नबिल र एनबी बैंकबीच सम्झौता सम्पन्न, प्राप्तिपछि यस्तो हुनेछ बैंकको आकार



काठमाडौं । नबिल बैैंकले नेपाल बंगलादेश (एनबि) बैंकलाई एक्विजेसन गर्ने भएको छ । यसका लागि बिहीबार साँझ साढे ६ बजे ललितपुरस्थित भिभान्ता होटलमा एमओयूमा हस्ताक्षर भएको हो । लामो समयको रस्साकस्सीपछि नबिल बैंकले एनबी बैंकलाई प्राप्तिका लागि सम्झौता भएको हो ।

प्राप्त जानकारी अनुसार एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरी प्राप्तिका लागि एमओयूमा हस्ताक्षर भएको हो । सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा १० प्रतिशत तलमाथि भएमा सोही स्वाप अनुपातमा कायम गर्ने सहमति भएको छ ।

एनबी बैंकमा भएको आफ्नो सेयर बिक्री गर्नका लागि बंगलादेशको आइएफआइसी बैंकले केही महिना अघिदेखि प्रक्रिया शुरु गरेको थियो । बैंकको सेयर खरिदका लागि पछिल्लो समय सनराइज बैंकका अध्यक्ष मोती दुगड र बिनोद चौधरीबीच रस्साकस्सी जारी थियो । यो विषय हाल अदालतसम्म पुगेको छ ।

नबिल बैंकले एनबिलाई प्राप्ति गरेपछि बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) को हुने भन्ने टुंगो लाग्न बाँकी छ । यस्तै दुबै बैंकले कर्मचारीको व्यवस्थापन पनि कसरी गर्छन भन्ने टुंगो लगाउन बाँकी छ ।

राष्ट्र बैंकले लामो समयदेखि वाणिज्य बैंकको संख्या घटाउने नीति अंगिकार गर्दै आएको छ । जसमा डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदा ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्ज भइसकेको छ ।

पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया अगाडि बढेको छ ।

अहिले अधिकांश बैंकहरुले आफ्नो वार्षिक साधारणसभामा मर्जर तथा प्राप्तिमा जाने प्रस्ताव लगेका छन् । साधारणसभा सकेका बैंकको मर्जर तथा प्राप्तिमा जाने प्रस्ताव पारित समेत भइसकेको छ ।

केही वर्ष अघिसम्म बैंकहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब पुर्याउँदा कसरी उक्त पुँजी पुर्याउने भन्दै बैंकहरुले हकप्रद सेयरलाई समेत हतियार बनाएका थिए । तर अहिले बैंकको पुँजी ८ अर्ब नभएर मिसन ३० अर्बतर्फ केन्द्रित बनेको छ ।

अब सीमित बैंकको मात्रै पुँजी ८ अर्ब रुपैयाँ छ । साथै, अधिकांश बैंकको पुँजी १० वा ११ अर्बभन्दा माथि पुगेको छ । बैंकहरुले पुँजी बढाउन चासो देखाएपनि जगेडा कोषमा धेरै जोड दिन सकेका छैनन् ।

प्राप्तिपछि यस्तो हुनेछ बैंकको आकार

चुक्तापुँजी
प्राप्तिपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ । हाल नबिल बैंकको १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ भने नेपाल बंगलादेश बैंकको ९ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी छ । नबिल बैंकले सेयरधनीका लागि ३३.६ प्रतिशत बोनस सेयरको घोषणा गरिसकेको छ भने बंगलादेश बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । दुबै बैंकको बोनस सेयरपछि चुक्ता पुँजी करिब २२ अर्ब ८३ करोड पुग्नेछ ।

निक्षेप र कर्जा
प्राप्तिपछि बैंकको निक्षेप ३ खर्ब ९ अर्ब रुपैयाँ बढी पुग्नेछ भने कर्जा २ खर्ब ८८ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपछि दुवै बैंकको नाफा २ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

नाफा
कात्तिकसम्म नबिल बैंकको नाफा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने बंगलादेश बैंकको ५३ करोड रुपैयाँ रहेको छ ।

कर्मचारी
दुबै बैंकको नाफा कात्तिकसम्म २ अर्ब ८ करोड रुपैयाँ भन्दा बढी रहेको छ । बंगलादेश बैंकको कर्मचारी ९६८ जना रहेका छन् भने नबिल बैंकको कर्मचारी १२७१ जना रहेका छन् । प्राप्तिपछि बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २२ सय ३९ जना पुग्नेछ ।

शाखा कार्यालय
नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । प्राप्तिपछि कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।


क्लिकमान्डु