४० लाख ऋण २२ वर्षमा कसरी भयो १८ करोड ? यस्तो छ सनराइज बैंकको हिसाब



काठमाडौं । तपाईंले ऋणबारे एउटा निकै पुरानो कथन पक्कै पनि सुन्नु भएकै होला । ‘साँवाको ब्याज, ब्याजको स्याज र स्याज प्याज’ नेपाली समाजमा निकै चर्चित कथन हो ।

पहिलेको जमनामा साहूमहाजनले कुनै गरिबले दिएको ऋण वापतको ब्याज साँवा नै बनाउने र त्यसमा ब्याज थप्दै वास्तविक साँवाभन्दा धेरै रकम बढ्दा ऋणको भारीले जीवनभरी दुःख दिएका घटनाहरु पनि नसुनिएका होइनन् ।

यस्तै कथनसँग मिल्दोजुल्दो घटनामा सनराइज बैंक पनि संलग्न भएको भेटिएको छ । यहाँ सनराइज बैंक साहूको भूमिकामा देखिएको छ ।

सनराइज बैंकले २२ वर्षअघिको ४० लाख ऋणमा ब्याज र हर्जना थप्दै ऋणीको थाप्लोमा १८ करोड रुपैयाँ बढीको भार थोपरेको भेटिएको छ ।

बैंक आफैंले मर्ज गरेको तत्कालीन नेशनल फाइनान्सबाट कर्जा लिएको ऋणीलाई साँवा, ब्याज र हर्जनासहित गरी २२ वर्षपछि ४० लाख रुपैयाँ ऋणको १८ करोड रुपैयाँभन्दा बढी चुक्ता गर्न पठाएको स्टेटमेन्ट क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

यस्तो छ ४० लाख ऋणको कथा

२२ वर्षअघि काठमाडौं महानगरपालिका वडा ४ भाटभटेनी स्थायी घर भएका लोचन शमशेर थापाले तत्कालीन नेशनल फाइनान्सबाट ‘रियल स्टेट कर्जा’ लिएका थिए । उनले फाइनान्सबाट बिराटनगर बखरीमा भएको आफ्नो ६६ कट्ठा जग्गा धितो राखी २०५३ सालमा ४० लाख रुपैयाँ कर्जा लिएका थिए ।

उक्त फाइनान्सलाई सनराइज बैंकले मर्जर गरी सकेको छ ।

फाइनान्सबाट लोचन शमशेरले लिएको कर्जामा बैंकले ५ वर्षपछि ४० लाख ८६ हजार ९ सय ३० कुल साँवा र १६ लाख ४९ हजार ७६ रुपैयाँ ब्याज र १३ हजार ९ सय ९९ सय रुपैयाँ गरी कुल ५७ लाख ५० हजार रुपैयाँ एकमुष्ठ तिर्न तोकता गरेको थियो । तोकिएको समयमा ऋणीले ऋणको साँवा ब्याज भुक्तानी गर्न नसकेपछि फाइनान्सले २०५८ साल चैत २८ गते डाक बढाबढमार्फत् लिलामी गर्यो ।

लिलामीको प्रक्रिया नै पूर्णपालना नगरी फाइनान्सले लिलामी गरेको भन्दै ऋणीले अदालतमा मुद्दा हालेको थियो । जसमा सर्वोच्चले २०७६ असार २३ गते नै कर्जा असुल गरी धितो फिर्ता गर्न बैंकलाई आदेश दिइसकेको छ ।

अदातलको आदेशपछि बैंकले ऋणीलाई २०५९ साल बैशाख यता २०७७ मंसिर ५ गतेसम्मको साँवा ब्याज हिसाब गरी कुल १८ करोड ६ लाख ६५ हजार १ सय ४४ रुपैयाँ बक्यौता रकम विवरण उल्लेख गरी कर्जा चुक्ता गर्न भनेको हो ।

काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदनको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजालशले धितो लिलामी फिर्ता गर्न बैंकलाई २०७६ असार २३ गते नै आदेश दिएको थियो ।

सर्वोच्चले कर्जा असूली तथा धितो बिक्रीको पूर्णप्रक्रिया फाइनान्सले पूरा नगरेको ठहर गर्दै धितो लिलामी बदर गरेको हो । तर, हालसम्म पनि बैंकले सो जग्गा फिर्ता भने गरेको छैन ।

बैंकले हालसम्मको एकमुष्ठ साँवा ब्याजको रकम १८ करोड रुपैयाँ भुक्तानी गरेपछिमात्र धितो नामसारी गर्ने अडान लिँदै आएको छ । ऋणी लोचन शमशेरको मृत्युपछि उक्त धितो फिर्ता पाउँ भन्दै सर्वोच्च अदालतमा मृतक ऋणीका छोरा गुलाब शमशेर थापा पुगेका छन् ।

उनी लिलामी भएको हिसाबअनुसार मात्र कर्जाको साँवा ब्याज भुक्तानी गर्ने भन्दै अदालत, नियमनकारी निकायमा बैंकविरुद्ध एक्सन लिन आग्रह गदै धाउन थालेका छन् । गुलाब शमशेरको अडान भने २०५९ बैशाख २४ गतेसम्म फाइनान्सले दिएको स्टेटमेन्ट अनुसार ५७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्ने र बैंकले लिलामी भएको जग्गा नामसारी गरिदिनु पर्ने अडानमा छन् । सर्वोच्चले फैसला गर्न ढिला गर्दा उक्त धितो नामसारी गर्न बैंकलाई अप्ठ्यारो भएको हो ।

