नयाँ प्रडक्ट थपेर पर्यटक आकर्षित गर्दै पोखरा, ८ मिनेटमै सराङकोट



नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा सञ्चालनमा आएको केबलकारबाट फेवातालको पूर्ण दृश्य मात्रै होइन समग्र पोखरा नै देखिन्छ ।

काठमाडौं । पोखरा भन्दा धेरैले सम्झिन्छन्, ‘फेवा ताल र माछापुछ्रे हिमाल’ । तर, पोखरामा फेवासहितका १० वटा ताल छन् । बेगनास ताल र रुपा तालको नाम धेरैले सुने पनि खास्टे, दिपाङ, मैदी, गुदे, निउरेनी, कश्यप र कमल तालका नाम पनि नसुन्ने कैयौं व्यक्ति छन् ।

यस्तै, पोखराबाट अन्नपूर्ण हिमशृंखला आरोहणका लागि खुल्ला गरिएका १८ हिमाल देखिन्छन् । यो बाहेक मनास्लु रेञ्जका हिमाल पनि पोखराबाट देखिने गर्छन् । माछापुच्छे« हिमालमा त आरोहण गर्न पाइदैन् । पोखराबाट आफ्नै अगाडि माछापुछ्रे हिमाल देखिने हुँदा धेरैले पोखराभन्दा माछापुच्छे« हिमाल सम्झिने गर्छन् ।

पोखरा देशभित्र मात्रै नभई विदेशमा समेत सुनिने नाम हो । भारतीय सहरमा पनि पोखराभन्दा ताल र हिमाल सम्झने व्यक्ति भेटिन्छन् । गत पुसमा भारतको पर्यटकीय सहर नैनिताल पुग्दा त्यहाँ भेटिएका लखनउका एक व्यक्तिले समेत नेपालबाट आएको भन्दा पोखरा सम्झिए ।

‘तपाईंको देशमै नैनिताल भन्दा कैयौं ठूला तालहरु छन्,’ उनले भनेका थिए, ‘पोखराको ताल देखेका मान्छेलाई नैनीताल त केही पनि होइन् ।’

हुन त, पोखराका ताल र नैनिताललाई तुलना गर्न त मिल्दैन् । तर पनि विदेशी नागरिकले समेत चिन्ने हुँदा पोखरा पर्यटकीय सहरको रुपमा चर्चित भयो । पोखरामा विदेशी पर्यटकको आवागमन कहिलेदेखि शुरु भयो भन्ने यकिन तथ्यांक त छैन । तर, सन् १९५० पछि पोखरामा विदेशी नागरिकको आगमन बढेको देखिन्छ ।

अन्नपूर्ण चढ्नु पोखराका लागि बन्यो टर्निङ प्वाइन्ट
७२ वर्ष पहिला ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सकिन्छ वा सकिदैन भन्ने विषय सन्देशको घेरामा थियो । बेलायती र फ्रान्सका आरोही दलबीच ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिला सफलतापूर्वक चढ्ने भन्ने अघोषित प्रतिस्पर्धा थियो ।

सन् १९२१ , १९२२ र १९२४ मा बेलायती आरोही दलले सगरमाथा आरोहण गर्ने प्रयास गर्दा सफल हुन सकेका थिएनन् । सन १९२४ बेलायती आरोहण दल ८ हजार ३२६ मिटरको उचाईमा पुगेर ८ हजार मिटर अग्ला हिमालको आरोहण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकोे थियो । नेपालमा राणा शासन भएकाले हिमाल आरोहणको अनुमति नमिल्दा बेलायतको टीमले तिब्बत तर्फबाट सगरमाथा आरोहण गर्ने असफल प्रयास गरेका थियो ।

नेपालका तर्फबाट केही व्यक्तिले सरकारी प्रक्रिया पार गर्दै हिमाल आरोहण गर्ने प्रयास गरेका थिए । सन् १९५० जुन ३ मा फ्रान्सको आरोही दलले अन्नपूर्ण हिमाल सफल आरोहण गर्याे ।

त्यसपछि नेपालका हिमालमा चासो राख्ने व्यक्तिबीच मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पोखरा परिचित हुँदै गयो । अन्नपूर्ण हिमाल चढ्नेको संख्या पनि बढ्यो । पर्यटन विभागको तथ्यांक अनुसार सन् २०२० सम्म ३०९ जनाले अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

