चमत्कारिक आर्थिक विकासले बंगलादेश यसरी बन्दैछ नयाँ शक्तिकेन्द्र



काठमाडौं । सन् २००८ सम्म बंगलादेश चरम राजनीतिक अन्तरविरोधमा थियो । दुई महिलाको झगडामा राजनीति लहरिन्थ्यो, बंगालको खाडीको आँधीजसैगरी ।

समाज विभाजित थियो । शेख हसिना र बेगम खालिदा जियाबीचको शक्ति संघर्षले अर्थतन्त्र धारासायी बनेको थियो । वैदेशिक रोजगारीमा जाने बंगालीको संख्या उल्लेख्यमात्रामा बढिरहेको थियो ।

मानिसहरुमा आशाभन्दा निराशा बढी थियो । उनीहरु राजनीतिले मुलुक बिगारेको भन्दै राहदानीमा छाप लगाउन अभिसप्त थिए । मानिसको दैनिक रोजीरोटी चलाउने कुनै उपाय थिएन भन्दा फरक पर्दैन थियो ।

झण्डै १३ वर्षदेखि बंगलादेशमा लोकतन्त्र छैन । किनकी शेख हसिनाको एकदलीय शासन जबरजस्त स्थापित छ । मानिसलाई त्यसको परवाह छैन ।

तर, अर्थतन्त्र दिनप्रतिदिन तिव्र गतिमा अघिबढिरहेको छ । मानिसहरु भन्न थालेका छन् बंगलादेश दक्षिण एशियाको अर्को राजनीतिक शक्तिकेन्द्र बन्दैछ ।

दक्षिण एशियाको आर्थिक केन्द्रमा रुपमा रहेको भारतलाई समेत उछिनेर अगाडि बढ्ने यात्रामा छ, बंगलादेश । विश्व बैंकको तथ्यांक अनुसार सन् २०१९ मा बंगलादेशको आर्थिक वृद्धिदर ८.२ प्रतिशत थियो । यस्तै, सन् २०२० मा कोरोना लगायतका कारण भएपनि ६.८ प्रतिशत बराबरको आर्थिक वृद्धि भयो ।

बंगलादेशको कूल ग्राहस्थ उत्पादन ३१८ बिलियन डलर बराबरको रहेको छ । यस्तै जिडिपी पर क्यापिटामा हिसाब गर्दा (नोमिनल) दुई हजार ६४ अमेरिकी डलर छ । सन् २०२१ मा दक्षिण एशियाको कूल वृद्धिदर ६.९ हुने प्रक्षेपण भइरहेको बेला बंगलादेशको भने अघिल्लो वर्षको तुलनामा मात्रै ०.५ प्रतिशतले अर्थतन्त्रको वृद्धिदरमा संकुचन आउने यूएन डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड सोसल अफेयरको विवरणमा उल्लेख छ ।

बंगलादेशले झण्डै ८० प्रतिशत तयारी पोशाक तथा गार्मेन्टको निर्यात गर्दै आएको छ । त्यस उद्योगमा बंगलादेश अब त एकल निर्यातक मुलुककोरुपमा स्थापित हुँदै गएको छ । 

बंगलादेशको हसिना सरकारले उच्चगतिको आर्थिक वृद्धि गर्न आफूहरु लालायित रहेको र सोही अनुसारको काम भइरहेको दावी गरेको छ । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालका अनुसार आफनो देशको आर्थिक वृद्धिदर (२०२०-२१)मा १.६ प्रतिशतले वृद्धि हुनेछ ।

आर्थिक शक्ति बन्दै गएको बंगलादेशमा सन् २००८ देखि राजनीतिक स्थिरता छ । तर, प्रजातन्त्र छैन । आलोचकहरु भन्छन्,– ‘प्रजातन्त्र देखिन्छ, अनुभव गर्न सकिदैन ।’

तर, आर्थिक वृद्धिको यात्रामा बंगलादेश लामो दौडको घोडाजस्तै अगाडि बढेको छ । मानिसहरुमा एक प्रकारको जिज्ञासा छ, कसरी भइरहेको छ, यी सबै काम ?

