सरकारले झुक्यायो बीमा कम्पनी र जनताः कोरोना बीमाको अनुदान दिएन



काठमाडौं । गत आर्थिक वर्षको बजेटमा कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो ।

सर्वसाधारणलाई सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमाशुल्कमा नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने र राष्ट्रसेवक कर्मचारीको सामूहकि कोरोना बीमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

सोहीअनुसार बीमा कम्पनीहरूले आव २०७७/७८ को साउनदेखि बीमितबाट सर्वसाधारणको सामूहिक बीमा गर्दा ५० प्रतिशतमात्रै बीमाशुल्क लिएर कोरोना बीमालेख बिक्री गरे ।

तर, सरकारले अनुदानमार्फत् दिने भनेको रकम नै निकासा नगरेको बीमा कम्पनीहरुले बताएका छन् ।

कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार ६१ रुपैयाँ रुपैयाँ दिन बाँकी रहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘अनुदानमा गरेको कोरोना बीमाको रकम तत्काल सरकारले उपलब्ध गराउनु पर्छ,’ ती सीइओले क्लिकमाण्डूसँग भने, ‘प्रिमियम नै नतिरि कम्पनीहरुले कसरी भुक्तानी गर्ने ?’

उनका अनुसार सरकारले ४१ करोड ९५ लाख १४ हजार सात सय रुपैयाँ भने रकम उपलब्ध गराएको छ ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी भएका छन् । जसमा कोरोना बीमालेख अनुदान अन्र्तगत ९ लाख ५८ हजार १ सय ९८ वटा बीमालेख जारी भएका थिए ।

बीमा समितिले २०७७ वैशाखदेखि कोरोना बीमासम्बन्धी पोलिसी लागू गरेको थियो ।

कोरोना बीमामा करीब १५ अर्ब रुपैयाँको दाबी परेको छ । समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको हो ।

समितिको तथ्यांकअनुसार हालसम्म पुलमार्फत् ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।

समितिकाअनुसार १ लाख ५९ हजार २२५ वटा दाबीवापत सो रकमको माग दावी परेको हो ।

कम्पनीहरुले १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी एक अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् ।

कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु