सरकारसँग खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात कति छ ?



काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकमा विभिन्न स्थानमा लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका र देशभर खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दावी गरेको छ ।

निषेधाज्ञाका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको पनि मन्त्रालयको दावी छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीकाअनुसार अत्यावश्यक वस्तुको ढुवानी तथा वितरण प्रणालीमा कुनै समस्या छैन । त्यस्तै उपभोग्य वस्तुको मौज्दात र भण्डारण पनि पर्याप्त रहेको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न सामग्री, खानेतेल, घ्यू, स्यानिटाइजरलगायतका वस्तुहरु काठमाडौं उपत्यकाका ४ वटा स्थानबाट बिक्री वितरण गरिरहेको छ ।

बिहीबारसम्ममा कम्पनीसँग २९ हजार ३३१ मेट्रिक टन चामल मौज्दात छ भने ५ हजार मेट्रिक टन चामल खरिदको क्रममा रहेको छ । सरकारी कम्पनीसँग ४ हजार ३८८ मेट्रिक टन गहुँ मौज्दात रहेको छ ।

त्यस्तै, खाद्य व्यवस्था कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र निजीक्षेत्रसँग समेत गरी ५० हजार ९८० मेट्रिक टन चिनी मौज्दात रहेको छ । जसमध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग ७६९ मेट्रिक टन र बाँकी निजीक्षेत्रसँग रहेको छ । निजी क्षेत्रसँग रहेको चामलले ४ महिना र दलहनले ३ महिना धान्नसक्छ ।

पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था पनि सहज रहेको मन्त्रालयले जनाएको छ । अहिले पेट्रोलियम पदार्थको आयातमा कुनै अवरोध छैन ।

हाल नेपाल आयल निगम लिमिटेडसँग ४८ हजार २४५ किलोलिटर पेट्रोलियम पदार्थ रहेको छ । अहिलेको मौज्दातले कम्तीमा ७ देखि १० दिनसम्मको माग धान्नसक्छ ।

त्यस्तै निगमले वैशाख महिनाका लागि खाना पकाउने ग्यासमा तोकेको कोटाअनुसार ४६ हजार ३३२ मेट्रिक टन बिक्री वितरण गरिसकेको छ । ग्यासको आयात नियमित रुपमा भइरहेकाले आपूर्तिमा कुनै समस्या नहुने पनि मन्त्रालयले जनाएको छ ।

खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री उत्पादन तथा वितरणको काम गर्ने श्रमिकहरुलाई स्वास्थ्य सुरक्षा पालना गरी सहज वातावरणमा काम गर्न दिइएकाले पनि त्यस्ता सामग्रीको अभाव नहुने मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु