राष्ट्र बैंकले आयात कडाइ गरेका २० वस्तुः ४ महिनामा ६४ अर्बभन्दा बढी आयात



काठमाडौं । बढ्दो आयातको कारण विदेशी सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले २० वस्तुमा आयात कडाइ गरेको छ । सोमबार परिपत्र जारी गर्दै ती वस्तुमा सतप्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने दिर्नेशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन र अन्य दुई वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

साथै, गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ । कात्तिक महिनासम्म उच्च आयातले गर्दा १ खर्ब ५० अर्ब शोधानान्तर घाटा भएको छ । यस्तै ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्ने विदेशी सन्चिती रहेको छ ।

राष्ट्र बैंकले कडाई गरेको २० वस्तु ४ महिनामा मात्रै ६४ अर्बभन्दा बढीको आयात भएको छ । नेपालले ४ महिनाको अवधिमा ६४ अर्ब १६ करोड ६९ लाख रुपैयाँ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । साथै, उक्त आयातित वस्तुबाट नेपालले ४७ अर्ब २८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

राष्ट्र बैंकले कडाई गरेको ल्वाङ चार महिनाको अवधिमा २ करोड ७ लाख रुपैयाँको ३३ हजार ६४७ केजी आयात भएको छ । त्यस्तै, ३ अर्ब ७८ करोड ५६ लाखको चिनीलगायत सख्खर, १ अर्ब ८ करोड ३९ लाखको वाइन, ह्वीस्की र मिनिरल वाटर, ८५ करोड ७ लाखको सुर्ती तथा चुरोट, १२ करोड ५६ लाखको पफ्र्युम र ट्वाइलेट वाटर र १ अर्ब ८९ करोड २२ लाखको सौन्दर्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, १ अर्ब ३७ करोड ९१ लाख रुपैयाँको कपालमा प्रयोग हुने क्रिम तथा स्याम्फु, २ अर्ब ७९ करोडका काठलगायत यससम्बन्धी सामग्री, २ अर्ब ८० करोडका जुत्ता तथा जुत्ता बनाउने सामग्री आयात भएका छन् ।

त्यसैगरी, ६२ करोड १९ लाखको टोपीलगायत टाउको ढाक्न प्रयोग हुने विभिन्न वस्तु, ३ करोड ५४ लाखको छाता र छडी, ९ करोड १० लाखको आइब्रो तथा नक्कली कपालका वस्तु आयात भएका छन् ।

त्यस्तै, २ अर्ब ८८ करोड ५७ लाखको मार्बल, माइलस्टोन्स र घर बनाउनका आवश्यक ब्लक, ५ अर्ब ७६ करोड ९४ लाखको इँटा, ब्लक, सेरामिक वस्तु, १ अर्ब २३ करोड ९१ लाखको बोतल, १४ अर्ब २८ करोड ७३ लाखको चाँदी तथा चाँदीका धुलो आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ११ अर्ब ६ करोड ९६ लाखको सवारीसाधन (विद्युतीयबाहेक), १२ अर्ब ३४ करोड ५० लाखको मोटरसाइकल, ९४ करोड ५५ लाखको फर्निचरलगायतका सामान र १३ करोड ७२ लाख रुपैयाँको तास आयात भएको छ ।


अरिष्मा मोक्तान