बंगलादेशले गएको साता आफनो स्वतन्त्रताको ५०औं वर्षगाठ मनायो । राष्ट्रपिता बंगलबन्धुको १००औं जन्म शताब्दीको स्मरणमा आयोजना गरिएको साताव्यापी समारोहमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकका प्रधानमन्त्री महिन्द्रा राजापाक्षे, भुटानका प्रधानमन्त्री लाटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले बंगलादेशको भ्रमण गरे ।

सात दिनको अवधिमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री हसिनाले आफना समकक्षीहरुको न्यायो स्वागत सत्कार गरे । अवसर जुटाइदिएको थियो, स्वतन्त्रताको वार्षिकत्सवले । कोरोनाको दोस्रो लहरले संसार भयग्रस्त बनिरहेको बेला दक्षिण एशियाको सानो देश संसारभरका लागि चासोको विषय बन्यो ।

आखिर भइरहेको छ के ? सँधै राजनीतिक संघर्ष र खिचातानीमा मात्रै हराइरहेको देशले गरिरहेको छ के ? यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यी र यस्ता विषयलाई लिएर बंगलादेशको चर्चा हुने गरेको छ ।

विकासका लागि लोकतन्त्र र विकासपछिको लोकतन्त्र भन्ने सवालकाबीचमा बंगलादेशले आफना छिमेकी देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याएर न्यानो स्वागत गर्यो । सामाजिक फाँसीवाद लागू गरेको आरोप लाग्दै आएको भारत र उस्तै अवस्थाको अभ्यास गरिरहेको बंगलादेशमा मोदीको भ्रमणलाई लिएर आक्रोश व्यक्त भयो । केही मानिस मारिए पनि । तर, यसको पछाडि लामो कहानी छ, वर्षौदेखिको विकास र समृद्धिको लाभा पनि छ ।

कथा यसरी शुरु हुन्छ ।

सन् १९७१ मा पाकिस्तानबाट स्वातन्त्र भएपछि पूर्वीपाकिस्तान, बंगलादेशको नाममा उदायो । बंगलबन्धुको नामलाई सम्मान दिएर बंगालीहरुले आफनो देशको नाम बंगलादेश राखे । स्वतन्त्रतापछि उनीहरुले अनेकन त्रासदी भोगे ।

भयावह गरिबी, प्राकृतिक विपद तथा संसारकै सबैभन्दा धेरै शरणार्थीको संकटबाट कहिल्यै पार पाउन सकेन । हालसम्म पनि ७ लाख ५० हजार रोर्हिग्या मुसलमान छिमेकी देश म्यानमारबाट आफनो थात थलो छाडेर बंगलादेशमा आएका छन् ।

यस्ता कयौं समस्याका बाबजूद पनि बंगलादेशले आर्थिक सफलता हासिल गरेको छ । उसले नयाँ–नयाँ इतिहासमा कायम गर्दै अगाडि बढेको छ । त्यसको केन्द्रमा छिन् अगावी लिगको प्रमुख शेख हसिना ।

बंगलादेशको आर्थिक वृद्धिको सफलताको कथा आम विश्वले थाहा पाउन लागेको एकाध वर्षमात्रै भएको छ । किनकी चुपचाप आर्थिक क्रान्तिको यात्रामा ऊ लगातार अगाडि बढिरहेको छ । र, शक्तिको हिस्सा बनिरहेको छ ।

उत्पादनमूलक उद्योगको क्षेत्रमा बंगलादेशले तिव्र गतिमा प्रगति गरेको छ । कपडा उद्योगमा बंगलादेश चीन पछिको दोस्रो नम्बरमा आउँछ । आर्थिक वृद्धिदरमा दक्षिण एशियामै शीर्ष एक नम्बरको हैसियत उसले बनाएको छ ।

सन् २०१८ मा ७.८६ प्रतिशतको आर्थिक वृद्धि गरेको बंगलादेशले कोरोना महामारीमा पनि आफूलाई डगमगाउन दिएन । किनकी, अर्थतन्त्रको शक्ति कति विशाल र प्रभावकारी हुन्छ भन्ने कुरा उसको आफ्नै अनुभवले सिद्द गरेको छ ।

सन् १९७४ को भयानक अनिकालपछि करिब १७ करोड जनसंख्या भएको देश खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनेको छ । सन् २००९ देखि नै बंगलादेशको प्रतिव्यक्ति आयमा ३ गुणाले वृद्धि भएको छ ।

