बैंकको तरलता अभावले घरजग्गाको मूल्य स्थिर, समाधान नभए घट्न सक्छ



काठमाडौं । अहिले बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) अभाव छ । उच्च आयातका कारण शोधानान्तर स्थिति खस्किँदै गएको छ । हाल हरेक बैंकले लगानीयोग्य पुँजी दिनसक्ने क्षमता छैन । जसले गर्दा बैंकमा ऋणको माग उच्च छ भने कर्जा प्रवाह निकै न्यून छ ।

बैंकहरूको सबैभन्दा बढी कर्जा प्रवाह हुने क्षेत्र हो घरजग्ग्गा । विश्वव्यापीरुपमा कोरोना भाइरस महामारीका कारण अधिकांश व्यापार व्यवसाय चौपट भएको अवस्था शेयर मार्केट र घरजग्गा कारोबारमा भने उछाल आएको छ ।

नेपालमा पनि कोरोना भाइरस महामारीकै समयमा घरजग्गा र शेयर बजारमा निकै उछाल आएको छ । कोभिडभन्दा अगाडि सामान्य अवस्थामा मासिक ६० हजारको हाराहारीमा घरजग्गाको कारोबार हुँदै आएकोमा कोभिडपश्चात भने मासिक ७० हजार बढी घरजग्गाको किनबेच हुँदै आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले कोभिडपश्चात घरजग्गा कारोबारमा उछाल आएको स्पष्ट देखाउँदछ । करिब २ वर्ष अगाडि कोभिडका कारण अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थामा घरजग्गा कारोबार उच्च भएको थियो ।

हालसम्म पनि सो क्रम जारी नै छ । घरजग्गा व्यवसायीहरूका अनुसार कोभिडले गर्दा अधिकांश व्यापार व्यवसायीलाई आकर्षण गर्ने क्षेत्र रियल स्टेट बनेको बताउँछन् । अन्य व्यवसायको तुलनामा कम रिस्क र धेरै फाइदा लिनसक्ने घरजग्गा कारोबारले गर्दा मूल्य निकै वृद्धि भएको उनीहरूको बुझाइ छ ।

कोभिडपश्चात वृद्धि भएको घरजग्गा कारोबारमा तरलता अभावले भने केही असर पु¥याएको छ । मासिकरुपमा ७० हजारको हाराहारीमा घरजग्गाको किनबेच हुँदै आएकोमा माघ महिनामा भने १० हजार कमी घरजग्गा किनबेच भएको छ ।

कात्तिकबाट केही मात्रामा देखिएको तरलता अभाव माघ महिनामा आइपुग्दा निकै चर्किएको छ । हालसम्म पनि तरलता अभावको समस्या कहिले समाधान हुन्छ भन्ने यकिन छैन ।

त्यस्तै, सबैभन्दा बढी बैंकहरूबाट बर्जा प्रवाह हुने घरजग्गामा माघ महिना तरलता अभावको ठूलो प्रभाव परेको छ । तरलता अभावले गर्दा बजारमा घरजग्गा कारोबार घटेको छ भने खरिद गर्ने मानिसको संख्या कम भएको व्यवसायीहरूको भनाइ छ ।

नेपाल रियलस्टेट सोलुशन प्रालिका सञ्चालक गोपाल बारुडीले तरलता अभावले गत मंसिर घरजग्गा कारोबार सुस्ताएको बताए । उनकाअनुसार मंसिर र पुसमा केही मात्रामा घरजग्गा कारोबार भएपनि माघमा भने ह्वात्तै घटेको छ ।

‘अहिलेको अवस्थामा तरलता अभावले गर्दा घरजग्गा किनबेच कम हुँदै गएको छ,’ उनले भने, ‘घरजग्गा किनबेच कम भएपनि मूल्य भने घट्न सकेको छैन ।’

सामान्यतया कुनै पनि घरजग्गाको मूल्य बिक्री गर्दा कुनै हालतमा मूल्य घट्दैन । तर, बैंकहरूले कर्जा प्रवाह नगरेको अवस्थामा रकम चाहिने केही व्यक्तिले मात्रै नाफा कम राखेर बिक्री गर्न सक्छन् ।

‘कोभिडको समयमा बैंकले धान्न नसक्ने गरेर घरजग्गामा लगानी गर्नका लागि कर्जा प्रवाह भयो, जसले गर्दा घरजग्गाको मूल्य दोब्बरसम्म बढ्यो,’ उनले भने ।

उनले मंसिरभन्दा अगाडि मासिक ३० देखि ३५ वटा घरजग्गा बिक्री गर्दै आएका थिए । तर, माघ महिनामा उनले ५/६ वटामात्रै बिक्री गरेको उनले बताए । माघ महिनामा घरजग्गा कारोबारमा ६५ प्रतिशतले घटेको उनको भनाइ छ ।

