३२ वर्ष पुरानो शुभतारा स्कुल बन्द गरेर होटल खोल्ने कि ट्रस्ट बनाउने ?



काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित विद्यालयमध्ये ‘राम्रो क्याटेगोरी’मा ‘शुभतारा’ पनि पर्छ । तर सञ्चालन शुरु भएको ३२ वर्षपछि विद्यालयका सञ्चालकहरु बन्द गर्ने कसरतमा छन् ।

सञ्चालकहरुले विद्यालय घाटामा गइरहेको र घाटा बढ्दै जाँदा धान्न सक्ने अवस्था नरहेकाले बन्द गर्नुको विकल्प नभएको तर्क गर्दै आएका छन् ।

सञ्चालकहरुले अभिभावकहरुलाई गत साताअघिको बिहीबार राति इमेलमार्फत् विद्यालय बन्द गर्ने जानकारी गराएपछि यतिबेला अभिभावक, शिक्षक तथा कर्मचारीहरु सञ्चालकसँग रुष्ट छन् ।

साथै यो विषयको विवाद बढ्दै जाँदा अभिभावक संघ तथा स्थानीय निकायको पनि संलग्नता बढेको छ । तर के गर्ने भन्ने निर्णयको टुंगो अझै लागेको छैन ।

किन भयो विवाद ?
यसका पछाडि सबैका आ-आफ्नै तर्क छन् ।

सञ्चालक रानी गुरुङ कक्षपतीका अनुसार विद्यालय मासिकरुपमा लाखौं रुपैयाँ घाटामा गइरहेको छ र अब विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन ।

३२ वर्ष पुरानो शुभतारा स्कुल सधैँका लागि बन्द, अभिभावकद्वारा विरोध

विद्यालयको बोर्ड सदस्य समेत रहेका महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष वासुदेव गौतमले कोरोना महामारीपछि अभिभावकहरुले समयमै पैसा नबुझाएको, पैसा बुझाउन आनाकानी गरेको सञ्चालकहरुको दावी रहेको बताए ।

‘उहाँहरुले अभिभावकले पैसा नदिएको, अनलाइन कक्षा सञ्चालन गरेवापतको पैसा नउठेको बताउँदै आउनु भएको छ । जसका कारण विद्यालयलाई मासिक १० देखि १२ लाख रुपैयाँसम्म घाटा भइरहेको उहाँहरुको तर्क छ,’ उनले भने ।

यस्तो अवस्थामा विद्यालय बन्द गर्नुको विकल्प नभएको सञ्चालकहरुको दावी रहेको गौतमको भनाइ छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार एकातिर विद्यालय घाटामा गइरहेको र अर्कोतर्फ सञ्चालकहरुको स्वास्थ्य अवस्था पनि प्रतिकुल रहेको सञ्चालक रानी कक्षपतिको तर्क रहेको बताए ।

‘रानीजीले विद्यालयका अध्यक्ष श्याम कक्षपति क्यान्सर पीडित तथा आफ्नो स्वास्थ्य अवस्था पनि अनुकुल नभएको तथा विद्यालय लगातार घाटामा गइरहेको तर्क गरिरहनु भएको छ,’ भण्डारीले भने ‘तर विद्यालय कति घाटामा छ भन्ने प्रमाणित भइसकेको छैन ।’

भण्डारीले आफूले नगरपालिकालाई एउटा अधिकार सम्पन्न समिति बनाएर, ब्यालेन्स सिटसमेत अध्ययन गरेर वास्तविक अवस्था पत्ता लगाएर मात्रै निर्णय लिन सुझाव दिएको जानकारी दिए ।

‘अभिभावकले पैसा बुझाएनन् वा विद्यालय घाटामा छ भन्ने उहाँहरुको तर्क हो । तर त्यो त अध्ययन गरे पछि न थाहा हुने हो । त्यसैले पहिले समिति बनाएर अध्ययन गरौं र अनि बल्ल निर्णय गरौं भनेको हो,’ उनले भने ।

उनले सकेसम्म विद्यालय बन्द नगर्ने र अध्यापन जारी राख्नेमा आफूहरुले बहस गरिरहेको बताए ।

व्यवस्थापन कसरी छ ?
विद्यालय बन्द गर्ने निर्णयसँगै सञ्चालकका तर्फबाट २ वटा प्रस्ताव आए । एउटा विद्यार्थीको हकमा र अर्को विद्यालय सञ्चालनको हकमा ।

विद्यालयमा अध्ययनरत ३ सयको हाराहारीमा विद्यार्थीहरुलाई व्यवस्थापन न्यू मिलेनियम स्कुलमा गर्ने प्रस्ताव सञ्चालनले राखे । यसमा कक्षा १० का विद्यार्थीको हकमा सोही विद्यालयमा व्यवस्थापन गर्ने र अन्य कक्षामा अध्ययनरत विद्यार्थीको हकमा अभिभावकलाई सोही विद्यालयमा अध्ययन गर्न बाध्य नपार्ने र अभिभावक विद्यार्थी लैजान स्वतन्त्र हुने ।

सञ्चालकका तर्फबाट आएको अर्को विकल्प थियो २ वर्षसम्म बन्द गर्ने र त्यसपछि ट्रस्टमा परिवर्तन गरेर विद्यालय सञ्चालन गर्ने ।

बोर्ड सदस्य गौतमका अनुसार २ वर्षसम्म पूर्णरुपमा बन्द गर्ने र अब व्यवसायिक रुपमा नभइ गैरनाफामूलक संस्थाका रुपमा सञ्चालन गर्ने गरी ट्रस्टमार्फत् सञ्चालन गर्ने उहाँहरुको प्रस्ताव मात्रै आएको छ । छलफल भइसकेको छैन ।

यता अभिभावकहरु भने ८० भन्दा बढी रोपनी क्षेत्रफलमा उक्त विद्यालय अवस्थित जग्गामा होटल सञ्चालनको तयारी भइरहेको पनि यदाकदा आफूहरुले सुनेको दावी गर्दै आएका छन् ।

विद्यालय सिस्नेरी सामूदायिक वनभन्दा अलिकति तलपट्टी हेको शान्त र सुन्दर ठाउँ लामाटारमा अवस्थित छ ।

तर यहाँनिर स्कुल नचलेर होटल खोल्न लागिएको हो वा होटल खोल्नका लागि स्कुल बन्द गर्न खोजिएको हो त्यो स्पष्ट अझै छैन । अभिभावकहरु यदि होटल खोल्ने नियतले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको हो भने त्यो मान्य नहुने स्पट पारिसकेका छन् ।

गुणस्तरीय शिक्षा दिनमा सधै दृढ रहेको आफूलाई दावी गरेको यो विद्यालयका सञ्चालकहरु भने यतिबेला जसरी पनि बन्द गर्ने ध्याउन्नमा छन् ।

शुभतारा सन् १९८९ मा स्थापना भएको विद्यालय हो । तत्कालिन समयमा ३४ जना विद्यार्थीबाट शुरु भएको यो विद्यालयले दोस्रो वर्षमै विद्यार्थी संख्या दोब्बर बनाएको थियो । विद्यालयले सन् २०१८ देखि कक्षा ११ र १२ को अध्यापन पनि शुरु गरेको थियो ।

यो स्कुल शुभ गुरुङले स्थापना गरेकी हुन् । शुभ कि छोरी रानी गुरुङ विद्यालयकी निर्देशक हुन् ।


क्लिकमान्डु