४ हजारलाई रोजगारी दिएर बन्द भएको मोमेन्टो गार्मेन्ट: पुनर्जन्मको पर्खाइमा चण्डीराज



झापा । भद्रपुर नगरपालिका, गार्मेन्ट चोक । कुनैबेला हजारौंको भिडभाड हुन्थ्यो । एक हुल कारखानाभित्र पस्दा, अर्को हुल बाहिर निस्किन्थे ।

वरिपरीका चियानास्ता पसल खचाखच हुन्थे । लाग्थ्यो, मुलुकमा औद्योगिक प्रगतिले उधुम मच्चाइरहेको छ ।

मुलुककै सबैभन्दा ठूलो गार्मेन्ट उद्योग सञ्चालनमा आएपछि स्थानीयले त्यो ठाउँको न्वारान नै गरिदिए- गार्मेन्ट चोक ।

गएको हप्ता हामी यही गार्मेन्ट चोक खोज्दै भद्रपुर पुग्यौं । ४ बिगाहा क्षेत्रफलमा फैलिएको विशाल गार्मेन्ट उद्योग मोमेन्टो एपेरिएल्स शान्त छ । एक्लिएको छ ।

कपडा सिलाउँदा सिलाउँदै बन्द भएको मोमेन्टोका हजारौं मेसिन, उपकरणलाई प्लाष्टिकले छोपेर राखिएको छ । कति मेसिनमा सिलाउँदा सिलाउँदैको धागो लत्रिएको छ ।

उद्योग बन्द भएको एक दशक भएजस्तो लाग्दैन । लुगा सिलाउने मेसिनको सियोमा धागो छिराएको देखिन्छ । लाग्छ, कपडा सिलाइरहेको मिस्त्री पिसाब गर्न गएका छन् ।

कच्चा कपडा राख्नेदेखि कटाई, डिजाइन, सिलाई, बटन राख्ने, फिनिसिङ गर्ने, धुलाउने, सुकाउने, स्टोर गर्ने, कामदार आराम गर्ने कोठा हरेक युनिटहरु ठूल्ठुला हल छन् । प्रत्येक युनिटहरु उच्च प्रविधिका मेसिनहरु भरिएका छन् । आपतकाललाई भनेर छुट्याइएका ठुल्ठुला स्पेस छन् । कारखाना घुम्न नै केही समय लाग्छ ।

बन्द उद्योग घुम्दा मनमा थकथकबाहेक अरु केही आउँदैन । सञ्चालक चण्डीराज ढकालले मोमेन्टो घुमाउँदा हामीलाई त्यस्तै भयो ।

कारण जस्तोसुकै भए पनि कुनै पनि उद्योग बन्द हुनुहुँदैन । देशले ठूलो अवसर गुमाउँछ । हजारौंको रोजगारी गुम्छ । स्थानीयको मनोवल गिर्छ । जुन कुरा गार्मेन्ट चोकले अहिले भोगिरहेको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएको यो बेला सम्झिने भनेको यस्तै उद्योग हो । मोमेन्टो एपेरिएल्स कुनैबेला सबैभन्दा बढी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्योगमा चिनिएको थियो । राज्यले चण्डीराजलाई सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएको भनेर सम्मान पनि गर्यो ।

नेपालमा गार्मेन्ट व्यवसाय फैलदो क्रममा थियो भने चण्डीराज ढकाल सफलताको सिढी चढ्दै थिए ।

बिग्रिन, भत्किन केहीबेर लाग्दैन । मोमेन्टोमाथि पनि त्यस्तै नियति आइलागे । जसले हजारौंलाई जागिर दिएको उद्योग एकाएक बन्द भयो । चण्डीराज एकाएक बैंकको ऋण तिर्न नसकेको व्यवसायीको रुपमा चिनिए ।

ढकालले भने अझै आश मारेका छैनन् । कारखानाको हरेक युनिट घुमाउँदै गर्दा उद्योग फेरि चलाउने जुनुन उनीसँग देखिन्थ्यो । छिट्टै उद्योग सञ्चालनमा ल्याएर ‘असफल’ भन्ने दागलाई मेटाउन चाहन्छन् ढकाल ।

विश्व बैंकको ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गर्दा राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन प्रमुख कार्यकारी ब्रुस एड्रसन मोमेन्टो एपेरिएल्स अवलोकन गर्न आएका थिए ।

उद्योग अवलोकनपछि एड्रसनले ढकाललाई भनेका थिए, ‘यतिको उद्योग मैले नेपालमा देखेको थिइन, उद्योग चलाउन म सहयोग गर्छु ।’

उद्योगमा ठूलो लगानी लागेको छ ।

‘आजको दिनमा यस्तै उद्योग स्थापना गर्ने हो भने ५ अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्छ, उद्योगमा करोडौं डलरका मेसिनहरु छन्,’ ढकालले मेसिनहरु देखाउँदै भने, ‘कुनै मेसिन अमेरिका, कुनै जापान त कुनै युरोपबाट ल्याइएका हुन् ।’