तत्कालीन फाइनान्सले १७ वर्षअघि ऋणीको धिातो लिलामी गर्दा काठमाडौं पुतलीसडकस्थित इन्भेष्टमेन्ट एभरेष्ट नामक रियल स्टेट कम्पनीले सकारेको थियो । कम्पनीले सो जग्गा प्लटिङ्ग गरी विभिन्न व्यक्तिहरुलाई खरिद बिक्री गरिसकेको छ । हाल सो जग्गामा २५ घर बनेको छ भने करिब ढेड सय बढी मानिसको बसोबास रहेको छ ।

यसरी भयो ४० लाखबाट १८ करोड

२०५३ सालमा लिएको कर्जा समयमै साँवा ब्याज भुक्तानी नगर्दा २०५८ साल चैतमा बैंकले लिलामी गरेको हो । लिलामीपछिको बैंकले कार्जाको पुनरसंरचना गरी नयाँ स्टेटमेन्ट निकालेको छ । जसअनुसार ऋणीले वक्यौता भुक्तानी गरेपछि मात्र धितो नामसारी हुने बैंकको आशय हो ।

२०५९ बैशाख २५ गते बैंकले ५७ लाख ५० हजार रुपैयाँको १७ प्रतिशत ब्याजदरले नयाँ स्टेटमेन्ट शुरु गरेको हो । जसमा ५७ लाख ५० हजार रुपैयाँको १ लाख ७९ हजार ४ सय ३१ रुपैयाँ ब्याज रुपैयाँ हिसाब गरेको थियो । जसमा कुल वक्यौता भुक्तानी ५९ लाख ५० हजार ५४१ रुपैयाँ पुगेको छ । ६७ दिनभित्र भुक्तानी नगरेपछि बैंकले कुल बक्यौता रकमलाई साँवा जोडर ५९ लाख ५० हजार रुपैयाँमा १७ प्रतिशत ब्याजदरले ६२ लाख ३५ हजार ५१४ रुपैयाँ कायम गरेको छ ।

यसरी नै बैंकले समय तोकेर साँवामा ब्याज जोड्दै २०६१ बैशाखसम्म ८२ लाख ३९ हजार ५६४ रुपैयाँ बक्यौता भुक्तानी पुर्याएको छ । तोकिएको समयमा ऋणीले भुक्तानी नगरेको भन्दै पोकेको ब्याजलाई समेत साँवाका बनाएर त्यसमा १७ प्रतिशत ब्याज जोड्दै बैंकले स्टेटमेन्ट निकालेको हो ।

जसमा २०६२ साल बैशाखमा ९२ लाख २० हजार १९५ रुपैयाँ कुल बक्यौता, २०६३ बैशाखमा १ करोड १९ लाख ४३ हजार ६२६ रुपैयाँ, २०६४ बैशाखमा १ करोड ४३ लाख ६९ हजार ७७७ रुपैयाँ र २०६५ बैशाखमा १ करोड ७३ लाख २१ हजार ४४२ रुपैयाँ कुल बक्यौता भुक्तानी पुगेको स्टेटमेन्ट बनाएको छ ।

साथै, बैंकले उक्त ऋणको बक्यौता भुक्तानी २०६६ साल बैशाखमा २ करोड ८ लाख ५४ हजार ५१२ रुपैयाँ, २०६७ साल बैशाखमा २ करोड ५१ लाख ८ हजार रुपैयाँ, २०६८ साल बैशाखमा ३ करोड २ लाख २९ हाजार रुपैयाँ, २०६९ साल बैशाखमा ३ करोड ६४ लाख १३ हजार रुपैयाँ र २०७० साल बैशाखमा ४ करोड ३८ लाख ४० हजार रुपैयाँ रुपैयाँ कुल बक्यौता भुक्तानी पुगेको छ ।

यस्तै, २०७१ साल बैशाखमा ५ करोड २७ लाख ८३ हजार रुपैयाँ, २०७२ बैशाखमा ६ करोड ३५ लाख ४९ हजार रुपैयाँ, २०७३ साल बैशाखमा ७ करोड ६५ लाख ४९ हजार रुपैयाँ र २०७४ सालमा ९ करोड २१ लाख ६३ हजार रुपैयाँ बैंकको स्टेटमेन्ट अनुसार ऋणीले तिर्नु पर्ने कुल बक्यौता रकम पुगेको छ ।

साथै, २०७५ बैशाखमा ११ करोड ९ लाख ६२ हजार रुपैयाँ, २०७६ साल बैशाखमा १३ करोड ३५ लाख ९५ हजार रुपैयाँ, २०७७ बैशाखमा १६ करोड ९ लाख २४ हजार रुपैयाँ र २०७७ मंसिर महिनासम्म १७ करोड ६६ लाख १९ हजार ८४२ रुपैयाँ कुल साँवाको ३६ लाख १९ हजार ४ सय ९६ रुपैयाँ ब्याज सहित कुल १८ करोड ६ लाख ६५ हजार ६ सय ६५ रुपैयाँ कुल बक्यौता भुक्तानी पुगेको बैंकको स्टेटमेन्टले देखाएको छ ।


क्लिकमान्डु