विश्व बैंकका अनुसार प्रतिदिन १.२५ अमेरिकी डलरमा जीवन गुजारा गर्ने १९ प्रतिशत बंगालीको संख्या क्रमशः घटेर ९ प्रतिशतमा सिमित भएको छ । आगामी ५ वर्षभित्र त्यसलाई पूर्णरुपमा शुन्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको छ ।

शेख हसिना अहिले लगातार तेस्रो कार्यकालमा अगाडि बढीरहेकी छिन् । हसिनाको नेतृत्वमा बंगलादेशले दक्षिण एशियामै सबैभन्दा सफल देशको रुपमा उभ्याउन सफल भएकी छिन् ।

एक समय थियो, जतिबेला बंगलादेशलाई पूर्वीपाकिस्तानको नामले चिनिन्थ्यो, त्यतिबेला ऊ सबैभन्दा गरिब क्षेत्रको रुपमा लिइन्थ्यो । १९७१ को स्वतन्त्रतापछि बंगलादेश भीषण गरिबीमा रह्यो । २००६ पछि बंगलादेशको तस्विरबाट क्रमशः धुलो उड्न थाल्यो । र, तरक्कीको दौडमा पाकिस्तानलाई धेरै पछाडि छाडेर अगाडि बढ्यो ।

बंगलादेशको वार्षिकरुपमा कुल ग्रार्हस्थ उतपादन पाकिस्तानको तुलनामा २.५ प्रतिशतले अगाडि रहेको छ । चिनिएका अर्थशास्त्री कौशिक वासुका अनुसार बंगलादेशको विकास दरमा भारतलाई समेत पछाडि छाड्दैछ बंगलादेशले ।

बंगलादेशको जनसंख्या १.१ प्रतिशतको दरमा प्रतिवर्ष बढिरहेको छ । जकबी पाकिस्तानको २ प्रतिशतको दरमा रहेको छ । यसको मतलब यही हो कि पाकिस्तनाको तुलनामा बंगलादेशको प्रतिव्यक्ति आयमा समेत गुणात्मक वृद्धि भइरहेको छ ।

भनिन्छ बंगलादेशले असाध्यै शान्त तरिकाले आफनो कायापलट गरिरहेको छ । अर्थतन्त्रका जानकार कौशिक बासु भन्छन्- बंगलादेशको समाजको ठुलो हिस्सामा परिवर्तनको ठूलो राग देखिएको छ । त्यहाँको महिलाको सशक्तिकरण पनि तिव्र गतिमा भइरहेको छ । बंगलादेशको प्रतिव्यक्ति औसत उमेर ७२ वर्ष पुगेको छ । जबकी भारतको ६८ वर्ष र पाकिस्तानको मात्रै ६६ वर्ष रहेको छ ।

विश्व बैंकका अनुसार २०१७ मा बंगलादेशका जुन बैंकका त्यहाँका नागरिकरको बैंक खाता थियो, त्यसमध्ये ३४.१ प्रतिशतले डिजिटल कारोबार गरेका थिए । त्यो अहिले बढेर ५० प्रतिशतभन्दा माथि पुगेको छ । डिजिटल कारोबार गर्नेमा दक्षिण एशियाकै अवस्था हेर्दा मात्रै ३० प्रतिशतको हाराहारीमा रहेको छ ।

भारतका मानिसहरुले ४८ प्रतिशत मानिसको बैंक खाता भएपनि ती खाता निष्क्रिय अवस्थामा रहेको छ । सन् २०२४ मा बंगलादेश अल्पविकसित देशको श्रेणीबाट बाहिर निस्कदैछ । नेपाल पनि त्यो श्रेणीबाट बाहिर निस्कने बताइए पनि दुई देशको तुलनै हुन नसक्ने अवस्था छ ।

