सीडी रेसियो गणनामा नयाँ व्यवस्था, बैंकहरुको कर्जा क्षमता १ खर्ब ६३ अर्ब



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो गणनाको नयाँ व्यवस्था लागू गरेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको संस्थाको कर्जा क्षमता साढे १ खर्ब रुपैयाँले बढेको छ ।

केन्द्रीय बैंकले यसअघि सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गरेको छ । जसमा मौद्रिक नीतिले व्यवस्था गरेको सीडी रेसियोको गणना विधिलाई प्रष्ट्याउँदै बैंक तथा वित्तीय संस्थाको कर्जा क्षमता बढाएको छ ।

मौद्रिक नीतिमा हाल कार्यान्वयनमा रहेको सीसीडी खारेज गरी सीडी रेसियो बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्म ९० प्रतिशत कायम गरिसक्ने पर्ने उल्लेख छ ।

सो व्यवस्थालाई कार्यान्वयन गर्न आएको परिपत्र अनुसार सीडी रेसियोमा बैंक तथा वित्तीय संस्थाले पूँजी कोष र पुँजी कोषको अंगका रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा राष्ट्र बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिनेछ ।

ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ । निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०७९ असार मसान्तसम्मका लागि निक्षेप रुपमा समेत गणना गर्न सक्नेछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । साथै, सो अवधिमा बैंक तथा वित्तीय संस्थाले ९१ अर्ब रुपैयाँ बराबरको ऋणपत्र, १ खर्ब १६ अर्ब रुपैयाँ पुनरकर्जा र २४ अर्ब रुपैयाँ विदेशी मुद्रामा ऋण लिएका छन् ।

सोअनुसार हाल बैंक तथा वित्तीय संस्थासँग ४८ खर्ब ८९ अर्ब रूपैयाँ कुल स्रोत हुन आउँछ । यसमा ९० प्रतिशत सीडी रेसियो कायम गर्दा बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम ४४ खर्ब १० अर्ब रूपैयाँ हुन्छ । हालसम्म प्रवाहित कर्जामा ९० प्रतिशत सीडी रेसियो कायम गरी आएको लगानीयोग्य रकमलाई हालसम्म प्रवाहित कर्जा घटाउँदा बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ थप कर्जा प्रवाह गर्न सक्ने अवस्था रहन्छ ।

तर बैंक तथा वित्तीय संस्थाको स्रोत र कर्जाको तथ्यांकअनुसार हाल बैंकिङ क्षेत्रको सीडी रेसियो ८६.६६ प्रतिशत हुन आउछ । सीडी रेसियोअनुसार बैंक तथा वित्तीय संस्थाले थप १ खर्ब ६३ अर्ब २९ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सक्नेछन् ।


क्लिकमान्डु