थप कर्जा दिन नसक्ने अवस्थामा आधा दर्जन बढी बैंक, कसको क्षमता कति ?



काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसीयो) सीमा पुग्दा यी बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

हाल निषेधाज्ञाको अवस्थामा बैंकहरुमा निक्षेप उल्लेख वृद्धि हुन सकेको छैन भने आवश्यक क्षेत्रमा कर्जा भने प्रवाह भइरहेको छ । निषेधाज्ञा अघिसम्म आक्रामक कर्जा विस्तार गरेका बैंकहरुको सीसीडी रेसीयो सीमामा पुगेका कारण ८ वटा वाणिज्य बैंक थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

प्रणालीमा लगानी योग्य रकम (तरलता) मा चाप पर्दा सीसीडी रेसीयो ८० प्रतिशतमाथि पुगेका बैंकहरुले थप निक्षेप संकलन नगरी नयाँ कर्जा दिन नसक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

सीसीडी रेसीयो सीमामा पुगी थप कर्जा दिन नसक्ने अवस्थामा मेगा, एनआइसी एशिया, कुमारी, सानिमा, सनराइज, सिभिल, सिद्धार्थ र माछापुच्छ्रे बैंक पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सीसीडी रेसियोमा सहज गर्दै ८० प्रतिशतबाट सीमा बढाएर ८५ पुर्याएको छ । सीसीडी ८५ प्रतिशतको अर्थ बैंकले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँसम्म कर्जा लगानी गर्न पाउँछन् ।

तर, बैंकहरुको सीसीडी ८० प्रतिशतमाथि हुन भनेको स्रोत संकलन नगरी थप कर्जा दिन नसक्ने अवस्थामा रहेको प्रवक्ता ढकालले बताए ।

‘सीसीडी सीमा नजिक पुगेका बैंकहरुको हकमा कर्जा प्रवाह गर्न सक्ने क्षमता न्यून हुन्छ, यस्ता बैंकहरुले थप नयाँ कर्जा प्रवाह गर्नको लागि तरलता बढाउने निक्षेप वृद्धि गरेरमात्र कर्जा प्रवाह गर्न सक्छन्,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘यसअघिसम्म बैंकहरुको सीसीडी ८० प्रतिशत तोकेकोमा बैंकहरुले समज रुपमा कर्जा प्रवाह गर्न सकुन भनेर सीमालाई ८५ पुर्याइएको हो तर सहजता भने ८० भन्दा तल नै हुन्छ ।’

राष्ट्र बैंकले विदेशी ऋण, ऋणपत्रलाई पनि सीसीडी गणना गर्न पाउने व्यवस्था गरेको छ । यसले गर्दा बैंकहरुलाई सीसीडी रेसीयोलाई सहजतामा राख्न मद्दत गर्छ । तर, बैंकहरुले निक्षेप संकलनलाई नै बढाएर सीसीडी रेसीयो सीमामा ल्याइ वित्तीय व्यवस्थापन गर्दा राम्रो हुने उनको भनाइ छ ।

राष्ट्र बैंकले प्रत्येक महिनाको अन्त्यमा बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसीयोको सीमा हेर्ने गर्छ । सो समयमा बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सीसीडी रेसीयो हुनेलाई कारवाही समेत गर्ने गरेको छ ।

कुन बैंकको सीसीडी रेसीयो कति ?

संचालनमा रहेका २७ वाणिज्य बैंकहरुको असार मसान्तसम्म औषत सीसीडी रेसीयो ७७.३८ प्रतिशत छ । तर, सोअवधिमा प्रत्येक वाणिज्य बैंकहरुको सीसीडी हेर्दा भने ६५.३७ प्रतिशतदेखि ८२.०२ प्रतिशतसम्म कायम छ ।

जसमध्ये ८० प्रतिशत बढी भएका बैंकहरुमा मेगा ८२.०२ प्रतिशत, एनआइसी एशिया ८१.१२ प्रतिशत, कुमारी ८१.०१ प्रतिशत, सानिमा ८०.६० प्रतिशत, सनराइज ८०.४१ प्रतिशत, सिभिल ८०.३८ प्रतिशत, सिद्धार्थ ८०.१५ प्रतिशत र माछापुच्छ«े बैंक ८०.०९ प्रतिशत सीसीडी रेसीयो रहेको छ ।

यस बाहेक असार मसान्त अन्य ११ वटा बैंकको ७५ प्रतिशतदेखि ८० प्रतिशतसम्म, ६ वटा बैंकको ७० प्रतिशतदेखि ७५ प्रतिशतसम्म र २ वटाको ७० प्रतिशतभन्दा तल सीसीडी रेसीयो कायम छ ।

सीसीडी रेसीयो सीमा नजिक पुग्ने बैंकको कर्जा क्षमता

राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँ कर्जा प्रवाह गर्न पाउने हो । मेगा बैंकले आसार मसान्तसम्म १ खर्ब ४५ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसीयो ८२.०२ प्रतिशत हुँदा उक्त निक्षेपमा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

यसैगरी, एनआइसी एशिया बैंकले असार मसान्तसम्म ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी ८१.०२ प्रतिशत हुँदा उक्त निक्षेपमा बैंकको ११ अर्ब ६५ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

कुमारी बैंकले असार मसान्तसम्म १ खर्ब ५७ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसीयो ८१.०१ प्रतिशत हुँदा उक्त निक्षेपमा बैंकले ६ अर्ब २७ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

सानिमा बैंकले असार मसान्तसम्म १ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसीयो ८०.६० प्रतिशत हुँदा बैंकले उक्त निक्षेपबाट ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

सनराइज बैंकले असार मसान्तसम्म १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसीयो ८०.४१ प्रतिशत हुँदा उक्त निक्षेपबाट बैकले ५ अर्ब ६ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

सिभिल बैंकले असार मसान्तसम्म ९० अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसीयो ८०.३८ प्रतिशत हुँदा बैंकले सो निक्षेपबाट ४ अर्ब १७ करोड रुपैयाँ कर्जा दिन क्षमता छ ।

सिद्धार्थ बैंकले असार मसान्तसम्म १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सीसीडी रेसीयो ८०.०९ प्रतिशत हूँदा सो निक्षेपबाट ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।


क्लिकमान्डु