विकृतिको चक्रब्यूहुमा फसेको एकल बीमा पोलिसीमा गरिएको कडाइले के फाइदा हुन्छ ?



काठमाडौं । आगामी दिनमा जीवन बीमा कम्पनीहरुको व्यवसाय तथा नाफा घट्ने देखिएको छ । बीमा समितिले एकल बीमामा गरेको कडाइसँगै जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा असर पर्ने भएको हो ।

वार्षिक व्यवसायको लक्ष्य पूरा गर्न बीमा कम्पनीहरुले एकल बीमा पोलिसीलाई साहरा बनाउँदै आएका थिए । बीमितले कुनै पनि कम्पनीबाट पोलिसी खरिद गरेपछि आफ्नो इच्छाअनुसार पोलिसी सरेन्डर गर्न पाउने व्यवस्था बीमा ऐनले गरेको छ ।

यही सुविधाको दुरुपयोग गर्दै बीमा कम्पनी र अभिकर्ताले गलत अभ्यास एकल बीमामा गरेपछि समितिले ३ वर्षसम्म सरेण्डर गर्न नपाउनुका साथै पोलिसी धितोमा कर्जासमेत ३ वर्षपछि मात्र लिन पाउने व्यवस्था गरिसेको छ ।

तर, बीमा समितिले यसका कडाइ गरेसँगै जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र नाफा घट्ने भएको हो । निश्चित आम्दानी भएका व्यक्तिले एकैपटक प्रिमियम भुक्तानी गरी गर्ने बीमा पोलिसी एकल बीमा भनिन्छ ।

आम्दानीको स्रोत सुनिश्चितता नहुँदा बीमितले तत्कालिन अवस्थामा आफुसँग भएको पैसाबाट आजीवन सुरक्षित हुन चाहेमा कम्पनीहरुले एकल बीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था छ ।

एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)

तर, एकल बीमा पोलिसीमा गरिएका केही प्रावधानको गलत अभ्यास गर्दै कम्पनीहरु विकृति फैलाएपछि यसमा कडाइ गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

समितिले यही चैत २४ गते बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै कडाइ गर्न निर्देशन दिएको हो । समितिले गरेको अध्ययनमा एकल बीमा पोलिसीमा व्यापक विकृत्ति भएको पाइएको थियो ।

हटाउन होइन घटाउन एकल बीमा पोलिसीमा कडाइ

एकल बीमा पोलिसी लिएको केही समयमै ऋण लिने र अर्कोे वर्ष सरेन्डर गर्ने विकृत्ति बढ्दा तथ्यांकमा मात्र कम्पनीको व्यवसाय बढ्ने र संस्थामा नगद प्रवाह नहुने हुँदा पोलिसीका केही प्रावधानमा कडाइ गरिएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

अहिलेसम्म कम्पनीले एकल बीमा पोलिसी बिक्री गरेको १ वर्षपछि कर्जा लिन पाउने र सरेन्डर गर्न पाउने व्यवस्था गरेको थियो । सरेन्डर भ्याल्लु बढाएर सो समयभित्र कर्जा लिन नपाउने व्यवस्थाले यसमा देखिएका विकृति स्वत हराएर जाने पौडेलको भनाइ छ ।

‘बीमा नै नगर त भन्न मिल्दैन तर चाहेको बेलामा कर्जा लिन नपाउने र सरेन्डर गर्न नपाउने भएपछि यो पोलिसी खरिद गर्ने आफैं घटेर जान्छन्,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘यो कदम समितिले बिमकहरुको आग्रहमा गरेको हो, यसले केही बीमा कम्पनीहरु व्यवसाय घटी नाफामा केही असर परे पनि दीर्घकालमा फाइदा नै हुन्छ ।’

निश्चित आय भएकाहरुले आफुसँग पैसा भएको बेलामा बीमामार्फत् आफ्नो भविश्य सुनिश्चित गर्न एकल बीमा पोलिसीले सहयोग गरिरहेको हुँदा सो पोलिसी हटाउने पक्ष समिति नभएको उनको भनाइ छ ।

‘एकल बीमामा विसङ्गति आएको हुनाले समितिले त्यसलाई कडाइ गरिएको हो तर हटाउनु पर्छ भन्ने पक्षमा समिति छैन,’ उनले थपे, ‘केही बीमा कम्पनी र एजेन्टहरुले व्यक्तिगत फाइदाको लागि यसमा गरिएको व्यवस्थाको दुरुपयोग गरी तथ्यांकमामात्र व्यवसाय देखाउने गर्दा वित्तीय रिपोर्टमा आम्दानी भए पनि संस्थामा नगद प्रवाह नहुने भेटिएको छ ।’

एकल बीमा पोलिसीमा गरिएको कर्जाका व्यवस्थाले एन्टी मनि लाउण्ड्रिङ (एएमएल) सेफ्टीका विषय पनि जोडिएका छन् । एएमएल सेप्टी राज्यले नै लिएको नीति भएको कारणले एकल बीमा पोलिसीमार्फत् जाने कर्जाको दुरुपयोग नहोस् भन्ने उदेश्यले सो व्यवस्था गरिएको उनको भनाइ छ ।

बीमाको सिद्दान्तमा टेकेर एकल बीमाको गलत प्रयोग

आम्दानी निश्चित नभएका व्यक्तिहरु जस्तैः वैदेशिक रोजगारीमा जाने वा एकै पटक प्रतिफल दिने प्रकारको व्यापार व्यवसायमा लगानी गर्नेको लागि उपयुक्त बीमा पोलिसी एकल बीमा पोलिसी हो । यसमा मासिक वा वार्षिकरुपमा नियमित प्रिमियम तिर्न समयमा आम्दानी नहुनेले भएको समयमा एकैपटक प्रिमियम तिरेर पोलिसी खरिद गर्न सक्छन् ।

केही समय अघिसम्म एकल बीमा पोलिसीलाई प्रथम बीमा शुल्क संकलनमा समावेश गरेर व्यवसायको आकार देखाउन पाइँदैन थियो ।

तर, बीमा समितिले यसमा लचकता देखाउँदै एकल बीमालाई पनि पनि प्रथम बीमा शुल्क संकलनमा समावेश गर्न पाउने व्यवस्था गर्यो । जसको फलस्वरुप कम्पनीले यसलाई व्यवसायीक टार्गेट पुरा गर्ने र अभिकर्ताले कमिशन कमाउने बाटो बनाएको सरोकारवाला बताउँछन् ।

आय स्रोत निश्चित भएका व्यक्तिहरुलाई लक्षित गरेर ल्याइएको एकल बीमा पोलिसीलाई निश्चित व्यक्तिहरुले कमाउने बाटो बनाएको हुँदा यसमा कडाइ गरिन आवश्यक नै भएको बीमा समितिका पुर्वकार्यकारी निर्देशक श्रीमान कार्कीले बताए ।

‘त्यो बेला हामीले थोरै बचत गरेर पछि राम्रो रकम प्राप्त हुन्छ बीमितको सुरक्षा पनि हुन्छ भनेर ३ महिनाभन्दा बढी अध्ययन गरेरमात्र जारी गरिएको हो,’ कार्कीले क्लिकमाण्डूसँग भने, ‘पोलिसी जारी गरेपछि केही समयसम्म मध्यमवर्गिय आम्दानी भएले २/३ लाख रुपैयाँसम्म मात्र पोलिसी खरिद गरेको पाइएको थियो । कम्पनीमै पैसा आउने भएपछि हामीले नै एक वर्षमा ऋण दिन मिल्ने व्यवस्था गरिदिएको हो । तर, अहिले त करोडौंको पोलिसी खरिद गरी कर्जा लिने प्रवृत्ति मौलाएको रहेछ ।’

अहिले बीमा कम्पनीहरुले एक महिना अघिको मितिमा पोलिसी काटेर भोलिपल्ट नै कर्जा दिन थालेको उनको भनाइ छ ।

‘एक महिनाअघिको मितिमा आज एकल बीमा पोलिसी खरिद गरेर भोलिपल्टै कर्जा लिने गर्दा एकल बीमा पोलिसीमा बीमा कम्पनीको काम त मिति मिलाउनेभन्दा केही भएन, जुन चरम विकृत्ति हो,’ उनले थपे, ‘त्यसकारण आफ्नो कार्यकालमा जारी गरेको पोलिसी बन्द गराउँदा दुःख कति पनि लागेको छैन ।’

कुनै एकपक्षले मात्र फाइदा लिने पोलिसीलाई बीमाको सिद्दान्तअनुसार नै बन्द गराउनु पर्ने उनको भनाइ छ ।

‘अहिले बीमा कम्पनीका सीइओ साबहरुले अंकमा मात्र विजनेश देखाउन यसको प्रयोग राम्रोसँग गरेका छन्,’ उनले भने, ‘तर त्यो बिजनेशको पैसा कहाँ छ भन्ने विषयमा भने नियमनकारी निकायले सुपरिवेक्षण गर्नुपर्छ ।’
एकल बीमा पोलिसीमा कडाइ गर्नुका साथै, यसको सीमासमेत निर्धारण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