नेपाल प्रोपोर्टी मार्केटको सञ्चालक अमोल प्रधानले तरलताले गर्दा घरजग्गा किनबेचको अवस्था स्थिर रहेको बताए । उनकाअनुसार व्यवसायीको हकमा घरजग्गा खरिद गरी बिक्रीका लागि राख्ने क्रम घट्नसक्छ ।

तर, कुनै पनि सामान्य व्यक्तिले घरजग्गा खरिद गर्न १०औं वर्ष मेहनत गरेको हुनाले घरजग्गा किन्नका लागि तरलता अभाव देखिँदैन ।

‘हाल कुनै पनि बैंकले सहजै कर्जा प्रवाह गर्न सकेको छैन । सो अवधिमा धेरथोर घरजग्गा कारोबार भएको छ,’ उनले भने ।

प्रोपर्टी ३६० नेपालका सिईओ सन्तोष प्रधानले पुस मसान्तमा तरलताका ठूलो क्रन्च भएकाले माघमा कारोबार घटेको बताए । उनकाअनुसार अहिले अवस्थामा तरलताको अभाव छिट्टै समाधान हुन सुक्ने अवस्था छैन । त्यसैले, आगामी चुनावपश्चात मात्रै कारोबारमा सुधार आउनेछ ।

‘बजारमा चरम तरलताको अभाव छ,’ उनले भने, ‘सो अवधिमा घरजग्गा कारोबारमा भने स्थिर रहेको छ ।’ साथै, अचाक्ली मूल्य बढ््दा कम कारोबार भएको उनको धारणा छ ।

बैंकहरूले समयमै बैंकले कर्जा प्रवाह गर्न नसकेको अवस्थामा घरजग्गा किनबेच भएको देखिन्छ । तर, बैंकले सहजै कर्जा प्रवाह भए झन बढ्न सक्ने उनीहरूको भनाइ छ ।

स्मार्ट दि स्टेटका सञ्चालक रोसन घिमिरेले तरलता अभावकै कारणले गर्दा घरजग्गा मन्दी आएको बताए । उनले दशैतिहारपश्चात ५० प्रतिशतले घरजग्गा किनबेच कम भएको जानकारी दिए ।

हाल तरलता अभावले बैंकहरूले ऋण दिन नसक्दा धेरै घरजग्गा किनबेच गर्न नसकेको अवस्था आएको इप्रोपर्टीका अध्यक्ष सन्दिप अधिकारी बताउँछन् । गत मंसिरदेखि घरजग्गा किनबेचमा केही मन्दी देखिएको थियो । अहिले झन कम भएको उनको भनाइ छ ।

त्यसैगरी, चुनावले गर्दा पनि घरजग्गा किनबेचमा कम आएको छ । तर, चुनावपश्चात भने पुनः किनबेचमा उछाल आउन सक्छ ।

हाल बजारमा चरम तरलता अभाव हुँदा घरजग्गा मूल्यमा के हुन्छ भन्ने सबैको चासो छ । बजारमा चरम अभाव भएपनि घरजग्गा कारोबारमा कम आएपनि मूल्य भने नघट्ने व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूका अनुसार हालको अवस्थालाई मध्यनजर गर्दा घरजग्गाको मूल्य तत्कालै बढ्न सक्ने अवस्था छैन । यसले गर्दा केही महिनासम्म मूल्य स्थिर हुन सक्ने उनीहरूको भनाइ छ ।

व्यवसायीहरूले अचाक्ली रुपमा बढेको मूल्यले गर्दा पनि कम किनबेच भएको उल्लेख गरेका छन् ।

व्यवसायीहरूले घरजग्गा किनबेचसँगै बढेको मूल्यलाई कम गर्नका लागि अझै तरलता अभाव लम्बिनुपर्ने बताउँछन् ।

अहिले अप्रत्याशित रुपमा बढेको घरजग्गाको मूल्य कम गर्नका लागि तरलता अभाव २,३ वर्षसम्म चर्किनुपर्ने नेपाल रियलस्टेट सोलुशनका सञ्चालक बरुडी बताउँछन् । उक्त अवधिसम्म तरलता अभाव चर्किएमात्रै केही हदसम्म घरजग्गाको मूल्य घट्ने उनको दाबी छ ।

त्यस्तै, अन्य व्यवसायीहरूले पनि घरजग्गाको मूल्य घट्नका लागि लामो समयसम्म तरलता अभाव भएमात्रै सम्भव भएको बताउँछन् ।

घरजग्गाको मूल्यमा नेपाल धेरै अगाडि गइसकेको छ । समान्यभन्दा सामान्य व्यक्तिले डेढ करोड नभएसम्म घर बनाउनका लागि जग्गा खरिद गर्न सक्ने अवस्था छैन ।

त्यसैले, बैंकले सहजै कर्जा प्रवाह गर्दा घरजग्गा किनबेच बढ्नुका साथै मूल्य वृद्धि रोक्न नसक्ने व्यवसायीहरूको भनाइ छ ।


अरिष्मा मोक्तान