सेयर धितोमा साढे ८ हजारले लिए १ खर्ब ऋण , औषतमा साढे १२ करोडबढी



काठमाडौं । सेयर धितो राखेर कर्जा लिएका ऋणीले राष्ट्र बैंकले ताकेको सीमाभन्दा ६० लाख रुपैयाँ बढी लिएको पाइएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् एक बैंकबाट ४ करोड रुपैयाँसम्म र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँमात्र एकजना ऋणीले लिन पाउने व्यवस्था गरिसकेको छ । साथै, यसअघि नै सेयरधितोमा प्रवाहित कर्जालाई समेत १ वर्षभित्रमा तोकिएको सीमामा कर्जा ल्याउन राष्ट्र बैंकको निर्देशन दिइसकेको छ ।

तथ्यांक अनुसार गत असार मसान्तसम्म ८ हजार ५६४ जना ऋणीले सेयर धितो राखेर १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बढी बैंक तथा वित्त कम्पनीबाट सेयर धितोमा कर्जा लिएका छन् । गत असारमसान्तसम्म प्रवाहित सेयर धितोकर्जालाई प्रत्येक ऋणीलाई औषतमा १२ करोड ६० लाख रुपैयाँ पर्न आउँछ ।

जसअनुसार औषतमा १ जना ऋणीले बैंकिङ प्रणालीबाट सेयर धितोमा लिन पाउने १२ करोडको सीमामा ६० लाख रुपैयाँ बढी कर्जा लिएका हुन् ।

तर, राष्ट्र बैंकले तोकेको ४ करोडको सीमामा भने गत असार मसान्तसम्म ६३६ जना ऋणीले र १२ करोडको सीमाभन्दा बढी १ सय ६२ जना ऋणीले सेयर धितोमा कर्जा लिएका छन् ।

यसरी, सेयरधितो कर्जामा कर्जा लिने कुल ऋणीमा ७.४२ प्रतिशत ऋणीले सीमाभन्दा बढी कर्जा लिने गरेको तथ्यांकले देखाएको छ ।

यसरी सीमाभन्दा बढी कर्जा २३ अर्ब ६ करोड ६० लाख रुपैयाँ प्रवाह भएको हो । जसअनुसार गत असार मसान्तसम्म प्रवाहित १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ कर्जामध्येमा पनि सीमाभन्दा माथि २१.७० प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

यसैगरी, एक बैंकबाट एकजना ऋणीले ४ करोड रुपैयाँ बढी कर्जा लिन नपाउने सीमामा २३ अर्ब ६ करोड ६० लाख रुपैयाँ बढी कर्जा गएको छ । साथै, सो कर्जामा १२ करोड रुपैयाँभन्दा बढी १३ अर्ब ३८ करोड ७० लाख रुपैयाँ कर्जा १ सय ६२ जना ऋणीले लिएका छन् ।


क्लिकमान्डु