व्यवसाय तथा नाफा घटेपनि दीर्घकालमा कम्पनीलाई राम्रो

अहिले आफुसँगै भएको स्रोतले पोलिसी खरिद गर्ने र आजीवन बीमित भएर लाभ लिन यो पोलिसी धेरै राम्रो मानिन्छ । तर, बीमा समितिले यसका प्रावधानमा कडाइ गरेसँगै पोलिसी खरिदमा आकर्षण घट्ने कम्पनीका सीइओहरु बताउँछन् ।

कुनै एकपक्षलाई मात्र फाइदा हुने पोलिसीमा समितिले गरेको कडाइले अहिले कम्पनीको नाफा घटेपनि दीर्घकालमा फाइदा हुने जीवन बिमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए ।

‘बीमा समितिले कुनै पनि पोलिसी ग्राहक, कम्पनी, लगानीकर्ता र अर्थतन्त्रमा फाइदा कति पुग्छ भनेर जारी गर्न स्वीकृति दिने हो । तर, कुनै पोलिसीको फाइदा एकपक्षलाई मात्र भएमा त्यसमा कडाइ गर्नु वा बन्द गराउने स्वागत योग्य नै हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यसमा गरिएको कडाइले तत्कालमा कम्पनीहरुको व्यवसाय र नाफामा असर गरे पनि दीर्घकालमा भने सकारात्मक प्रभाव पर्छ ।’

कुनै पनि कम्पनीले दीर्घकालिन र स्थीर व्यवसाय गर्नका लागि लामो समयसम्म सरेन्डर नहुने पोलिसी बिक्री गरी व्यवसाय गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

‘एक वर्षमै सरेन्डर गर्दा बीमितले बीमाले दिने फाइदाहरु केही पनि उपयोग गर्न पाउँदैन भने निश्चित स्वार्थ लिएर बीमा गराउने वा गर्न लगाउने पक्षले मात्र यसको फाइदा पाउँछन्,’ उनले थपे, ‘बीमा गरी लामो समयसम्म सरेन्डर नगरी तोकिएको समयमा परिपक्क बनाउँदा ग्राहक, कम्पनी, लगानीकर्ता र अर्थतन्त्रमा सबै पक्षलाई फाइदा हुन्छ ।’

यसले बीमामा क्षेत्रको विकृत्ति रोक्नुको साथै बीमा क्षेत्रको व्यवसायमा स्थायित्व ल्याउने उनको भनाइ छ । एकल बीमा पोलिसीमा गरिएको कर्जा दिने र सरेन्डर गर्न पाउने व्यवस्थाको अनुचित प्रयोग गर्दा नै यसमा विकृत्ति फैलिएको नेपाल लाइफ इन्स्योरेन्सका पुर्वसीइओ विवेक झाको भनाइ छ ।

‘एकल बीमा पोलिसी आफैंमा खराब होइन, उदेश्य र गरिएको व्यवस्थाअनुसार सबैले कर्जा लिने सरेन्डर गरेको भए बीमा समितिलाई यस्तो कदम चाल्नु पर्ने स्थीति नै आउँदैन थियो,’ झाले क्लिकमाण्डूसँग भने, ‘तर यसमा राखिएको उदेश्य र प्रावधानको नै गलत प्रयोग गरियो, कुनै एक पक्षले व्यक्तिगत स्वार्थको लागि पहिले नै कर्जा लिने, मानिसलाई बीमाको सिद्दान्तको विपरित काम गर्न लगाउने, पोलिसी खरिद गर्न नै सिद्दान्त विपरितको फाइदा देखाएर ग्राहकलाई लोभ्याउने गर्न थालियो ।’

आम्दानीको बाटो बनाएर पोलिसी खरिद गर्दा नै सरेण्डर गर्न प्रक्रिया गरेको र बीमितले बीमाले दिने फाइदाहरु उपयोग गर्र्न नै नपाएको उनको भनाइ छ ।

‘पैसा कमाउनका लागि धेरै लगानीका क्षेत्रहरु छन्, सेयर बजार, बैंकको ब्याज अन्य धेरै ठाँउ छन्,’ उनले थपे, ‘कुनै पनि क्षेत्रमा एक पक्षिय फाइदाले निम्त्याउने विकृतिलाई रोक्न नियमक निकायले चाल्ने कदमलाई स्वागत गर्नु पर्छ ।’
कुनै कम्पनीले तत्कालिनरुपमा आफ्नो व्यवसाय वा नाफा घट्छ भनेर यसको विरोध नगरी दिर्गकालिन फाइदा हेरी स्वागत गर्न उनले आग्रह गरे ।


पुष्प दुलाल