कोरोनापछि हवाई उडानमा यात्रुको आकर्षण, कोरोना अघिको तुलनामा दैनिक दोब्बर यात्रु बोक्दै विमान



काठमाडौं । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो । अधिकांश उद्योग पूर्णरुपमा बन्द भए भने आर्थिक गतिविधि ठप्प भयो ।

कैयनले रोजगारी गुमाए भने व्यवसाय फेरि शुरु नहुने गरी बन्द गर्नेको संख्या पनि ठूलो छ । नेपाल राष्ट्र बैंकका कात्तिक मसान्तसम्म कोरोनाका कारण प्रभावितमध्ये हालसम्म ८७.२ प्रतिशत मात्रै व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

अझैं केही उद्योगहरु सञ्चालन हुन सकेका छैनन भने सञ्चालनमा आएका उद्योगहरुले पनि रिभाइभको चरण पार गर्न सकेका छैनन् । तर कोरोना महामारीका कारण १५ महिनामा ८ महिना पूर्णरुपमा बन्द भएको आन्तरिक हवाई उडानले पूर्णरुपमा रिभाइभ गरिसकेको अवस्था छ ।

आन्तरिक उडानतर्फ करिब ५७ प्रतिशत बजार हिस्सा ओगटेको बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले आन्तरिक हवाई क्षेत्रले रिभाइभको चरण पार गरिसकेको बताउँछन् ।

हिजोका दिनमा आन्तरिक हवाई उडानको हकमा सबै विमान कम्पनीहरुले ६ हजारदेखि ८ हजार यात्रुलाई सेवा दिइरहेका थिए भने आजका दिनमा १४ हजारदेखि १५ हजार यात्रुले एकै दिन सेवा पाउने अवस्था आएको छ । विदेशी पर्यटक नहुँदा पनि यो अवस्था आउनु भनेको यो क्षेत्रका लागि निकै राम्रो अवसर भएको बस्नेतको भनाइ छ ।

‘अहिले व्यवसायले गति लिइसकेको छ, हामीले रिभाइभको चरण पार गरिसकेका छौं,’ बस्नेतले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार बुध्द एयरले कोरोना महामारी शुरु हुनुभन्दा अघि दैनिक औषतमा क४५ सयदेखि ५ हजार यात्रुलाई सेवा प्रवाह गर्दथ्यो । जसमध्ये एक तिहाई विदेशी यात्रु हुन्थे । विदेशी यात्रुले नेपाली यात्रुको तुलनामा महंगो दरको टिकटमा यात्रा गर्दथे ।

‘केही वर्षअघिसम्म विदेशी यात्रुकै भरपर्दै आए पनि अहिले आन्तरिक उडानमा त्यो समस्या छैन । हिजोका दिनमा आम्दानीको स्रोतमा विदेशी यात्रु पनि पर्दथे भने आजका दिनमा आइपुग्दा अब त्यो हाम्रा लागि बोनस हुनेछ,’ उनले भने ।

कोरोना महामारीका कारण ८ महिनासम्म ठप्प भएपछि बुध्द एयरले आक्रामक व्यवसायको रणनीति लिएको देखिन्छ । जसअनुसार बुध्द एयरले गन्तव्य र उडान संख्या मात्रै थप गरेन बुध्द एयरले दैनिक ८ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यो संख्या कोरोना महामारी शुरु हुनुभन्दा अघिको भन्दा दोब्बर हो ।

प्रबन्ध निर्देशक बस्नेतका अनुसार बुध्द एयरको हकमा मात्रै कोरोना महामारीको समयमा १ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको थियो ।
‘कोरोना महामारीपछि हामीले ३ सयभन्दा बढी जनशक्ति थप गरिसकेका छौं । हामीहरु अझ प्रादेशिक तहमा आक्रामकरुपमा जाने भनिरहँदा अझै जनशक्तिहरु कम्पनीमा थपिन्छन्,’ उनले भने ।

बुध्द एयरले आक्रामक व्यवसायलाई निरन्तता दिँदै सन् २०२६ सम्ममा १० वटा ट्विनअटर विमान थप गर्ने योजना बनाएको छ । त्यसबाहेक केही समयपछि २ वटा एटीआर ७२ ५०० विमान पनि खरिद गर्नेछ । यस हिसाबले बुध्द एयरसँग १७ वटा एटीआर विमान हुनेछन् ।

‘यसको अर्थ अब बुध्द एयरले मात्रै वार्षिक ३५ लाख यात्रुलाई सेवा दिन सक्नेछ । हाल बुध्द एयरले वार्षिक २५ लाख यात्रुलाई सेवा दिइरहेको छ,’ उनले भने ।

यता यति एयरलाइन्सले पनि कोरोना महामारी अघिको तुलनामा दोब्बर संंख्यामा यात्रुलाई सेवा दिइरहेको छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कोरोना महामारीअघि दैनिक औसतमा १७ सयदेखि १८ सय यात्रुलाई सेवा दिइरहेकोमा हाल दैनिक ३ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको बताए ।

उनका अनुसार उडान संख्यामा उल्लेख्य वृद्धि भए नभएपनि यात्रुको संख्या दोब्बर भएको बताए । यति एयरलाइन्सले हाल ५ वटा एटीआर विमानमार्फत् सेवा दिइरहेको छ ।

त्यसैगरी श्री एयरलाइन्सले पनि हाल ३ देखि ४ वटा विमानमार्फत् दैनिक हवाई उडान गरिरहेको छ । श्री एयरलाइन्सले हाल विभिन्न गन्तव्यमा गरी दैनिक औसतमा ११ सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार कोरोना महामारीका कारण घाटा व्यहोरेपनि हाल पहिलेको भन्दा राम्रो अवस्थामा यात्रुलाई सेवा दिइरहेको बताए । उनले हाल दैनिक ९० भन्दा बढी अकुपेन्सीमा उडान भइरहेको जानकारी दिए ।

कोरोना महामारीपछि सेवा शुरुवात गरेको गुणा एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा हाल दैनिक २० वटा उडान गरिरहेको छ ।


कमलकुमार बस्नेत