स्टार्टअपमा लगानी गर्नुअघि के कुरामा ध्यान दिने ? भारतीय अर्बपति नारायण मूर्तिको सुझाव



भारतमा ४० वर्ष पहिले आइटी कम्पनी इन्फोसि स्थापना गर्ने एनआर नारायण मूर्ति अब उद्यमी तयार पार्ने रणनीतिका साथ लागेका छन् ।

आफ्नो सादगी, दुरदृष्टि तथा नैतिक मूल्यका लागि परिचित नारायण मूर्तिसँग भारतीय सञ्चारमाध्यमले स्टार्टअप कम्पनीमा लगानीका सम्बन्धमा कुराकानी गरेको छ । जसमा नारायणसँग कुनै पनि स्टार्टअप आइडियामा लगानी गर्नुभन्दा अघि के कस्ता कुरामा ध्यान दिन्छन् भन्ने विषयमा पनि छलफल गरिएको छ ।

नारायण मूर्ति राम्रो र आकर्षक तलब प्राप्त हुने जागिरकै कारण गरिबी हट्नेमा विश्वास गर्छन् । जागिर उद्यमशिलताले सिर्जना गर्ने उनको तर्क छ ।

सरकारको जिम्मेवारी जागिर दिने भन्दा पनि उद्यमशिलताको विकासका लािग वातावरण सिर्जना गर्नु हो । जसले गर्दा धेरैभन्दा धेरै जागिर सिर्जना हुन सकोस् भन्ने उनको चाहना छ ।

उनका अनुसार सबै क्षेत्रमा ठूला अवसरहरु छन् । जसमा शिक्षा, स्वास्थ्य, कृषि, म्यानुफ्याक्चर, रिटेल, इन्स्योरेन्स, हाउजिङ, ट्राभल, हस्पिटालिटीदेखि न्यूट्रिसन फूडमा पनि धेरै अवसरहरु छन् । यी जुनसुकै क्षेत्रमा पनि स्टार्टअफ सफल हुन सक्ने उनको विश्वास छ ।

नारायण पुँजीवादमा विश्वास गर्ने व्यवसायी हुन् । उनी भनछन्, ‘मैले आजसम्म एउटा पनि यस्तो देश देखेको छैन, जसले पुँजीवादको कुनै पनि एक स्वरुप नअपनाएर नै गरिबी हटाएको होस् । अमेरिकाले फेयर क्यापिटालिजमलाई अपनाएको छ भने चीनले पनि सरकारको अग्रसरता भएको पुँजीवाद अपनाएको छ । सिंगापुर पनि यसको ठूलो उदाहरण हो ।’

उनका अनुसार मस्तिष्कमा पुँजीवाद र मनमा उदारता हुनु नै उदार पुँजीवाद हो । यसको अर्थ कुनै पनि कम्पनीका नेतृत्वकर्ताले आफूले नाफा लिनु अघि कम्पनी वा कम्पपनीको तल्लो तहमा कार्यरत कर्मचारीहरुले उचित पारिश्रमिक पाएका छन् वा छैनन जानकारी लिनुपर्छ ।

उनले आफूले लगानी गर्नुअघि उक्त स्टार्टअपका विषयमा विभिन्न ६ वटा विषयमा ध्यान दिने बताए ।

१) के उक्त आइडियालाई सामान्य भाषामा व्याख्या गर्न सकिन्छ ? यदि सकिन्छ भने त्यसले ग्राहक, टीम तथा लगानीकर्ताले सामान्य भाषामै बुझ्न सक्छन् ।

२) आइडिया बजारमा पहिले नै भएका व्यवसायभन्दा कति फरक र राम्रो छ ?

३) के मार्केट टेस्टिङ एक्सरसाइज भइसकेको छ ? यदि भइसकेको छ भने कति सफल भयो ?

४) के सम्बन्धित उद्यमिले आइडियाको मूल्यांकन गरिसकेको छ त ?

५) के उक्त आइडियामा काम गर्नका लागि एक मिहेनती तथा सक्षम टीम छ त ?

६) के लिडर–टीममा इमान्दारिता, नविनतम सोच, अनुशासन तथा लामो समयसम्म धैर्य गर्न सक्ने क्षमता छ ?


क्लिकमान्डु