जीडीपीमा नै प्रभाव पार्ने माथिल्लो तामाकोशीको लागत किन पुग्यो ८० अर्ब ?



काठमाडौं । कुनै समय ठूला आयोजना निर्माण गर्ने कुरा गर्नु नै नेपालका लागि सुहाउँदो विषय हुन सक्दैनथ्यो ।

कालीगण्डकी जलविद्युत् आयोजना निर्माण भएपछि देशभित्र बिजुली खेर जाने भन्दै राम्रै हौवा चलाइएको थियो ।

कूल १४४ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएपछि ठूला आयोजना बनाउनु हुँदैन भन्ने मत पनि उत्तिकै थियो ।
सोही ह्याङका कारण राजनीतिकरुपमा तिकडम गरेर अरुण तेस्रो जलविद्युत् आयोजनालाई खेदाइएको थियो । तथ्य र कारणहरु जे जस्ता भएपनि बिजुली खेर जाने कुतर्क गरेर ठूला आयोजना बनाउन रोकिएको थियो ।

अरुण तेस्रो गएका कारण खिम्ती र भोटेकोशीको मारमा नेपालको ऊर्जा क्षेत्र परेको थियो ।

पछिल्लो पटक माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घोषणा गरेका छन् ।

उनले भने अनुसार काम भयो भने आगामी वैशाखको अन्तिम सातासम्म आयोजनाको पहिलो यूनिट सञ्चालनमा आउनेछ । एउटा यूनिटको कूल क्षमता ७६ मेगावाट रहेको छ । सो आयोजना कूल ४५६ मेगावाट क्षमताको हो ।

२०६७ सालदेखि निर्माण शुरु भएको माथिल्लो तामाकोशीको काम सकिन झण्डै १० वर्ष लागेको छ । त्यसका पछाडि गोरखा भूकम्प, भारतको नाकाबन्दी, प्राकृतिक प्रकोप तथा कोरोना कहरका कारण आयोजना हरेक वर्ष पर सर्दैै आएको छ ।

२०७२ सालमा नै निर्माण सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोशीलाई सबैभन्दा बढी समस्या भूकम्पको समयमा हुन पुग्यो ।

भूकम्पले पहुँचमार्ग ध्वस्त पारिदियो । स्थानीय काभ्रेभीरमा सडकको सबै संरचना नै पहिरोले बगायो । पहिरो छिचोल्नका लागि आयोजनाले झण्डै ३०० मिटर लामो सुरुङमार्ग बनाउनु पर्यो ।

हरेक पटक समस्यामा पर्दै आएको आयोजना डिजाइनमा आएको परिवर्तन तथा ठेकेदार कम्पनीको बदमासीका कारण झनै समस्यामा पर्यो । समस्या समाधानका लागि हरेक महिना जसो नै नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजना स्थलमा पुगे ।

ठेकेदार, आयोजनाका कर्मचारी, प्राविधिक तथा अन्य सम्वद्ध निकायसँग छलफल गरे । आयोजनालाई सही ट्रयाकमा ल्याए । तर बिडम्बना उनले जति सुकै प्रयास गरेपनि आयोजना आफनो कार्यकालमा सम्पन्न गर्न पाएनन् ।

शुरुमा कूल ३५ अर्ब लागत भनिएको भएपनि आयोजना समस्यामा पर्यो । हरेक वर्ष लागत बढ्दै जाँदा आगामी वैशाख मसान्तसम्म कूल लागत मात्रै ८० अर्बको हाराहारीमा पुग्ने देखिएको छ ।

समय र लागत बढ्दै जाँदा सबैभन्दा सस्तो भनिएको माथिल्लो तामाकोशीको लागत पनि अन्य आयोजनाकै हाराहारीमा पुगेको छ ।

नेपालको आफ्नै लगानीमा निर्माण गरिएको आयोजनाको लागत बढेर उच्च बिन्दुमा पुगेपनि देशका लागि आयोजना एउटा कोशेढुंगा सावित हुने दिशामा अगाडि बढेको छ । ठूला आयोजना पनि नेपालले निर्माण गर्न सक्छ, त्यो पनि आफ्नै लगानीमा भन्ने स्थापित गरिदिनेछ ।

