गभर्नरले ‘ग्रीन सिग्नल’ दिएपछि ब्याजदर बढाउन बैंकर्स संघको पूर्णबैठक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई निक्षेपमा ब्याजदर बढाउन ‘ग्रीन सिग्नल’ दिएपछि नेपाल बैंकर्स संघले ब्याज बढाउनको लागि पूर्णबैठक बोलाएको छ ।

संघले महत्वपूर्ण नीतिगत व्यवस्था गर्नका लागि २७ वटा बैंकका सीइओको बैठक बोलाउने गर्छ । मंसिर २४ गते शुक्रबार संघले पूर्णबैठक बोलाएको हो ।

समसामयिक विषयमा छलफल गर्न भनेर बोलाइए पनि अध्यक्षले नै ब्याजदर बढाउने प्रस्ताव गर्ने तयारी गरिरहेको बैंकरहरु बताउँछन् ।

‘पुस महिनाका लागि मंसिर मसान्तमै ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ, भोलिको छलफल बढेको ब्याजदर प्रकाशित गर्ने विषयमा केन्द्रित हुनेछ,’ बैंकर्स संघका एक पदाधिकारीले भने ।

केही दिनअघि बैंकर्स संघको कार्यसमिति र राष्ट्र बैंकका अधिकारीहरुबीच पनि यस विषयमा छलफल भएको थियो । छलफलमा राष्ट्र बैंकले ब्याज बढाउन ग्रिन सिग्नल दिएको थियो । त्यसपछि संघले ब्याजदर बढाउनका लागि पूर्णबैठक बोलाएको हो ।

संघले महत्वपूर्ण विषयमा छलफल र निर्णय गर्न पूर्णबैठक बोलाउने गरेको छ ।

बिहीबार अर्थसमितिको बैठकमा गभर्नर अधिकारीले पुसदेखि ब्याजदर बढ्नसक्ने बताएका छन् ।

राष्ट्र बैंकले अत्याधिक ब्याजदर बढाउन बैंक तथा वित्तीय संस्थालाई रोकेको थियो । १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाइने भएपनि गभर्नर अधिकारी निक्षेपको ब्याजदर बढ्ने बताएका हुन् ।

यसअघि मंसिर महिनाका लागि ब्याजदर निर्धारण गर्दा कृषि विकास बैंकका सीइओ समेत रहेका संघका अध्यक्ष अनिल उपाध्यायले ब्याजदर बढाउनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् ।

अधिकांश बैंकरहरु ब्याजदर बढाउनु हुँदैन भन्ने पक्षमा छन् । ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने भन्दै कुनैपनि हालतमा ब्याजदर बढाउनु नहुने अधिकांश बैंकरहरुको मत छ । तर, संघका अध्यक्ष उपाध्यायसहित केही बैंकर ब्याजदर बढाउनु पर्ने पक्षमा छन् ।

‘बहुमत सीइओहरुको राय ब्याजदर बढाउनु हुँदैन भन्नेछ,’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘ब्याजदर बढाउँदैमा नयाँ निक्षेप थपिने होइन, कर्जाको ब्याजदर पनि उच्च हुने हुँदा ऋणीहरु अन्यायमा पर्छन् भने आमस र्वसाधारण महंगीको मारमा पर्छन्, बैंकरहरुले यसबारेमा गंभीर भएर सोच्नै पर्छ ।’

अर्का एक बैंकरले संघका अध्यक्ष उपाध्यायले कसको कुरा सुनेर ब्याजदर बढाउने पक्षमा वकालत गरेको भनेर आफूले बुझ्न नसकेको टिप्पणी गरे ।

‘अधिकांश सीइओहरुको राय ब्याजदर बढाउनु हुँदैन भन्ने हुँदाहुँदै अध्यक्षजीले के का आधारमा ब्याजदर बढाउनुपर्छ भनेर वकालत गर्दै हिडिरहनु भएको छ बुझ्न सकिएन,’ ती बैंकरले भने ।

यो ब्याजदर बढाउने समय नभएको बैंकरहरुको बुझाइ मात्रै छैन, अडान पनि छ ।

तर, निक्षेपको ब्याजदर बढ्न नदिँदा ठीकठीकै दरमा कर्जा पाउँदा कर्जाको माग अत्याधिक भएको निष्कर्श निकाल्दै राष्ट्र बैंकका गभर्नरले नै ब्याजदर बढाउन ग्रिनसिग्नल दिएका हुन् ।

कर्जाको ब्याजदर महंगो भएको खण्डमा कर्जाको माग कम हुने र त्यसले तरलता पनि केही सहज बनाउने गभर्नरलगायत राष्ट्र बैंकका अधिकारीहरुको निचोड छ । सस्तो दरमै कर्जा पाउँदा अनावश्यक क्षेत्रमा कर्जा जाने जोखिम रहेको र त्यसले अर्थतन्त्रमै गंभीर संकट सिर्जना गर्नसक्ने आँकलन गर्दै अहिले राष्ट्र बैंकले नै ब्याजदर बढाउनका लागि बैंकरहरुलाई भित्रभित्रै प्रोत्साहन गरिरहेको छ ।

बैंकहरुले मंसिर महिनाका लागि एक वर्षको मुद्दति निक्षेपका लागि १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए ।

पुस महिनामा राजस्व तिर्नका लागि समेत पैसा खर्च हुने भएकोले बैंक तथा वित्तीय संस्थामा थप तरलता अभाव हुने देखिएको छ । अहिले नै एक बैंकको निक्षेप अर्को बैंकले चर्को ब्याजदर दिएर खोसेको भन्दै उजुरी पर्न थालेका छन् ।

अहिले बैंकहरुको औषत सीडी रेसियो ९१ प्रतिशत भने धेरै बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । राष्ट्र बैंकको नियमअनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ । जसकारण बैंकहरुले भित्रभित्रै बढी ब्याज दिएर निक्षेप खोसाखोस गरिरहेको आरोप खेपिरहेका छन् ।


क्लिकमान्डु