विकासिशल देशको पंक्तिमा खडा गर्नेमा प्रधानमन्त्री हसिलाको नेतृत्व नै सफल देखिएको छ । यो एउटा ठूलो उपलब्धी हो । संयुक्त राष्ट्र संघको यो पहलप्रति हसिनाले एक अन्तर्वार्तामा भनेकी थिइन्- अल्पविकसित देशको सूचीबाट बाहिर निकाल्न हाम्रो आत्मविश्वास तथा लक्ष्यलाई केन्द्रीत गरेका थियौं । यो हामी नेताहरुले मात्रै गरेको होइन, हाम्रा नागरिकको पनि उत्तिकै महत्वपूर्ण योगदान छ । यसले नागरिकलाई समेत राम्रो गर्नेछ । कुनै पनि परियोजना शुरु गर्नु भन्दा पहिले अनेकन शर्तका झण्झट खेप्नु पर्दथ्यो । हामी अर्काको दयामा भर पर्नुपर्ने अवस्था थियो । एक समय जब तपाई उक्त सूचीबाट बाहिर निस्कनु हुन्छ, तब हामीले कोही कसैको दयामा होइन, हामी हाम्रो क्षमताका आधारमा अगाडि बढ्न सक्छौं । बंगलादेशको सबल आर्थिक वृद्धिदर केवल जारी मात्रै रहने छैन, तिव्र पनि हुनेछ ।’

एशियन निक्केई रिभ्यूको एक अन्तर्वार्तामा हसिनाले भनेकी छिन्,- ‘आगामी ५ वर्षमा हामी सबैको इच्छा छ कि हाम्रो आर्थिक वृद्धिदर ९ प्रतिशतभन्दा माथि रहनेछ । यस्तै, २०२१ पछि त हाम्रो आर्थिक वृद्धिदर १० प्रतिशत माथि नै हुनेछ । सोही यात्रामा बंगलादेश अगाडि बढिरहेको छ ।’

धेरैजसो क्षेत्रमा बंगलादेशको प्रदर्शन सरकारी लक्ष्यको तुलनामा अगाडि नै रहेको छ । बंगलादेश अब उत्पादनमूलक क्षेत्रलाई विशेष ध्यान दिएको छ । कपडा उद्योगमा बंगलादेशको प्रभुत्व संसारभर नै विस्तार भएर गएको छ ।

बंगलादेशमा तयार भएको कपडाको निर्यात वार्षिकरुपमा १५ देखि १७ प्रतिशतको दरले वृद्धि भएको छ । सन् २०१८ मा ३६.७ अर्ब डलरको कपडा व्यापार गरेकामा सन् २०१९ मा ३९ अर्ब डलर र यस वर्षको अन्त्यसम्म ५० अर्ब डलर बराबरको व्यापार प्रक्षेपण छ । कोरोनाले व्यापारमा मन्दी आएपनि त्यो लक्ष्यभन्दा बढी नै कारोबार हुुने देखिन्छ ।

बंगलादेशको अर्थतन्त्रमा विदेशमा काम गर्ने मजदुरको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । करिब २५ लाख बंगलादेशी विदेशमा वैधानिकरुपमा काम गर्न गएका छन् । सन् २०१८ मा मात्रै रेमिट्यान्समार्फत् उनीहरुले १८ अर्ब डलर बंगलादेश पठाएका थिए । हसिनालाई यो कुरा थाहा छ, देशमा टिकाउ खालको अर्थतन्त्र निर्माणका लागि उद्योगधन्दा बढाउनु जरुरी छ । बंगलादेशमा कम लागतमै उत्पादनमूलक उद्योगको अलावा अन्य उद्योगधन्दाको स्थापना गर्नेमा विशेष ध्यान दिइएको छ । विदेशी लगानीमा निर्भर रहेको उद्योग धन्दालाई अब स्वदेशी व्यवसायीले विस्थापन गर्दै लैजाने सरकारी लक्ष्य छ ।

नेपालमा केपी ओलीलाई डिजिटल नेपालको अवधारणा कस्तो होला भन्ने नै थाहा पाउन २०२० आउनुपर्यो । तर बंगलादेशमा २००९ मा नै हसिनाले डिजिटल बंगलादेश कार्यक्रम अगाडि बढाइन् । यसबाट पनि भन्न सकिन्छ बंगलादेश भन्दा नेपाल ११ वर्ष पछाडि छ ।

प्रविधिको क्षेत्रलाई विस्तार गर्ने र बढावा दिने लक्ष्यका साथ उक्त कार्यक्रम घोषणा भयो । बंगलादेशको राजधानी ढाकामा रहेको टेक्नोलोजी सेन्टर दक्षिण एशियाकै हव बन्ने नीति र योजनाका साथ अगाडि बढिरहेको छ । ढाकाका प्रमुख कार्यकारी अधिकृत भारतको आइटी क्षेत्रबाटै सिकेर उसैलाई टक्कर दिने अवस्थामा पुगेका छन् ।

