उद्योगीले खाने तेलको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म घटाए पनि बजारमा भने पुरानै मूल्य कायम



काठमाडौं । गत वर्षको दशैंतिहारबाट लगातार उकालो लागेको तेलको मूल्य अहिले उद्योगीहरूले मूल्य घटाउन थालेको छ ।

सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाले गर्दा कच्चा पदार्थको मूल्य बढेको भन्दै लगातार मूल्य बढाएको उद्योगीहरूले करिब ८ महिनापछि मूल्य घटाएका हुन् ।

गत वर्षको मंसिरसम्ममा प्रतिकार्टुन सनफ्लावर तेलको मूल्य १५ सय ५० देखि १६ सय रुपैयाँसम्म खुद्रा बजारमा बिक्री भएकोमा लगातार मूल्य बढेर हाल प्रतिकार्टुन २ हजार ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

उद्योगीहरूले गत वर्षको दशैंतिहार पश्चात लामो समयको बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मुल्य बढेको र कच्चा पदार्थको आयातमा समस्या आएको भन्दै लगातार मूल्य बढाएको थियो । त्यसबेला उद्योगीहरूले हप्ता दिनमै तेलको मूल्य प्रतिलिटर १५ रुपैयाँसम्म बढाएका थिए ।

अप्रत्यातिश रुपमा बढ्दै गएको तेलको मूल्यलाई उपभोक्ताकर्मीहरूले विरोध जनाउँदै वाणिज्य, आपूर्ति तथा संरक्षण विभागमा कारबाहीका लागि माग गरेका थिए ।

तर, भान्सामा प्रयोग हुने तेलको मूल्यमा उपभोक्ता सँधै ठगिएको अवस्थामा सरकारले अनुगमनमा कडाई नगरेको उपभोक्ताहरू बताउँछन् ।

यस्तै, बजारमा तेलको मूल्य अप्रत्याशित रुपमा बढेको गुनासो आएसँगै विभागले उद्योगीहरूले कृत्रिम हो वा प्राकृतिक रुपमा बढाएकोबारे अध्ययन गर्नका लागि उद्योगीहरूको विवरण माग गरेको थियो । तर, विभागले उक्त अध्ययनबाट कच्चा पदार्थकै कारण मूल्य बढाएको निष्कर्ष निकालेको थियो ।

यसले गर्दा उद्योगीहरू र राजनीतिक व्यक्तिहरूकै मिलेमतोमा मूल्य बढाएको आमउपभोक्ता तथा खुद्रा व्यापारीहरूको भनाइ थियो । साथै, मूल्यवृद्धिबारे उपभोक्ताकर्मी तथा आम सर्वसाधारणको गुनासो सरकारसमक्ष राख्दा पनि हालसम्म सम्बोधन हुन सकेको छैन ।

त्यसैगरी गत वर्षको मंसिरमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १ सय ४५ देखि १ सय ६० रुपैयाँमा बिक्री भएको थियो । तर, अहिले उक्त मूल्यवृद्धि भएर बजारमा पाइने विभिन्न कम्पनीका सनफ्लावर, भटमास र तोरीको तेलमा निरन्तर मूल्यवृद्धि भई मूल्यमा इतिहास कायम गरेको छ ।

हाल सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ५० रुपैयाँदेखि २६० रुपैयाँसम्म बिक्री भएको छ ।

जसमा कार्टुनमा किन्दा उपभोक्ताहरूले २५ सयदेखि २५ सय ५० रुपैयाँमा किनिरहेको अवस्था छ । जुन मूल्य हालसम्मकै उच्च हो । त्यस्तै भटमास तेलको मूल्य प्रतिकार्टुन २४ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

यसअघि हप्ता दिनमै २० रुपैयाँसम्म मूल्य बढाउँदै आएका उद्योगीहरूले अहिले कम्पनी अनुसार प्रतिलिटर १५ देखि ३० रुपैयाँसम्म मूल्य घटाएका छन् । यसले गर्दा उपभोक्ताहरूलाई केही राहत मिलेको छ ।

अहिले उद्योगीहरूले प्रतिलिटर ३० रुपैयाँ घटाए पनि बजारमा भने पुरानै मूल्य कायम भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

उद्योगीहरूले प्रतिलिटर १५ देखि ३० रुपैयाँसम्म मूल्य घटाएको जानकारी आएता पनि सो मूल्य कायम भएको तेल बजारसम्म आइनपुगेको संघका सचिव सिद्धिबहादुर कोइरालाले बताए ।

उनीहरुका अनुसार केही दिनअघि मात्रै उद्योगीहरूले मूल्य घटाएर नयाँ मूल्य कायम गरिएको छ ।

तर, उद्योगीहरूले मूल्य घटाए पनि बजारमा पुरानै मूल्य कायम भएकाले उपभोक्ताहरूले मूल्य घटेको आभास गर्न नपाएको उनले बताए ।

त्यसैगरी, संघका पूर्वअध्यक्ष पवित्र कुमार श्रेष्ठले भने बजारमा तेलको मूल्य नघटेको दावी गरे । उनका अनुसार केही समयअघि २५ सय ५० रुपैयाँमा खरिद गरिएको सनफ्लावर तेलको मूल्य अहिले ५ रुपैयाँ बढेर प्रतिलिटर २ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

‘उद्योगीहरूले अहिले मूल्य घटाएको भन्दै आएका छन् । तर बजारमा भने घटेको मूल्य बिक्री गर्न सकेको छैन । यसले गर्दा आम उपभोक्तालाई उद्योगीहरूले झुक्याउने काम गरिरहेको छ,’ उनले भने ।

उद्योगीहरूले बिना कारण ८ महिनामै तेलको मूल्य दोब्बर बनाएको छ । यसले गर्दा हाल प्रतिलिटर १५ देखि ३० रुपैयाँ घटाए पनि आगामी दिनमा पुनः बढाउन सक्ने उनले जिकिर गरे । साथै, उद्योगीहरूले प्रतिलिटर ३० रुपैयाँसम्म मूल्य घटाए पनि बजारमा खासै फरक नपर्ने संघले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाइले उपभोक्ताको चर्को विरोध र विभागले दिएको निर्देशनले गर्दा उद्योगीहरूले मूल्य घटाएको बताए ।

‘उद्योगीहरूले कम्पनी अनुसार प्रतिलिटर १५ देखि ३० रुपैयाँसम्म मूल्य घटाएको विभागलाई जनाकारी दिएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘बजारमा घटाएको मूल्य कायम हुन अझै केही हप्ता लाग्नेछ । यसले गर्दा अहिले पुरानै मूल्य कायम भएको पाइन्छ ।’

प्रवक्ता सेढाइका उद्योगीहरूले केही मात्रामा मूल्य घटाएकाले उपभोक्तालाई राहत मिलेको बताउँछन् ।

विभागले कडाइका साथ बजार अनुगमन गर्नुपर्छ- उपभोक्ताकर्मी तिमल्सिना
तेलको मूल्य अप्रत्याशित रुपमा बढाउँदै गए पछि उपभोक्ताकर्मीहरूले अनुमगन गरी कारबाहीको माग गर्न बारम्बार विभागलाई पत्रचार गर्दै आएका थिए ।

तर, सरकारले भने यसप्रति ध्यान नदिएकाले तेलको मूल्यमा उपभोक्ताहरू ठगिन बाध्य भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

उनका अनुसार गत वर्षदेखि निरन्तर रुपमा मूल्य बढाएको उद्योगीले अहिले केही मात्रामा घटाएको उनको जानकारी दिए ।

‘उद्योगीहरूले केही दिन अघिको छलफलमा प्रतिलिटर ३० रुपैयाँ र २५ सयमा बिक्री भइरहेको कार्टुनको मूल्यमा ३ सय रुपैयाँले घटाएर २२ सय रुपैयाँमा झारेको जानकारी दिएको छ,’ उनले भने, ‘अब बजारमा घटाएको मूल्यमा बिक्री नभए विभागले अनुगमनमा कडाइ गरी कारबाही गर्नुपर्छ ।’

उनका अनुसार विगतको दिनमा पुरानै मूल्य कायम भएको तेलमा बढेको भन्दै नयाँ मूल्यमा बिक्री गरेको थियो । सोहीअनुसार अब व्यापारीहरूले मूल्य घट्दा पनि विगतको दिनमा भएको तेलको मूल्य घटाएर बिक्री गर्नुपर्ने उनको धारणा छ । साथै, होलसेल, गोदाम र खुद्रामा के कसरी बिक्री भइरहेको छ । त्यसमा बिलको आधारमा अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

किन बढ्यो तेलको मूल्य
सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञापश्चात लागु गरेको तेलको मूल्यले इतिहास कायम गरेको छ । त्यस्तै तेलको मूल्य निरन्तर बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यले गर्दा वृद्धि भएको उद्योगीहरूले जनाएको छ ।

जसमा यसअघि नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघले कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भए पनि कोरोना भाइरस महामारीका कारण र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यवृद्धि गराएको स्पष्ट पारेको छ ।

संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा बृद्धि हुन गएको जनाएको छ ।

‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ,’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख थियो ।

संघका अनुसार विगत १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मूल्यवृद्धि नै रहेको जनाएका थिए ।

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय बजारमा वितरण तथा निकासी समेत गर्दै आइरहेका छन । यी उद्योगहरूले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्दै आइरहेका छन् ।

एक वर्षअघि अर्थात २०२० मार्चमा अर्जेन्टिनाबाट प्रतिटन ६ सय १४ डलरमा खरिद गरिएको क्रुड सोयाबिन बढेर १२ सय ७९ डलर र युक्रेनमा ६ सय ५६ डलरमा खरिद गरिएको क्रुड सोयाबिनको तेल बढेर १५ सय ८० डलर पुगेको संघको भनाइ छ ।

त्यस्तै, संघले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराएको विवरणअनुसार २०२१ अप्रिल ८ गतेमा क्रुड सोयाबिन प्रतिटन ११ सय ९० बाट बढेर अप्रिल २२ सम्म आइपुग्दा १२ सय ७९ डलर पुगेको छ ।

हल्दियासम्म आइपुग्दा भाडा शुल्कसहित १३ सय ५० डलर पुगेको संघले उल्लेख गरेको छ । साथै, क्रुड सनफ्लावरको मूल्य पनि अप्रिल ८ मा १५ सय ३० डलर थियो, अप्रिल २२ सम्म आइपुग्दा १५ सय ८० डलर, भाडा शुल्कसहित हल्दियासम्म पुग्दा १६ सय ६० डलर पुगेको छ । यसले गर्दा तेलको मूल्य वृद्धि भएको संघको भनाइ छ ।


क्लिकमान्डु