वैशाख महिनामा विद्युतीय भुक्तानी कारोबार साढे १४% ले घट्यो, मोबाइल बैंकिङ कारोबार बढ्यो



काठमाडौं । बैशाख महिनामा विद्युतीय भुक्तानी कारोबार घटेको छ । गत चैतमा भएको कारोबारको तुलनामा बैशाख महिनामा यस्तो कारोबार ५ खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकले विद्युतीय कारोबारमा आरटिजीएस, एटिएम, इसीसी, आइपीएस, अनेन्ट आइपीएस, डेविट, क्रेडिट र प्रिपेड कार्ड, इन्टरनेट÷ मोबाइल बैंकिङ, वालेट, क्युआर/पिओस र इकर्मश पेमेन्टलाई समावेश गरी तथ्यांक सार्वजानिक गर्दछ ।

सार्वजनिक तथ्यांकअनुसार गत चैत मसान्तसम्म कुल ३६ खर्ब ८६ अर्ब ६० करोड रुपैयाँ बराबरको विद्युतीय भुक्तानी कारोबार भएको थियो । बैशाख मसान्तसम्म आईपुग्दा यस्तो कारोबार ३१ खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । यस्तो कारोबार गत चैत महिनाको तुलनामा बैशाखमा १४.५८ प्रतिशतले घटेको हो ।

तर, कुल विद्युतीय भुक्तानी कारोबार एक महिनामा घटेपनि मोबाइल बैंकिङ कारोबार भने बढेको छ । सो अवधिमा सम्पुर्ण विद्युतीय भुक्तानी कारोबार घटेको छ । यद्यपि मोबाइल बैंकिङ कारोबार भने गत चैत महिनाको भन्दा बैशाख महिनामा २३ करोड ५० लाख रुपैयाँले थप भएको छ ।

गत चैत महिनामा ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको मोबाइल बैंकिङ कारोबार भएको थियो । जसमा बैशाख महिनामा आइपुग्दा ०.४८ प्रतिशतले वृद्धि भएर ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

सबै स्थानीय सरकारले कोभिड-१९ को संक्रमण जोखिम न्यून गर्न गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारणसहज आवतजावतामा पुगेको अवरोधले गर्दा भौतिक उपस्थितमा हुने बैंकिङ कारोबार घट्दा मोबाइल बैकिङ कारोबार बढेको जानकारहरु बताउँछन् ।

गत चैत महिनामा भएको कारोबारको तुलनामा बैशाख महिनामा आरटिजीएस १ खर्ब ९६ अर्ब ८ करोड रुपैयाँले घटेर १९ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ, एटिएम कारोबार १२ अर्ब ५३ करोड रुपैयाँले घटेर ५८ अर्ब ६ करोड रुपैयाँ र इसीसी कारोबार २ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँले घटेर ६ खर्ब ५७ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, आइपीएसमार्फत्को कारोबार ३७ अर्ब ५५ करोड रुपैयाँले घटेर १ खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँ, कनेन्ट आइपीएस कारोबार ५३ करोड रुपैयाँले घटेर १ खर्ब ४१ अर्ब २७ करोड, डेविट कार्ड कारोबार १३ अर्ब ४४ करोड रुपैयाँले घटेर ६० अर्ब ६९ करोड, क्रेडिट कार्ड कारोबार ४४ करोड रुपैयाँले घटेर ६९ करोड र प्रिपेड कार्ड कारोबार १ करोड ५० लाख रुपैयाँले घटेर ६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

गत चैत महिनामा भएको कारोबारमा बैशाख महिनामा इन्टरनेट बैंकिङ कारोबार १३ करोड रुपैयाँले घटेर १० अर्ब ८ करोड, वालेट कारोबार १९ करोड रुपैयाँले घटेर १० अर्ब १० करोड, क्युआर कारोबार १९ करोड रुपैयाँले घटेर २ अर्ब ५२ करोड रुपैयाँ, पिओस कारोबार १ अर्ब ७ करोड रुपैयाँले घटेर २ अर्ब ६१ करोड र इकर्मश पेमेन्ट कारोबार २९ करोड रुपैयाँले घटेर ७६ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।


पुष्प दुलाल