दक्षिण एशियामा औषधी निर्माणमा भारत काफी मात्रामा अगाडि रहेको छ । तर, बंगलादेशले पछिल्ला दिनमा औषधी निर्माण तथा उत्पादनमा समेत भारतलाई राम्रै टक्कर दिएको छ । बंगलादेश सरकारले देशभर १०० वटा विशेष आर्थिक क्षेत्रको नेटवर्क बनाउने तयारीका साथ काम गरिरहेको छ । २२ वटा त तयार भइसकेका छन् ।

यस्तै, केही सम्पन्न हुने चरणमा छन्, केहीमा काम भइरहेको छ । बंगलादेश सानो देश हो । जनघनत्व असाध्यै बढी छ । बंगलादेश बैंकका मुख्य अर्थशास्त्री फैसल अहमद आफनो देशको आर्थिक वृद्धिका लागि जनसंख्या नै प्रमुख हिस्सा रहेको मान्छन् ।

फैसलले आफ्ना कतिपय अन्तर्वार्तामा भनेका छन्- सघन आवादीका कारण सामाजिक तथा आर्थिक सोचलाई यर्थाथतामा परिणत गर्न काफी मात्रामा मद्दत मिलेको छ । बंगलादेशको आर्थिक मुद्दालाई सहजरुपमा अगाडि बढाइएको छ, यसको मतलब त्यहाँ चुनौती छैन भन्ने होइन ।

बंगलादेशको प्रमुख दुई राजनीतिक पार्टीको बीचमा चर्को शत्रुतापूर्ण व्यवहार छ । बंगलादेशमा दुई महिलाको खास टक्कर छ । शेख हसिना र बेगम खालिदा जियाको प्रभुत्व रहेको भनिए पनि पछिल्ला दिनमा भ्रष्टाचारको आरोपमा नजरबन्दमा राखिएकी बेगमको पार्टीलाई क्रमशः कमजोर पार्ने प्रयास गरिएको छ ।

जब बंगलादेश पूर्वीपाकिस्तान थियो, त्यतिबेला दुई नेताको परिवारले नै स्वतन्त्रताको लडाइँमा अहम् भूमिका खेलेका थिए । पछिल्लो तीन दशकमा दुई महिला नै सत्तामा आउने जाने क्रम चलिरह््यो । त्यसको साथसाथै दुवै महिला पालैपालो जेलमा पनि आउने जाने गरिरहे । यतिबेला खालिदा जिया भ्रष्टाचारको मुद्दामा जेल परेकी छिन् ।

जेलमै रहेर उनले बंगलादेश नेशनलिस्ट पार्टी चलाइरहेकी छिन् । खालिदा जियाको दावी छ कि मलाई झुठो मुद्दामा जेलमा जानीबुझीकन बन्द गरिएको छ । सन् १९८१ देखिनै शेख हसिना सत्ताधारी अवामी लिगको नेतृत्व गरिरहेकी छिन् । सो पार्टीको स्थापना उनका पिता शेख मुजिबुर रहमानले गरेका थिए । रहमान देशका पहिला राष्ट्रपतिसमेत हुन् ।

सन् १९७५ मा सेनाका केही मान्छेले रहमान र उनको परिवारका धेरैजसो मानिसको हत्या गरिदियो । उनै रहमानको १०० वर्ष पुगेको अवसरमा गत साता साताव्यापी कार्यक्रम आयोजना गरिएको हो । मानवअधिकारी संगठन तथा विपक्षी पार्टीले अवामी लिगले निर्वाचन धाँधली गरेर जितेको आरोप लगाउने गरेका छन् ।

अवामी लिग तेस्रो कार्यकालका लागि सरकार चलाइरहेको छ । सत्ताधारी पार्टीको जितलाई विकासको थप गतिको रुपमा पनि चित्रण गरिएको छ । बंगलादेशको सफलतामा तयारी पोशाक उद्योको सबैभन्दा ठूलो भूमिका रहेको छ । कपडा उद्योगमा बंगलादेशका नागरिकले सबैभन्दा बढी रोजगारी पाएका छन् । सो उद्योगमा मात्रै ४१ लाख मानिसले काम गरिरहेका छन् ।

बढीभन्दा बढी महिलाले सो उद्योगमा काम गर्छन् । अमेरिका र चीनबीचको व्यापार युद्धमा एकाएक विस्तार हुने मौका समेत बंगलादेशले नै पायो । सन् २०२४ मा विकासशिल देशमा स्तरोन्नति भएपछि उत्पादन शुल्क मुक्त बजार नरहने भएकाले कपडा उद्योगमा केही समस्या भने आउनसक्छ ।

मार्केट रिसर्च कम्पनी सिएएलएसएका अनुसार बंगलादेशको अर्को क्षेत्र प्रभावकारीरुपमा विकसित भइरहेको छैन । त्यसका लागि वैदेशिक लगानी जरुरी पर्दछ । बंगलादेशमा प्रत्यक्ष विदेशी लगानीको अवस्था भने खासै राम्रो छैन ।

जबकी शेख हसिनाको पछिल्लो १३ वर्षे शासनकालमा विदेशी लगानी तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । सन् २००८ मा ९६.१ करोड डलर विदेशी लगानी आएकामा पछिल्लो वर्षमा ३ अर्ब ५० करोड बराबर पुगेको छ ।

भियतनाम र म्यान्माको तुलनामा यो कम नै हो । बंगलादेशमा व्यापार गर्न के कति मात्रामा सहज छ त ? यस मामिलामा उसको र्याकिङ असाध्यै खराब रहेको छ ।

विश्व बैंकले प्रकाशित गर्ने व्यापारिक सुगमताको मापन अर्थात् डुइङ विजनेश रिपोर्टमा समेत खराब अवस्थामा नै रहेको देखाएको छ । त्यस्तो खराब अवस्थाको पछाडि लालफित्ताशाही कर्मचारी, कमजोर आधारभूत संरचना, खराब यातायात सञ्जाल नै प्रमुख कारण रहेको छ । यस मामिलामा सिंगापुर, भियतनामजस्ता देश धेरै अगाडि छन् ।

शेख हसिनाको कार्यकालमा डिजिटल अर्थतन्त्रमा काफी मात्रामा सुधार गरिएको छ । बंगलादेशको सञ्चार माध्यमले त्यसको पछाडि अमेरिकामा पढेर फर्किएका उनका छोरालाई त्यसको प्रमुख श्रेय दिएका छन् ।

डिजिटल बंगलादेश कार्यक्रमका लागि शेख हसिनाका छोरा अहमदको भूमिका असाध्यै महत्वपूर्ण रहेको छ । सोही कारण बंगलादेशमा सूचना प्रविधिको क्षेत्रमा खास अर्थमा परिवर्तन भएको छ । सूचना प्रविधिको क्षेत्रमै काम गर्ने ध्येयका साथ १२ वटा हाइटेक पार्क बनाइएको छ । भनिन्छ कि बंगलादेशको आइटी क्षेत्रमा भारतसँग सिधा टक्कर दिनसक्ने सामथ्र्यको विकास भएको छ ।

सफ्टवेयर कम्पनी टेक्नोहेवेन तथा बंगलादेश असोसिएशन अफ सफ्टवेयर एण्ड इनफरेशन सर्भिसका सह–संस्थापक हबीबुल्लाह करिमले फाइनान्सिएल टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्- बंगलादेशले सन् २०१९ मा मात्रै आइटी तथा सफ्टवेयरको निर्यात ८० करोड डलर बराबर पुगेको थियो ।

सन् २०२१ मा त्यो वृद्धि भएर ५ अर्ब डलर बराबर पुग्ने लक्ष्य प्रक्षेपण गरिएको छ । त्यो प्राप्त हुने क्रममा नै पुगेको छ । बंगलादेशको आइटी क्षेत्रमा कयौं काम भएको छ । त्यहाँ एयरलाइन्सको टिकट बुकिङदेखि होटल ब्किङ, बीमा भुक्तानी दावीलगायत सबै काम अनलाइन प्रविधिमै हुने गरेको छ ।

आइटी कम्पनी इ जेनेरेशनका अध्यक्ष एवम् बंगलादेश असोसिएशन अफ सफ्टवेयर एण्ड इनफरमेशन सर्भिसका पूर्वप्रमुख शमीन अहसानका अनुसार ४० वर्ष पहिले बंगलादेशमा कपडा उद्योग स्थापना भयो । उक्त उद्योगले ३० अर्ब डलर बराबरको कपडा निर्यात गरिरहेको छ । बंगलादेशभन्दा अगाडि केवल चीन मात्रै छ । बंगालीहरुले यस्तै काम आइटी क्षेत्रमा पनि गर्न चाहेका छन् ।

संसारभरमा जेनेरिक औषधी भारतमा मात्रै बन्ने गर्दथ्यो, कुनै समय । यतिबेला बंगलादेशले सो उद्योगमा समेत चुनौती दिन शुरु गरिसकेको छ । अल्पविकसित देश हुनुको कारणले बंगलादेशले पेटेन्टको नियममा केही छुट पाइरहेको छ । सोही छुटको कारण बंगलादेशले जेनरिक औषधी निर्माणमा भारतलाई चुनोती दिने प्रयास गरिरहेको छ ।

बंगलादेशमा जेनरिक औषधी उत्पादनमा नै सबैभन्दा दोस्रो ठूलो देश बनीसकेको छ । सो देशले संसारका कूल ६० देशमा उक्त औषधीको निर्यात गरिरहेको छ ।

बंगलादेशको केही खराब आधारभूत संरचनाका कारण केही विषयमा पनि पछाडि परेको छ । जबकी चीनले अगाडि सारेको वान बेल्ट वान रोड परियोजनाले पनि केही सहयोग गरेको छ । चीनले बंगलादेशका केही मेगा परियोजनामा आर्थिक सहयोग गरिरहेको छ ।

चीनले पद्यमा नदीमा ४ अर्ब डलरको एक ब्रिज रेल्वे लाइन बनाइरहेको छ । जसले मुलुकको दक्षिण पश्चिम तथा उत्तर पूर्वी क्षेत्रलाई जोड्छ । चीनले बंगलादेशलाई झण्डै ३८ अर्ब डलर बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अन्य देशमा चीनले ऋण पासोमा पार्न लागेको भन्दै आलोचना भइरहेको छ । तर बंगलादेशमा भने ठिक विपरित रहेको छ ।

मानिसहरु भनिरहेका छन्,- हाम्रो मित्र हामीलाई सहयोग गर्न आइरहेको छ ।

सन् २०१८ मा चीनले बंगलादेशको ढाका स्टक एक्सचेञ्जको २५ प्रतिशत स्वामित्व खरिद गरेको छ । उक्त हिस्सा लिन भारतले समेत प्रयास गरेको थियो ।

तर, चीनले बढी मूल्य दिएका कारण भारत उक्त सौदाबाजीबाट बाहिरियो । बंगलादेश पाकिस्तानका अलावा चीनबाट सैन्य हात हतियार खरिद गर्नेमा पनि सबैभन्दा अगाडि छ । शेख हसिना मान्छिन्– यस क्षेत्रमा चीनले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

बंगलादेश कयौं मोर्चामा पाकिस्तानभन्दा अगाडि बढिरहेको छ । त्यसको साथसाथै भारतलाई समेत पछाडि छाडिरहेको छ । बाल मुत्युदर, लैंगिक समानता तथा औसत उमेरको विषयमा बंगलादेशले भारतलाई धेरै पछाडि छाडेको छ । यसबाट के कुराको स्पष्ट हुन्छ भने बंगलादेश अब गरिबीको दुश्चक्रबाट बाहिर निस्केर क्रमशः आर्थिक शक्तिसम्पन्न देश बन्दैछ । यसले गरे के हुँदो रहेनछ भन्ने स्पष्ट सन्देश मात्रै दिएको छैन । विकास लागि लोकतन्त्र र विकासपछि लोकतन्त्र भन्ने स्कूल अफ थर्टलाई पनि नयाँ आधारमा सोच्न बाध्य तुल्याएको छ ।

आज बंगलादेशमा बन्दै गरेको मेट्रो लाइन तथा सुविधा सम्पन्न सडक तथा राजमार्गहरुले एकाध वर्षमा बंगलादेशले यूरोपको भव्यतालाई बिर्स्याइदिनेछ । क्षेत्रीयरुपमा देखिएको भारतको प्रभुत्वलाई समेत सिमित पारिदिनेछ । नेपालमा भने कहिले देखिएला यस्तो तरक्की, प्रश्न गम्भीरछ । तर, राजनीतिक नेतृत्व चाहिने काममा भन्दा नचाहिने काममा बढी केन्द्रीत भएकाले हामीले विकासको अनुभूति गर्न पाएका छैनौं । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल