मन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखाउँदै अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखनको काम अगाडि बढाएपछि अर्थमन्त्री जनार्दन शर्माको आलोचना शुरु भएको छ ।

श्वेतपत्र लेखनमा मन्त्रालयका कर्मचारी बेखबर हुने र ‘कन्सल्ट्यान्ट’ शैलीमा बाहिरबाटै श्वेतपत्र लेखेर आउने भएपछि विभिन्न शंका–उपशंका र प्रश्नहरु उब्जिएका हुन् ।

नयाँ सरकार गठन भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका थिए । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको पर्सीपल्ट अर्थात् साउन १ गते पत्रकार भेटघाटका क्रममा शर्माले एक–दुई हप्ताभित्रै सरकारले श्वेतपत्र जारी गर्ने जानकारी गराएका थिए ।

तर अहिलेसम्म श्वेतपत्र जारी हुन सकेको छैन भने यसको लेखनको कामसमेत विवादमा परेको छ । अर्थमन्त्री शर्माले मन्त्रालयका कर्मचारी र संरचनाभन्दा बाहिरबाट श्वेतपत्र लेखनको काम अगाडि बढाएपछि यसको आधिकारिकता र नियतमाथि मन्त्रालयभित्रकै कर्मचारीले शंकाको दृष्टिले हेर्न थालेका छन् ।

देशको समग्र आर्थिक अवस्था स्पष्ट हुनेगरी ल्याउन लागिएको भनिएको यो प्रतिवेदनलाई सरकारले आर्थिक श्वेतपत्र नभई ‘यथार्थपत्र’ का रुपमा सार्वजनिक गर्ने बताउँदै आएको छ ।

अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र कस्तो अवस्थामा छोडेर गएको छ भन्ने तथ्य-तथ्यांक यथार्थपत्रले देखाउनेछ । यद्यपी, यसको लेखनमा मन्त्रालय आफै गुमराह र उपेक्षामा परेपछि शंका र नियतिको प्रश्न उब्जिएका हुन् ।

अस्पष्ट जवाफ
श्वेतपत्र वा यथार्थपत्र लेखनमा अर्थमन्त्रालयभित्रकै संरचना र कर्मचारी प्रयोग हुनुपर्नेमा सरकारले ‘कन्सल्टेन्ट’ शैलीमा काम गरिरहेको बारे क्लिकमाण्डुले मन्त्रालयभित्र र बाहिरका ५ जनासँग कुराकानी गरेको थियो ।

मन्त्रालयकै उच्च तहका कर्मचारीले यो विषयमा अस्पष्ट र फरक–फरक जवाफ दिएका छन् भने बाहिर बसेर श्वेतपत्र लेखनका काम गरिरहेको टीमले मन्त्रालयको सहकार्य मै काम भइरहेको दावी गरेको छ ।

‘श्वेतपत्र लेखन कहाँ पुग्यो भन्ने हामीलाई जानकारी छैन । समन्वय पनि खासै छैन । नयाँ सचिवलाई ब्रिफिङ गरेको जानकारी छ । तर, डेडिकेटेड टीम छ भन्ने सुन्नमा आएको छ,’ मन्त्रालयको एक महाशाखा प्रमुखले भने ।

ती अधिकारीका अनुसार अर्थमन्त्रालयभित्रका सबै महाशाखा प्रमुखहरु श्वेतपत्र लेखनमा संलग्न छैनन् ।

मन्त्रालयका अर्का एक उच्च अधिकारीले अर्थमन्त्री आफै श्वेतपत्र लेखनको नेतृत्व गर्ने र त्यसमा कर्मचारी संयन्त्रबाटको नेतृत्व (ब्युरोक्य्राटिक लिडरसिप) अर्थसचिवले गर्ने बताए ।

‘छुट्टै कन्सल्ट्यान्टका रुपमा श्वेतपत्र लेखाएको भन्ने होइन । अर्थमन्त्रीको सल्लाहकार समूह र अर्थतन्त्रका जानकारहरुले यसमा सहयोग छ । मन्त्रालय र त्यो टिम दुबैको समन्वयमा काम हुँदैछ,’ ती अधिकारीले भने ।

अर्थसचिवका रुपमा मधुकुमार मरासिनीले जिम्मेवारी सम्हालेको जम्मा १ हप्ता मात्रै भयो । तर, अर्थमन्त्री शर्माले बाहिर आफ्नो छुट्टै टीमबाट श्वेतपत्र लेखनको काम जारी राखेका थिए । शिशिर कुमार ढुंगाना अर्थमन्त्रालयमा हुँदाताका नै शर्माले यो कामको जिम्मेवारी आफु निकट केहि अर्थविद्हरुलाई दिएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीन बहादुर श्रेष्ठ र कर्णाली प्रदेशका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले श्वेतपत्र लेखनमा मन्त्रालय बाहिरको टीमको नेतृत्व गरिरहेका छन् । श्वेतपत्र लेखनमा बाहिर बसेर काम गरिरहेको समूहका एक सदस्यले भने मन्त्रालयसँग पूर्णसमन्वय रहेको र उक्त टीमले सहयोगी भूमिका मात्रै निर्वाह गरिरहेको दावी गरे ।

‘मन्त्रालयको समन्वयमा नै काम भइरहेको छ । यो कुनै राजनीतिक दस्तावेज भन्दा पनि अर्थतन्त्रको चित्र देखाउने डकुमेन्ट हो । सबैकुरा मन्त्रालयले भेरिफाई गर्छ,’ उनले भने ।

अघिल्लो सरकारले पनि २०७४ चैतमा आर्थिक श्वेतपत्र जारी गरेको थियो । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र लेखनको नेतृत्व रामशरण पुडासैनीलाई दिएका थिए । पुडासैनी त्यतिबेला मन्त्रालयको सबैभन्दा शक्तिशाली बजेट तथा कार्यक्रम महाशाखा पमुख थिए ।

यद्यपि, खतिवडाले जारी गरेको आर्थिक श्वेतपत्रमा अर्थतन्त्रका सूचक देखाउनेभन्दा बढी राजनीतिक आक्षेप र दोषारोपणको भाषा बोलिएको भन्दै चर्को आलोचना भएको थियो । गैर राजनीतिक पृष्ठभूमिका खतिवडाले उक्त श्वेतपत्रमार्फत् राजनीतिक भाष्य बोलेको र राजनीतिज्ञ बन्न खोजेको भनेर समेत टिकाटिप्पणी भएको थियो ।


क्लिकमान्डु