विदेशीले पोखराका विषयमा धेरै सुनेको र जानेको अन्नपूर्ण हिमालको सफल आरोहणपछि हो । त्यसपछि पोखरा वरिपरिका हिमाल मात्रै नभई ताल पनि चर्चामा आए । तालको किनारा लेक साइडको रुपमा स्थापित भयो ।

नेपाल र पोखराका विषयमा कैयौं पुस्तक लेखिएका छन् । जसले गर्दा पूर्वतर्फ मर्स्याङदी र पश्चिमतर्फ कालिगण्डकी नदीको बीचमा रहेको अन्नपूर्ण हिमाल हेर्न मात्रै पोखरा पुग्ने कैयौं व्यक्तिको सपना हुन्थ्यो ।

आजको जस्तो भौतिक पूर्वाधार हुन्थ्यो त, कैयौं पर्यटक पोखरा र हिमालको फेदीमा पुग्ने थिए होलान् । त्यसबखत घुम्नुको अर्थ नयाँ विषय जान्नु र केही नयाँ संस्कार र संस्कृति सिक्नु थियो ।

पर्यटन व्यवसायी तथा त्रिशुली रिभर साइड होटलका सञ्चालक उद्धव कँडेल पछिल्लो समय सुत्न र खान राम्रो दिएर होटल सञ्चालन गर्नै नसकिने अवस्था आएको बताउँछन् ।

‘मानिस रिसोर्टमा छिर्ने बित्तिकै फोटो खिच्ने ठाउँ हेर्ने गर्छन्’’ कडेँल भन्छन्, ‘कुनै पनि ठाउँमा लगानी गर्दा फोटो खिच्ने ठाउँ कहाँ बनाउने भनेर सोच्नु पर्ने अवस्था आएको छ ।’

पोखरा भने समाजिक सञ्जालको युगमा भाइरल भएको गन्तव्य होइन् । त्यसो हुन्थ्यो त तीनधारे झरना (गत वर्ष समाजिक संजालमा बाहुबली झरना भन्दै चर्चित भएको काभ्रेको रोशी गाउँपालिका रहेको ३०० मिटर अग्लो झरना ) जसरी लोप भइसकेको हुन्थ्यो ।

पोखराको पर्यटन विकासको जग पुरानो छ । बलियो छ । पर्यटन विकासका लागि एउटा गन्तव्य मात्रै पर्याप्त हुदैन् । एउटै क्षेत्रमा धेरै गन्तव्य हुँदा एक ठाउँमा लागि भन्दै पुग्ने पर्यटक अर्काे गतिविधिमा सहभागि हुन्छन् र पर्यटन थप चलायमान हुन्छ ।

सन् १९७२ मा तत्कालीन पश्चिम जर्मन सरकारको सहयोगमा बनेको नेपालको पर्यटन गुरुयोजनाले पोखरालाई नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण हब बनाउने उल्लेख थियो ।

हिमाल हेर्ने, पदयात्रा गर्ने आकर्षण बढ्दै जाँदा पोखरा केन्द्रित भएर पर्यटकिय गतिविधिहरु हुन थाले । जसले गर्दा पछिल्लो समय स्वदेशी पर्यटनका बीच पनि पोखरा आकर्षकको केन्द्र बन्दै गइरहेको छ ।

हुन त नेपालमा पर्यटन ऐन २०३५ बन्दा विदेशी नागरिकलाई मात्र पर्यटक भन्ने गरिएको थियो । सन् १९९५ को पर्यटन नीतिले आन्तरिक पर्यटक बढाउने घोषणा गरिएपछि मात्रै पर्यटन ऐनले आन्तरिक पर्यटक चिन्न थालेको हो ।

अझै पनि यातायात व्यवस्था ऐनमा त पर्यटक भन्दा विदेशी नागरिक मात्रै चिन्छ । जसले गर्दा हरियो नम्बर प्लेटको गाडीमा नेपाली नागरिकलाई घुमाउन लैजादाँ समस्या पनि हुने गर्छ ।

तर, पछिल्लो समय नेपालका पर्यटकिय गन्तव्य आन्तरिक पर्यटकले धानिरहेको पर्यटकीय गन्तव्य पवर्द्धनको काम गर्दै आएका विष्णुकान्त घिमिरे बताउँछन् ।

पोखरामा थपिए नयाँ प्रडक्ट
ताल र हिमाल हेर्ने सुविधा भएको पोखरामा प्याराग्लाइडिङ, अल्ट्रा फ्लाइट, बञ्जी, जिपलाइन लगायतका पर्यटकीय प्रडक्ट थिए । कैयौं पर्यटकीय प्रड्क्ट भएको पोखरामा दुई वटा नयाँ प्रडक्ट थपिएका हुन् ।

