कसरी पास गर्ने लोकसेवा आयोगको परीक्षा ? अर्थसचिव मरासिनीको टिप्स



काठमाडौं । लोकसेवा आयोगको परीक्षा पास गरेर सरकारी जागिर बन्ने आकांक्षा लाखौंलाई हुन्छ । तलबभत्ता सामान्य भएपनि सरकारी जागिर खाएपछि जीवन सुरक्षित भएको महशुस हुने भएकाले लाखौं युवाको सपना हुनु स्वाभाविक हो ।

सरकारले वर्षेनि हजारौंको संख्यामा जागिर खुलाउँछ । जसमा लाखौंले आवेदन दिएका दिन्छन् । तर, लोकसेवा पास गर्न निकै मुस्किल हुन्छ । किनभने, यसको एउटा फर्म्याटमात्रै हुँदैन, परीक्षा दिने विद्यार्थीले सटिक मालिकता पनि प्रस्तुत गर्नुपर्ने हुन्छ ।

अर्थसचिव मधु मरासिनी कर्मचारीतन्त्रका स्मार्ट व्यक्ति मानिन्छन् । मरासिनी लोकसेवा आयोगको उत्तरपुस्तिका जाँचक पनि हुन् ।

उनलाई हामीले सोधेका थियौं । लोकसेवाको परीक्षा कसरी पास गर्ने ? तपाईंले कसरी पास गर्नुभयो ? र, कपी काट्दा वा अन्तर्वार्ता लिँदा केलाई प्राथमिकता दिनुहुन्छ ? भनेर सोधेका थियौं ।

सचिव मरासिनीको भनाइ जस्ताको त्यस्तैः

लोकसेवाको परीक्षा पास गर्ने हो भने तपाई आउटस्ट्याण्डिङ र एक्स्ट्रा अर्डिनरी हुनुपर्छ । त्यो कसरी हुनसक्छ भनेर तपाईंले योजना बनाउनुपर्छ । भन्न खोजेको के हो भने सबै जाँच दिने मान्छेहरु अर्डिनरी हुन्छन् । तपाईं पास गर्ने हो भने एक्स्ट्रा अर्डिनरी हुनुपर्छ । तपाईं एक्स्ट्रा कसरी हुन सक्नुहुन्छ भन्दा अरुले भन्दा तपाईंले एक्स्ट्रा मिहेनत गर्नुपर्छ । एक्स्ट्रा लिट्रेचरहरु पढ्ने र अरुले भन्दा एक्स्ट्रा कमिटमेन्टहरु गर्ने ।

तपाईं आउटस्ट्याण्डिङ र एक्स्ट्रा अर्डिनरी हुनुभयो भने पास हुनुहुन्छ । घरपरिवारको दवाव छ जाँच दिने हो, अरुले जागिर खाए म पनि खाने हो भनेर लाग्नु भयो भने तपाईं पास हुनुहुन्न ।

राम्रो जागिर खान खोज्ने तर मिहेनत चाहीँ एक्स्ट्रा नगर्ने हो भने त काम छैन । निन्द्रा लाग्यो भने ९ बजे नै सुत्ने र एक खाले स्रोतको सूचनामा मात्रै भर परेर हुँदैन । तपाईंका आँखा, कान, मस्तिस्कलगायत हरेक चिजलाई खुल्ला राख्नुपर्छ ।

म बाटोमा हिँड्दा पनि, ट्वाइलेट जाँदा पनि पढिरहेको हुन्थेँ । कति रात नसुती पढियो ।

तपाईंले लोकसेवाको परीक्षा पास गर्ने कि नगर्ने भन्ने कुरा तपाईंको कमिटमेन्टमा भर पर्छ ।

मान्छेहरु किताब मात्रै फोकस गर्ने, नाटमात्रै लेख्ने गर्छन्, त्यो गलत हो । तपाईंले आफ्नो व्यक्त गर्ने क्षमतालाई पनि एक्स्ट्रा बनाउनुपर्छ । किताबमा पढेको कुरा त सबैले लेख्छ । त्यही भएर त तपाईंचाहीँ एक्स्ट्रा हुनुपर्छ भनेको हो नि । केही मौलिकता हुनुपर्यो । तपाईंको एक्सप्रेशन अब्बल बन्नका लागि तपाईंको ज्ञानको दायरा पनि किताबमात्रै सीमित हुनु भएन ।

कतिपय विद्यार्थीले आफूले अलिकति जानेको छ भने लामो उत्तर दिने गर्छन् । लामो उत्तर दिँदैमा धेरै नम्बर आउने होइन । तपाईंले जति टु दि प्वाइन्ट जवाफ दिनुहुन्छ त्यति राम्रो मानिन्छ ।

एउटा प्रश्नमा ४ वटा खण्ड हुन्छ । उत्तरमा तपाईंले ४ वटा खण्डलाई विशेष ध्यान दिनुपर्छ ।

तपाईंको बुझाइ, प्रस्तुतु, विश्लेषण, समस्या र ती समस्या समाधानका उपायको खण्ड हुन्छ । उत्तरपुस्तिका जाँच्ने मान्छेले यी ४ कुरालाई हेर्छ ।

म कहिलेकाहीँ कापी जाँच्छु । कसैको बुझाइको स्तर पुग्दैन, कसैको विश्लेषण भद्दा हुन्छ, कसैकले समस्यामात्रै देखाउँछन्, कसैले समाधानका उपयुक्त उपायहरु उल्लेख गर्न सकेकै हुँदैनन् ।

धेरै विद्यार्थीहरु अत्तालिएको महशुस हुन्छ । म के सुझाव दिन चाहन्छु भने तपाईं लोकसेवाको परीक्षा दिँदै हुनुहुन्छ भने विल्कुलै नअत्तालिनुस् । आरामले उत्तर लेख्नुहोस् ।

अन्तर्वार्ताको सबैभन्दा ठूलो कुरा भनेको कन्फिडेन्स हो । अन्तर्वार्तामा तपाईले हरेक प्रश्नको उत्तर जान्नैपर्छ भन्ने छैन । नजानेको कुरा पनि तपाईंले कन्फिडेन्सका साथ व्यक्त गर्न सक्नुपर्छ । अर्थात् जान्दिन भन्ने कुरा पनि सहजरुपमा व्यक्र गर्नुपर्छ ।


क्लिकमान्डु