आयोजनाको डिजाइन परिवर्तन गर्दा नै थप १८ महिना समय लागेको थियो । शुरुको डिजाइन गलत भएपछि बाध्य भएर नयाँ डिजाइन गर्नुपरेको आयोजनाका सम्वद्ध अधिकारी बताउँछन् ।

गोरखा भूकम्पका कारण आयोजना अर्को २ वर्ष पर धकेलियो । किनकी, पहुँचमार्ग तथा अन्य संरचनाको भएको क्षति मूल्याकंनका लागि नै लामो समय लाग्यो ।

आयोजनाको निर्माणको जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकोले अर्को बर्बादी गर्यो । तोकिएको काम नगर्ने, आयोजनाको लागत र समय बढाउने काममा उक्त भारतीय कम्पनीले जानी नजानीकन व्यवहार गरेको देखिन्छ ।

आयोजनाका सम्वद्ध अधिकारीका अनुसार टेक्सम्याकोले आयोजनामा चरम लापरवाही र बर्बादी गरेको देखिन्छ । तर, ठेक्का रद्द गर्दा अन्य जटिलता आउने भएकाले उसलाई फकाई फकाई काम गर्न लगाइएको हो ।

किनकी, आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने कि, लागत र समय बढाउने भन्ने कुराको केन्द्रमा ठेकेदार हुन्छ ।

माथिल्लो तामाकोशीमा भारतीय कम्पनीको भूमिका समयमा सामान नल्याउने, तोकिएको काम नगर्ने, कम कामदार परिचालन गर्नेमा नै केन्द्रित रहेको तथ्य आयोजना स्थल पुग्ने जोकोहीले पनि अनुभव गरेका थिए ।
परामर्शदाताले टेक्सम्याकोले लिएको कामको जिम्मा समेत अष्ट्रियन कम्पनी एण्ड्रिज हाइड्रोलाई दियो । सो कम्पनीले

प्रभावकारी रुपमा आयोजनाका काम गरेका कारण निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

पछिल्लो पटक कोरोनाका कारण पनि आयोजना झण्डै ६ महिनासम्म व्यवधानमा पर्यो । आयोजनामा भएको ढिलाइका कारण कर्मचारी सञ्चय कोष तथा अन्य निकायबाट लिएको ऋणको पारो समेत राम्रैगरी चढीरहेको छ ।

आयोजनाको झण्डै ९२ प्रतिशत भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ । आयोजनाको काम शुरु हुँदा १ अमेरिकी डलर बराबर झण्डै ७२ रुपेयाँ थियो । पछिल्ला दिनमा डलरको भाऊ झण्डै १२० को हाराहारीमा पुग्यो । त्यसबाट पनि आयोजनाको लागत बढ्न पुगेको छ ।

प्राधिकरणले सहायक कम्पनीमार्फत् आयोजना बनाउदा अमेरिकी डलरको मूल्य ८० रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको आयोजनाका सम्बद्ध अधिकारी यतिबेला पनि स्मरण गर्छन् । तर, अनुमानको विपरीत डलरको भाऊ बढ्दा समस्या माथि समस्या खडा भयो ।

हाल आयोजनाको बाँध, सुरुङ, प्रसारण लाइन, सवस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम जारी छन् ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाखभित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरु तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।

मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्तरुपमा बाँकी रहेका निर्माण कार्यहरु शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गरेका थिए ।

बाँकी रहेका कामहरु आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६÷६ वटा टर्वाइन र जेनेरेटरहरुको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत उत्पादन सुरु हुने शाक्यले जानकारी दिए ।

मुलुकको कूल ग्राहस्थ उत्पादनमा नै तात्विक असर पार्ने आयोजना ढिला हुँदा तयसले पारेको प्रभाव ठूलो रहेको छ । ठूला आयोजना निर्माण गर्दा आइपर्ने जटिलता तथा प्राविधिक कठिनाईका बारेमा समेत सो आयोजनाले राम्रै पाठ पढाएको छ । त्यसकारण आगामी दिनमा राम्रो तयारी गरेर आयोजना अगाडि बढाउनु जरुरी रहन्छ ।


क्लिकमान्डु