यसरी सुरुभयो उद्योग

कुनैबेला काठमाडौंमा गार्मेन्ट र कार्पेट उद्योगको चकाचक थियो । गार्मेन्ट उद्योग खोल्ने लहर नै थियो ।

झापाका चण्डीराज ढकाल पनि काठमाडौंमा गार्मेन्ट उद्योग चलाइरहेका थिए । गार्मेन्ट व्यवसायबाट ढकाललाई राम्रो नाफा थियो । मनग्य आम्दानी देखेपछि ढकालले आफ्नो जन्मस्थान झापामै गार्मेन्ट उद्योग खोल्ने निर्णय गरे ।

सन् १९९६ मा बैंकबाट ९ करोड ऋण लिएर मोमेन्टो एपेरिएल्स खोले । उद्योगले छिटै राम्रो व्यापार गर्न थाल्यो । ४ बिगाह क्षेत्रफलमा फैलने र ठूलो आकारको उद्योग खोल्ने सोच नभए पनि परिस्थितिले ठूलो आकारको उद्योग बन्यो ।

९ करोड रुपैयाँ ऋण लिएर खोलेको उद्योगले ऋणको आकार बढायाे ।

‘अमेरिकाका निर्यातकर्ताको प्रोत्साहन र व्यापारको सुनिश्चित देखेपछि साच्चिकै गार्मेन्ट उद्योग चलाउन झापामा उद्योग शुरु गरेको हो,’ ढकाल भन्छन् ।

ढकालले झापामा उद्योग खोल्नु अगाडि बंगलादेश, पाकिस्तान, भारत, चीन र कोरियामा इन्जिनियर र सीएको टिमले उद्योगको अवलोकन पनि गर्यो । एउटा ठूलो तयारी पोशाक उद्योग जसमा महिला पुरुष सबै उमेर समूहले लगाउने कपडा तयार पनि भयो ।

बजारको लागि कुनै समस्या थिएन अमेरिका र युरोपमा निर्यात भएको थियो । यही गार्मेन्टको व्यवसाय फस्टाउने देखेपछि चण्डीराज ढकालले जापानमा रहेका भाइ हेमराज ढकाललाई नेपाल बोलाए भने काठमाडौंमा भएका अर्का भाइ टिकाराज ढकाल उद्योग खुल्नासाथ काठमाडौंबाट झापा पुगे ।

४ हजारलाई दिएको रोजगारी र व्यापार विस्तारले चण्डीराज ढकाललाई उद्योगी व्यापारीको नेता पनि बनायो । उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बने र निर्वाचनमा जिताउने र हराउने प्रमुख खेलाडी पनि ।

दोस्रो पटक कुशकुमार जोशीसँग निर्वाचनमा आफूले हारेपनि त्यसपछि उनले जसलाई समर्थन गरे त्यो उम्मेद्वारले चुनाव जिते ।

गार्मेन्ट उद्योगसँगै ढल्यो चण्डीको व्यवसायिक विरासत

चण्डीराज ढकाल लाई चिन्नेहरु गार्मेन्ट उद्योग चलेको भए निकै ठूलो व्यवसायिक बिरासत भएको व्यवसायी बन्ने बताउँछन् ।

नेपालमा गार्मेन्ट उद्योग चलाएर असफल हुनेमा चण्डीमात्र एक्लो होइनन् । कुनैबेला निर्यात हुने वस्तुमा पहिलो स्थानमा रहेको गार्मेन्ट कोटा प्रणालीको अन्त्य तथा माओवादी द्वन्द्वका कारण नेपालमा नाम चलेका गार्मेन्ट व्यवसायीहरु कर्जा सूचना केन्द्रको कालो सूचिमा परे । कतिपय व्यवसायी पलायन भए । माओवादको द्वन्द्व, कृष्णभिरमा गएको पहिरो र बन्द हड्तालको कारण मोमेन्टोसँगै नेपालका अरु गार्मेन्ट उद्योगहरु बन्द भएको ढकाल बताँछन् ।

‘बजारको अभाव भएर हाम्रो उद्योग बन्द भएको होइन, समयमा गार्मेन्ट पुर्याउन नसकेको कारण बन्द भएको हो, राज्यले सम्मान गरेको व्यक्तिले बाध्यताले उद्योग बन्द गर्नु परेको हो,’ बन्द भएको मोमेन्टो कारखानामा ढकालले क्लिकमाण्डू टिमसँग कुरा गर्दै भने ।

झापामा आएको हावाहुरीले ५ हजार घर प्रभावित हुँदा उनको उद्योगमा ३० करोडभन्दा बढीको नोक्सान भयो । कृष्णभिरको पहिरोको कारण ३८/३९ लाख अमेरिकी डलरका सामानहरु अड्किए ।

‘माओवादी द्वन्द्वको कारण मैले १ करोड १२ लाख अमेरिकी डलर छुट दिनुपर्यो । मैले त्योे बेला ६७ लाख अमेरिकी डलर हवाइ भाडामात्रै तिरेँ,’ ढकालले बन्द भएको उद्योगमा आफ्नो डाउनफलको कथा सुनाउदै भने, ‘हावाहुरी, कृष्णभिरको पहिरो पनि मेरो उद्योग बन्द गराउने प्रमुख कारण हुन् ।’

