सरकारले हटाए पनि बोर्डको अध्यक्ष अझै भिष्म ढुंगाना नै, चन्द्र ढकाल पनि सञ्चालक !



काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गर्यो ।

बुक बिडिङ विधिमार्फत् आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सर्बोत्तम सिमेन्टको सेयर किनबेच प्रकरणमा विवादमा मुछिएपछि सरकारले छानविन गरी दोषी ठहर गर्दै अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेको हो ।

ढुंगानाले अमेरिका बस्ने छोरी रेविका ढुंगानाको नाममा सर्बोत्तम सिमेन्टको १० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता २५० रुपैयाँका दरले किनेका थिए । आफैंले नियमन गर्ने संस्थाको सेयर आफ्नो परिवारका नाममा किन्दा ‘स्वार्थको द्धन्द्ध’ हुन्छ भन्ने मान्यतालाई ढुंगानाले लत्याएका थिए ।

यो विषय लगायत अन्य धेरै विषयमा पनि ढुंगाना विवादमा तानिएका थिए ।

सरकारले मंगलबार बर्खास्त गरेका ढुंगाना अझै पनि धितोपत्र बोर्डको अध्यक्ष पदमा बाहाल छन् भन्दा तपाईंलाई पत्यार नलाग्ला । तर, तपाईं पत्यार लाग्दैन भने स्वयं धितोपत्र बोर्डको आधिकारिक वेभसाइट https://www.sebon.gov.np/board-members हेर्नुहोस् । वेभसाइटमा अध्यक्ष भिष्मराज ढुंगाना नै भएको उल्लेख छ ।

सरकारले बर्खास्त गरिसकेपछि वेभसाइटबाट पनि अध्यक्षबाट हटाउनुपर्ने भए पनि बोर्ड प्रशासनले अझै ढुंगानाको नाम हटाएको छैन ।

त्यतिमात्रै होइन, बोर्डले नियमन गर्ने नेप्सेमा सूचिकृत २ वटा कम्पनीको अध्यक्ष र २ वटा कम्पनीको सञ्चालक रहेका व्यवसायी चन्द्र ढकालले पनि गत भदौ ९ गते बोर्डको सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए । स्वार्थको द्धन्द्ध हुने भन्दै मिडियाबाट आलोचना हुन थालेपछि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले नैतिकताका आधारमा राजीनामा दिएका थिए । ढकाल महासंघको प्रतिनिधिकारुपमा बोर्डमा सञ्चालक थिए ।

ढकालले राजीनामा दिएसँगै महासंघले बोर्डको सञ्चालकमा उपाध्यक्ष अञ्जन श्रेष्ठलाई सञ्चालक बनाएर पठाएको छ । श्रेष्ठ पनि बोर्डले नियमन गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनका सञ्चालक हुन् ।

तर, राजीनामा स्वीकृत भएको डेढ महिना पुग्नै लाग्दा पनि ढकालको नाम धितोपत्र बोर्डको वेभसाइटमा सञ्चालककै रुपमा छ ।

त्यस्तै, अर्थ मन्त्रालयले अहिले आफ्ना सहसचि समेत रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई धितोपत्र बोर्डको अध्यक्षका रुपमा पठाएको छ । तर, धितोपत्र बोर्डको वेभसाइटमा भने यसअघि अर्थ मन्त्रालयले पठाएका रामेश्वर दंगालकै नाम सञ्चालकका रुपमा वेभसाइटमा राखेको छ ।

यी माथिका ३ उदाहारणले ४० खर्ब बढी पुँजीकरण भएको पुँजी बजारको नियमन गर्ने संस्था धितोपत्र बोर्डको असली अवस्था कस्तो छ भनेर उदाङ्गो पार्छ । असक्षम नेतृत्वका कारण अहिले दर्जनौं कम्पनीका आइपीओ रोकिएका छन् । हुन त आफ्नै वेभसाइटमा सञ्चालक परिवर्तन भएको कुरा अपडेट गर्न नसक्ने धितोपत्र बोर्डबाट अरु धेरै अपेक्षा गर्नु पनि मुर्खता नै हो ।


क्लिकमान्डु