपीयुलाई हरेक समय एक विश्वसनीय इन्टरनेट कनेक्सनसँग जोड्नु पर्छ । प्रत्येक क्रिप्टो माइनर एक अनलाइन क्रिप्टो माइनिङ पुलको पनि सदसय हुन आवश्यक हुन्छ ।

नेपालमा के छ कानूनी व्यवस्था ?

जी २० राष्ट्रमध्ये अधिकांश देशहरुले क्रिप्टोकरेन्सीलाई वैधता दिँदै मनग्य आम्दानी गरिरहँदा नेपालले भने यसलाई प्रतिबन्ध लगाउँदै आएको छ । राष्ट्रबैंकले यस्ता सम्भावित कारोबारमाथि निगरानी गरिरहेको हुन्छ । यद्यपि कानुन छलेर कारोबार हुने गरेको पाइन्छ ।

प्रहरीका अनुसार एकै वर्षमा ९ करोड रुपैयाँभन्दा धेरै क्रिप्टो कारोबार भएको थियो । क्रिप्टो कारोबारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले दर्जनौं मानिसलाई पक्राउ गरेर मुद्दा पनि चलाइसकेको छ ।

यसरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरुविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनको मुद्दा दायर गर्ने गर्छ । यद्यपि क्रिप्टोकरेन्सीको प्रत्यक्ष कारोबार नेपालबाटै भएको नदेखिँदा कारोबार गर्ने मानिसहरुविरुद्ध आवश्यक प्रमाण नपुगेपछि उनीहरुले अदालतबाट सफाइ पाउने गरेको प्रहरी बताउँछ ।

राष्ट्रबैंकले क्रिप्टोकरेन्सी नगर्न पटक पटक सचेतना अभियान पनि सञ्चालन गर्दैआएको छ । राष्ट्रबैंकका अनुसार क्रिप्टो कारोबार वा माइनिङ गरेको पाइए विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुन्छ । यस्तै राष्ट्रबैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि क्रिप्टो कारोबार नगर्न पत्र लेख्दै आएको छ ।

तर पनि कतिपय राजनीतिज्ञ, विज्ञ र उद्योगीहरुले क्रिप्टो माइनिङबाटै नेपालले पनि मनग्य आम्दानी गर्नसक्ने सुझाव दिँदै आएका छन् । अनौपचारिक रुपमा कारोबार भइरहेको अवस्थामा राज्यले यसलाई नियमन तथा व्यवस्थित गरी यसबाट कर संकलन गर्नसक्ने र राज्यलाई नै फाइदा हुने उनीहरुको तर्क छ ।


क्लिकमान्डु