ढकाललाई चिन्नेहरु उनी महासंघको राजनीतिमा सक्रिय भएको कारण उद्योगमा चलाउन नसकेको बताउँछन् । चण्डी आफूपनि महासंघको राजनीतिले १५ देखि २० प्रतिशतसम्म उद्योग चल्न नसक्नुको कारण रहेपनि मुख्य कारण नभएको बताउँछन् ।

चण्डीका भाई तथा उद्योगका सञ्चालकसमेत रहेका टिकाराम ढकाल दाइले महासंघको अध्यक्ष भएपछि अरु व्यवसायीको कुरा राख्दा राज्यले सहयोग नगरेको कारण उद्योग बन्द भएको बताउँछन् ।

‘गार्मेन्ट उद्योग चलाउन नसकेपछि धेरै उद्योग बन्द भए र ऋण तिर्न सकेनन्, चर्चा हाम्रोमात्र बढी भयो, दाई महासंघको राजनीतिमा भएको हुँदा राज्यले सहयोगी भूमिका खेलेन,’ टिकाराम ढकालले भने ।

नेपालको निजी क्षेत्रका संस्थाहरुमा चण्डी र उनका भाइहरु आबद्ध छन् । टिकाराम १ नम्बर प्रदेश महासंघको अध्यक्ष छन् भने हेमराज ढकाल महासंघको कार्यकारिणी सदस्य छन् । अर्का भाई नवराज ढकाल चेम्बरको कार्यसमिति सदस्य छन् ।

उद्योगको पहिलो इँटा लगाउने बेलादेखि इमोसन जोडिएको हुँदा झापा आएको समयमा बन्द भएको उद्योगलाई हेर्न समेत आउन नसकेको स्मरण उनी गर्छन् ।

‘नेकोन एयर चाटर्ड गरेरसमेत मैले गार्मेन्टको निर्यात गर्ने प्रयास गरे, बिमानमा हुने सामानभन्दा बढी चाटर्डको लागि समेत खर्च गरे,’ ढकालले भने ।

ढकालले भनेको नेकोन एयर समेत अहिले बन्द भइसकेको छ ।

विदेशी लगानी ल्याएर उद्योग चलाउने योजना

चण्डीराज ढकाल पछिल्लो २ वर्षमा विदेशबाट लगानी ल्याएर बन्द भएको मोमेन्टो चलाउने योजनामा छन् । बैंकसँग उनको यो विषयमा धेरै पटक वार्ता भइसकेको छ ।

मोमेन्टोमा लगानी गर्ने भनेर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट भित्रिएका थिए । भट्टले लगानी नगरेपछि ढकालले त्यसको नामसारी कोरोनाको कारण समयमा काम हुन नसकेको बताउँछन् ।

ढकालले वाणिज्य बैंकमा खोल्नुपर्ने एस्क्रो एकाउन्ट खोल्ने काम सकिएको र लगानी आउने प्रतिबद्धता आएको जानकारी दिए । दुबई पर्फेक्ट इन्ड्रष्टिजलाई मोमेन्टो लगानीसहितको साझेदार बनेर आउने र यो वर्षभित्र उद्योग चलाउने योजना उनले सुनाए ।

राष्ट्रिय वाणिज्य बैंक, पर्फेक्ट इन्ड्रष्टिजका थोमस र मोमेन्टोका चण्डीराजबीच त्रिपक्षीय सम्झौता हुन्छ ।

‘केही हप्तामै हामीबीच त्रिपक्षीय सम्झौता हुन्छ,’ ढकलले सुनाए ।

उनले आफूले नियत खराब भएर बैंकको ऋण नतिरेको भन्ने आरोपलाई खण्डन गर्छन् ।

‘मैले एनबी, एनसीसी र लुम्बिनी बैंकको गरेर २ अर्बजति ऋण तिरे, अब वाणिज्य बैंकको मात्र ऋण तिर्न बाँकी हो, ऋण तिर्नको लागि बसेको घर अफिस सबै बेचे,’ ढकालले भने ।

गार्मेन्टबाट भएको असफलताको दाग मेटाएर सफल बन्ने योजना रहेको बताउँदै ढकालले भने, ‘फलामले फलामलाई काट्छ भनेजस्तै गार्मेन्टले सफल भएँ, गार्मेन्टले नै असफल भएको देखिए, पुनः गार्मेन्टबाट सफल हुन्छु ।’

काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका चण्डीराजको परिचय कालोसूचिमा परेका र बैंक्रप्टको रुपमा जवरजस्त स्थापित गर्न खोजिँदैछ । तर, उनको उद्योग हेर्ने जोकोहीले चण्डीराजलाई खराब व्यवसायी भन्ने हिम्मत भने गर्ने छैनन् ।


आशीष ज्ञवाली