मालपोत कार्यालयबाट दोब्बर उठ्यो राजस्व, कुन महिना कति ?



काठमाडौं । आर्थिक वर्षको २०७७/७८ मा देशभरका मालपोत कार्यालयबाट साढे ५७ अर्ब बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा संकलन भएको राजस्व दोब्बरभन्दा बढीले हो ।

आर्थिक वर्ष २०७६/७७ मा कुल २८ अर्ब २ करोड ८७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएकोमा आव २०७७/७८ मा ५७ अर्ब ६८ करोड ७ लाख ४२ हजार राजश्व संकलन गरेको हो । जुन गत वर्षको तुलनामा १०५.७२ प्रतिशतले बढी हो ।

त्यस्तै आव २०७७/७८ मा विभागले १७ लाख २८ हजार ५ सय २९ सेवा प्रवाह गरेको थियो ।

विभागले सो राजश्व सेवा कर, रजिष्ट्रेशन दस्तुर, छुट, अतिरिक्त शुल्क, द्वार सुविधा शुल्क, पूँजीगत लाभ कर, जग्गाधनी प्रमाण पूर्जा प्रिन्ट शुल्क, अनलाइन प्रिन्ट शुल्क, रिकभर शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ५७ अर्ब राजश्व संकलन गरेको हो ।

जसमा विभागले सेवाकर वापत ३ अर्ब ५७ करोड ६ लाख रुपैयाँ, बाग्मतीबाट १ अर्ब ७७ करोड ७६ लाख, रजिष्ट्रेशन दस्तुरबाट ३२ अर्ब ४७ करोड २० लाख, छुटबाट ४ अर्ब ७० करोड २६ लाख रुपैयाँ विभागकाले राजश्व संकलन गरेको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, विभागले अतिरिक्त शुल्कबाट ३० लाख ३१ हजार, द्वार सुविधा शुल्कबाट ७२ लाख ४९ हजार, पूँजीगत लाभ करबाट १४ अर्ब ४१ करोड ९८ लाख, जग्गाधनी प्रमाण पूर्जा प्रिन्ट शुल्कबाट १३ हजार, विलम्ब शुल्कबाट ३४ लाख ७९ हजार, नगर पूर्वाधार विकास कोष शुल्कवापत ३३ करोड ७४ लाख र मुख्मन्त्री स्वच्छता अभियान कोष शुल्कवापत ३८ करोड ६५ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

विभागले आव २०७७/७८ मा मालपोत कार्यालयमा भू–अभिलेख व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएसँगै राजश्व संकलन बढी भएको जनाएको छ । कोरोना महामारीका देशभरका मालपोतका कार्यालय प्रभावित भएको अवस्थामा पनि सो रकम बराबरको राजश्व संकलन गर्नु सकारात्मक रहेको विभागको भनाइ छ ।

अहिले विभागले १ सय २६ वटा मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा ल्याएसँगै थप पारर्दशिता, सहज र व्यवस्थापन भएकाले दैनिक ५० करोडभन्दा बढी राजश्व संकलन गर्दै आएको छ ।

साथै, विभागलाई डिजिडल, फेसलेस र पेपरलेस बनाउने योजना बनाएको छ । त्यसैले आगामी दिनमा थप व्यवस्थित र सहज भई राजश्व उल्लेखनीय संकलन हुने विभागको दावी छ ।


उपत्यकामा राजश्व संकलन गर्नेमा लगनखेल अगाडि
विभागको तथ्याङ्क अनुसार वार्षिक रुपमा हेर्दा सबैभन्दा बढी राजश्व लगनखेल मालपोत कार्यालयले संकलन गरेको छ । आव २०७६/७७ मा ३ अर्ब १३ करोड ३६ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको लगनखेल मालपोत कार्यालयले आव २०७७/७८ मा ५ अर्ब ३० करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन हालसम्मकै उच्च राजश्व संकलन गरेको विभागले जनाएको छ ।

त्यस्तै डिल्लीबजार कार्यालयले ४ अर्ब ९ करोड ८० लाख, कलंकी कार्यालयले ३ अर्ब ४५ करोड ३१ लाख, भक्तपुरले ३ अर्ब १४ करोड ९२ लाख र चावहिलले ३ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

उपत्यका बाहिरमा कस्की कार्यालयबाट डेढ करोड बढी राजश्व संकलन

देशभरको मालपोत कार्यालयबाट ५७ अर्ब राजश्व संकलन गर्दा उपत्यका बाहिरको मालपोत कार्यालयमध्ये कास्कीले सबैभन्दा बढी राजश्व संकलन गरेको छ । उक्त कार्यालयबाट मात्रै डेढ करोड बढी राजश्व संकलन गरेको छ । जसमा कास्कीले आव २०७७÷७८ मा १ अर्ब ६४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै चितवनले १ अर्ब ५५ करोड ६९ लाख, विराटनगर मोरङले १ अर्ब २३ करोड ३७ लाख, काभ्रेपलाञ्चोकले १ अर्ब १७ करोड ५० लाख, इनरुवा सुनसरीले १ अर्ब १३ करोड २३ लाख र पर्सा मालपोत कार्यालयले १ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

६ लाख बढी घरजग्गा किनबेच

आव २०७७/७८ मा देशभरको मालपोत कार्यालयले ६ लाख बढी घरजग्गा किनबेच भएको छ । विभागको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १ सय २६ वटा मालपोत कार्यालयबाट ६ लाख २२ हजार १ सय ११ वटा घरजग्गाको किनबेच भएको छ । गत वर्ष देशभरका मालपोत कार्यालयबाट ५ लाख ६९ हजार ७ सय ३७ वटा घरजग्गाको किनबेच भएको थियो ।

त्यस्तै, देशभरको मालपोत कार्यालयबाट ५ लाख ४९ हजार ४ सय ८७ रोक्का हुँदा ३ लाख २० हजार २ सय ७ वटा घरजग्गाको फुकुवा भएको छ । त्यस्तै विभागको तथ्याङ्क अनुसार ३८ हजार ९ सय नामसारी, १ सय १५ जग्गा दर्ता, २६ हजार ४ सय ६२ हाल साविक, १२ हजार ७ सय ३४ दाखिला खारेज, ८ मोही हक कायम, ७ सय ७८ मोहीयानी हक नामसारी र ४२ सय ७५ मोही लगत कट्टा गरेको छ ।

त्यसैगरी विभागका अनुसार १२ सय १५ जग्गा बाँडफाँट, २९ हजार ५ सय ४४ प्रतिलिपि प्रक्रिया र ५ सय ५३३ वटा आयोजना फिर्ताको लिखत भएको छ ।


क्लिकमान्डु