राष्ट्र बैंकको हस्तक्षेपले एनआईसी एशिया र हिमालयन बढी समस्यामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा गरेको हस्तक्षेपले सबैभन्दा बढी समस्या एनआईसी एशिया बैंक र हिमालयन बैंकलाई पर्ने देखिएको छ । यसबाहेक लक्ष्मी,एनबी,सिभिल तथा एनसीसी बैंकलाई पनि राष्ट्र बैंकको निर्देशनले प्रभाव पर्ने छ ।

एनआईसी एशिया बैंकले १२५ प्रतिशतसम्म कात्तिकमा निक्षेपको ब्याजदर बढाएको थियो । असोज महिनाको तुलनामा एनआईसी एशिया बैंकले बचत खातामा असोज महिनामा ३.६० प्रतिशत ब्याजदर दिएको थियो ।

कात्तिक महिनामा बचतका केही खातामा ८.१० प्रतिशत र केहीमा ६.१० प्रतिशत ब्याजदर अफर गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार एनआईसी एशियाको बचतमा ४ प्रतिशतभन्दा बढी ब्याजदर हुने छैन । मुद्दतीमा ११.१० प्रतिशत अफर गरेकोमा ९.४६ प्रतिशत हुने छ ।

हिमालयन बैंकले संस्थागत मुद्दती निक्षेपमा ११.६७ प्रतिशत ब्याजदर दिने योजना ल्याएको थियो । मुद्दती निक्षेपमा १०.५० प्रतिशत ब्याजदर दिने योजना हिमालयन बैंकको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा बढी हुने छ । संस्थागत मुद्दती निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत तर्फ १ प्रतिशतबिन्दुले ब्याजदर बढी हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

हिमालयन बैंकले संस्थागतमा बोलकबोलमा सबैभन्दा बढी ११.६७ प्रतिशत ब्याजदर अफर गरेको छ । असोजको हिमालयन बैंकले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ८.५० प्रतिशत ब्याजदर दिएको थियो । यस हिसाबले हिमालयन बैंकले ९.३५ प्रतिशतमात्र ब्याजदर दिनसक्छ । संस्थागतमा १ प्रतिशत बिन्दुले कम दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हुँदा ८.३५ प्रतिशत ब्याजदर दिनसक्छ ।

व्यक्तिगततर्फ ११ प्रतिशतभन्दा बढी ब्याजदर अफर गर्नेमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकले ११.०५ प्रतिशत ब्याजदर अफर कात्तिकमा गरेको छ । असोज महिनामा मुद्दती निक्षेपमा ८.५ प्रतिशत ब्याजदर दिएको हुँदा लक्ष्मी बैंकले कात्तिकमा ९.३५ प्रतिशतमात्र ब्याजदर मुद्दती निक्षेपमा दिनसक्छ । राष्ट्र बैंकको नीतिको असर सिद्धार्थ बैंकलाई समेत पर्ने छ । सिद्धार्थ बैंकले १०.३ प्रतिशत ब्याजदर अफर गरेको थियो । असोज महिनामा ८.७५ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर दिएको हुँदा अब सिद्धार्थ बैंकले ९.६२ प्रतिशतमात्र ब्याजदर दिने छ ।

यस्तै एनबी बैंकले १०.२८ प्रतिशत एकवर्षको मुद्दती निक्षेपमा कात्तिकको लागि ब्याजदर अफर गरेको थियो । असोज महिनमा मुद्दती निक्षेपमा ८.७६ प्रतिशत ब्याजदर अफर गरेको हुँदा अब ९.६३ प्रतिशतमात्र ब्याजदर दिनसक्छ । यस्तै १० प्रतिशतभन्दा बढी ब्याजदर दिएको सिभिल बैंकले ८.८५ प्रतिशत ब्याजदर दिनसक्ने छ । राष्ट्र बैंकको निर्देशनले १ देखि ३ प्रतिशतबिन्दुले ब्याजदर घट्नेछ ।

राष्ट्र बैंकले दोहोरो अंकमा ब्याजदर जान नदिने नीति लिएको छ । राष्ट्र बैंकले दिएको नीति बुधबारदेखि नै कार्यान्वयन हुने हुँदा बैंक तथा वित्तीय संस्थाले पुनः ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु