चोरबाटोबाट कुलिङ पिरियडको व्यवस्था मिच्दा बीमा समिति रमिते



काठमाडौँ । बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई कम्पनीहरुले दुरुपयोग गरेका छन् ।

समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिकामा भएको व्यवस्थालाई दुरुपयोग गर्दै कम्पनीहरुले एउटा कम्पनीबाट राजीनामा स्वीकृत भएको भोलिपल्टै अर्को कम्पनीमा नियुक्त दिएका हुन् ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । बीमा बुझेका कर्मचारी अन्य कम्पनीले तान्ने प्रवृत्ति रहँदा कम्पनीहरुले तत्कालका लागि तल्लो तहमा नियुक्त गर्ने र कुलिङ पिरियड सकिएपछि माथिल्लो तहमा नियुक्त गर्ने गरेको पाइएको हो ।

बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागु हुने व्यवस्था छ । एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीइओ बन्न नपाउने व्यवस्था छ ।

कम्पनीहरुले उक्त व्यवस्थाको दुरुपयोग गर्दै तल्लो तहमा नियुक्त गर्ने र कुलिङ पिरियड सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने रणनीति लिएका हुन् ।

तर, कम्पनीहरुको त्यस्तो कामलाई भने नियामक निकाय बीमा समितिले सहज रुपमा लिएको पाइन्छ ।

निर्देशिकामा भएको व्यवस्था बमोजिम कम्पनीहरुले कर्मचारी नियुक्त गर्दा फरक नपर्ने समितिको तर्क छ ।

“हामीले जारी गरेको निर्देशिकाले कुनै एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत तत्काल अर्को कम्पनीमा सोही पदमा नियुक्त गर्न नपाउने व्यवस्था गरेको छ,” समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले क्लिकमाण्डूसँग भने ।

कुनै कम्पनीबाट सीइओ पदबाट बाहिरिएको व्यक्ति अन्य कुनै कम्पनीमा तल्लो पोष्टमा जानुलाई स्वभाविकरुपमा लिन सकिने उनको भनाइ छ ।

“समितिले सिईओको पदका लागि मात्रै कुलिङ पिरियड छ भन्छ,” उनले भने ।

कम्पनीहरुले एक तह घटाएर ६ महिनाको कुलिङ पिरियड सकिएपछि भने प्रमुख कार्यकारी अधिकृतमा नियुक्त दिने प्रवत्तिलाई रोक्न नसकेको सिलवालले बताए ।

“हाम्रोमा त्यस्तो प्रवृति छ, तर त्यसलाई हामीले रोक्न पनि सकेकोे छैनौ, हामी कहाँ बीमाका बारेमा बुझेका मान्छे पनि छैनन्” उनले भने, “एउटै मान्छेले रनिङ गर्ने हो । नयाँ मान्छेहरु आएका भए, बीमाका बारेमा बुझ्ने मान्छे आएका भए यस्तो हुँदैन थियो ।”

कुलिङ पिरियड नसकिँदै बिके महर्जनलाई नेपाल इन्स्योरेन्सले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाल इन्स्योरेन्सले कुलिङ पिरियड सकिए पछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नका लागि महर्जनलाई एक तह घटाएर डेपुटी सीइओ बनाई कामू सीइओको जिम्मेवारी दिएको हो ।

“कम्पनीहरुले बीमा कै मान्छे खोज्छन्, बीमा बुझेका मान्छेले कम्पनी छोडे पछि सिईओ बन्नका लागि ६ महिना खालि बस्नु पर्यो, सिईओ त बन्न पाएनन्, जस कारण डिसिईओमा झरे,” उनले भने ।

नियामक निकाय बीमा समितिद्धारा जारी कानूनले ६ महिनाको कुलिङ पिरियड तोके पनि महर्जन नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । कुलिङ पिरियड सकिए लगत्तै महर्जनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने गरि हालको लागि उनलाई उक्त पदको जिम्मेवारी दिइएको हो ।

महर्जन प्रुडेन्सियल इन्स्योरेन्सका सीइओ थिए । प्रुडेन्सियलबाट राजीनामा दिएको ६ महिना नपुग्दै नेपाल इन्स्योरेन्सले महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको हो ।


क्लिकमान्डु