पोखराबाट पश्चिमतर्फ डाँडोमा रहेको पुम्दीकोट भन्ने ठाउँमा शिवको भव्य मुुर्ती बनेको छ । विगतमा सुनसान हुने पुम्दीकोटमा दैनिक ५ सयदेखि १ हजारसम्म व्यक्ति पुग्ने गर्छन् । पुम्दीकोटमा पर्यटकीय गतिविधि बढ्ने सम्भावना भएपछि प्रदेश सरकारले पनि विश्व शान्ती स्तुपासँगै माथिको बाटो कालोपत्र बनाउने सहयोग गर्ने भएको छ ।

पुम्दीकोट विकास समितीले चारैतिरबाट फेवाताल देखिने अग्लो डाँडोमा बनाएको महादेवको मुर्तीले पोखरा पुग्ने पर्यटन विकाशका लागि नयाँ गन्तव्य सिर्जना गरेको हो ।

पदयात्रा मुख्य प्रड्क्ट रहेको पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेसँगै पर्यटकलाई लक्षित गर्दै विभिन्न गन्तव्य विकास पनि भएका छन् । पर्यटकलाई ८ मिनेटमा फेवातालको किनाराबाट सारङकोटको अग्लो डाँडोसम्म लैजाने अन्नपूर्ण केवलकार पोखराको नयाँ प्रडक्ट हो ।

जसरी प्याराग्लाईडिङ गर्दा पोखरा सहर र फेवातालको सपाट दृष्य देखिन्थ्यो त्यसैगीिर अन्नपूर्ण केवलकारबाट पर्यटकले तालको सपाट दृश्य हेर्न सक्छन् । मौसम सफा हुँदा त माछापुच्छ्रेलगायतका हिमालको छाया पनि फेवातालमा निकै नजिकबाट देखिने गर्छ । केबलकार फेवातालको किनारबाट शुरु हुने हुँदा सारङकोट नपुग्दासम्म विभिन्न कोणबाट ताल हेर्न मिल्छ ।

केबुलकारका अपरेसन म्यानेजर डीएन कायस्थ पोखराको केवलकार पर्यटकलाई केही नयाँ अनुभव दिउँ भन्ने उद्देश्यले शुरु गरिएको बताउँछन् ।

‘प्रडक्ट नभई पर्यटकको गन्तव्यमा बस्ने समय बढाउन सकिदैन,’ उनि भन्छन्, ‘हामीले पोखरा पुग्ने पर्यटकलाई कम्तीमा १ दिनको विभिन्न प्याकेज दिने उद्देश्यले केबुलबार बनाएका हौँ ।’

केबलकार साइडसिनका लागि बनाइएको बताउँदै कायस्थ सुविधा सम्पन्न क्याफे, स्काई साइक्लिङ लगायतका सुविधा थप गर्दै पर्यटकलाई राम्रो अनुभव दिने कम्पनीले योजना भएको बताउँछन् ।

हुन पनि केबलकारमा यात्रा गरेका चितवन घर भएका संगम रेग्मी आफूले केबुलकारबाट पहिलोपटक फेवाताललाई पूर्णआकारमा देखेको बताए ।

विदेशीले हिमाल चढिदिएर गुल्जार बनेको पोखरा सहरमा पछिल्लो समय पर्यटनको मेरुदण्ड नेपाली नागरिक बन्दै गएका छन् । कोरोना महामारीले विदेशी पर्यटकको संख्यामा गिरावट आउँदा पनि स्वदेशी पर्यटकले पोखरा धानेको होटल व्यवसायी श्यामहरि धिताल बताउँछन् ।

स्वदेशी लगानीकर्ता र विभिन्न संघ संस्थाले पर्यटकीय गन्तव्य विकास गर्दै पर्यटनबाटै दीर्घकालीन लाभ लिने योजना बनाउँदै पोखरामा बढाएको लगानीले प्रतिफल कसरी दिन्छ त्यो त समयले देखाउला ।

तर, पोखराको पर्यटन गन्तव्य र सेवा विविधिकरणतर्फ केन्द्रित हुँदै विभिन्न यात्रुलाई फरक फरक किसिमको सेवा दिनेतर्फ केन्द्रित छ । यसले पर्यटन विकासमा सकारात्मक योगदान दिने अपेक्षा गर्न सकिन्छ ।


शरद ओझा