कोरोना कहरमै पनि जीवन बीमा कम्पनीको बिजनेश मालामाल, कसले कति बढाए ? (विस्तृत रिपोर्ट)



काठमाडौं । कोरोना कहरमै पनि जीवन बीमा कम्पनीहरुको बिजनेश उल्लेख्य मात्रामा बढेको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु कोरोनाले जनजीवन अस्तव्यस्त भएको अवस्थामा पनि साढे ३६ प्रतिशतले बिजनेश बढाउन सफल भएका छन् ।

कोरोना भाइसरको रोकथाम तथा उपचारका लागि सरकारले गत वर्षको ०७६ चैत ११ गतेदेखि साउन ६ गतेसम्म पूर्ण तथा आंशिक लकडाउन गरेको थियो ।

कोरोनाका कारण एक वर्षको यो अवधिमा अधिकांश व्यवसायको वृद्धि हुन सकेको छैन । तर यो अवधिमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन उल्लेख्य मात्रामा बढेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार ०७६ फागुन मसान्तमा ६० अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका कम्पनीहरुले ०७७ फागुन मसान्तमा ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन नै नयाँ व्यवसाय बिस्तार हो । सञ्चालनमा रहेको १९ जीवन बीमा कम्पनीले कोरोना कालको १ वर्ष गत फागुन मसान्तदेखि चालु आवको फागुन मसान्तसम्म ३६.६९ प्रतिशत अर्थात् ७ अर्ब ५४ करोड रुपैयाँले थप बिस्तार गरेका छन् ।

गत वर्षको फागुन मसान्तसम्म २० अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थियो । जुन चालु आवको सोही अवधिमा २८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रीम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरिक सावधिक जीवन बीमा, सामान्य म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, विशेष म्यादी जीवन बीमा र अन्य प्रकारका बीमाका पोलिसी बिक्री गरी रहेका छन् ।

सो अवधिमा नवीकरण बीमा शुल्क संकलन भने ३६.६६ प्रतिशत अर्थात् १४ अर्ब ४३ करोड रुपैयाँले थप भएको छ । गत आवको फागुन मसान्तमा ३९ अर्ब ३६ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन रहेको गरेका कम्पनीहरुले चालु आवको सोही अवधिमा ५३ अर्ब ७९ करोड रुपैयाँ पुर्याएका छन् ।

साथै, गत आवको फागुन मसान्तमा १ अर्ब ६० करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा ८० प्रतिशतले घटेर ३२ करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तो छ कोरोनाकालमा बीमा व्यवसायको वृद्धिदर

गत आवको फागुन मसान्तसम्म बीमा कम्पनीहरुले संकलन गरेको कुल ६० अर्ब २४ करोड रुपैयाँमा ३४.११ प्रतिशत प्रथम बीमा शुल्क, ६४.३४ प्रतिशत नवीकरण बीमा शुल्क र २.६६ प्रतिशत वैदेशिक रोजगारी बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको फागुन मसान्तसम्म ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा ३४.१७ प्रतिशत प्रथम बीमा शुल्क, ६५.४४ प्रतिशत नवीकरण बीमा शुल्क र ०.३९ प्रतिशत वैदेशिक रोजगारी बीमा शुल्क संकलन गरेका छन् ।

गत आवको फागुन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १७ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क संकलन ४.५२ प्रतिशतदेखि २३३ प्रतिशतसम्मले वृद्धि भएको छ । सो अवधिमा २ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क संकलन भने घटेको छ ।

साथै, सो अवधिमा ७.८० प्रतिशतदेखि ४ हजार ४ सय गुणासम्मले नवीकरण बीमा शुल्क संकलन वृद्धि गरेका छन् । वैदेशिक रोजगार बीमा शुल्क संकलन भने सो अवधिमा ८८.८९ प्रतिशतदेखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेका छन् ।

गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्कको वृद्धिदर प्रतिशतको आधारमा हेर्दा सो अवधिमा गुराँस लाइफले सबैभन्दा राम्रो ग्रोथ गरेको छ । साथै, मेट लाइफ र राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क संकलन घटेको छ ।

नयाँ कम्पनीको राम्रो ग्रोथ

प्रथम बीमा शुल्कको ग्रोथ प्रायः पुराना बीमा कम्पनीको भन्दा सञ्चालनमा आएका नयाँ बीमा कम्पनीहरुको बढी छ । समितिले पछिल्लो पटक महालक्ष्मीसहित १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालनको अनुमति दिएको हो ।

सो अघिसम्म १० वटा जीवन बीमा कम्पनीले मात्र व्यवसाय गरिरहेका थिए । समितिद्वारा उपलब्ध तथ्यांकअनुसार ०७६ फागुन मसान्तको तुलनामा ०७७ फागुन मसान्तमा प्रथम बीमा शुल्क बढाउने टप १० जीवन बीमा कम्पनीहरुमा अधिकांश नयाँ आएका कम्पनीहरु नै छन् ।

गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तमा प्रथम बीमा शुल्क बढाउने टप १० कम्पनीहरुमा नयाँ आएका कम्पनीहरु नै ७ वटा छन् । जसमा रिलायन्स, सानिमा, प्रभु, रिलायवल नेपाल, ज्योति, आइएमई र सिटिजन्स लाइफ छन् ।

गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तमा प्रथम बीमा शुल्क बढाउने टप १० कम्पनीहरुमा नयाँ आएका कम्पनीहरु नै ७ वटा छन् । जसमा रिलाइन्स, सानिमा, प्रभु, रिलायवल नेपाल, ज्योति, आइएमई र सिटिजन्स लाइफ छन् ।

व्यवसाय बिस्तारको टप ५ मा रहेको नयाँ कम्पनी आएका कम्पनीमध्येको प्रभु लाइफले आइपीओ निष्काशनले प्रचार प्रसारमा सहयोग गर्दा प्रथम बीमा शुल्क बढाउन सहयोग पुगेको बताएको छ ।

‘आइपीओ जारी गर्ने क्रममा कम्पनीको प्रचार प्रसार राम्रोसँग भएको थियो, जसले गर्दा हामीलाई नयाँ व्यवसाय बिस्तारमा ब्रण्डिङको काम गर्यो,’ कम्पनीका सीइओ नारायण प्रसाद पौडेलले क्लिकमाण्डूसँग भने, ‘यसका साथै हामीले २ नम्बर प्रदेशलाई राम्रोसँग फोकस गरेर व्यवसाय बिस्तार गरेका छौँ, सो प्रदेशका जीवन बीमा व्यवसायको सम्भावना धेरै राम्रो छ ।’

आगामी दिनमा कम्पनी सबै प्रदेशका जिल्लामा पुग्ने गरी व्यवसाय बिस्तार गर्ने योजनामा रहेर काम गरिरहेको उनले जानकारी दिए । साथै सो अवधिमा अन्य नयाँ कम्पनीहरुको समेत प्रथम बीमा शुल्क संकलनको वृद्धिदर राम्रो छ ।

पुराना बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा संस्थान र मेट लाइफको सो अवधिमा प्रथम बीमा शुल्क संकलन घटेको छ । कोरोना संक्रमणले अभिकर्ताहरु फिल्डमा जान नपाउँदा प्रथम बीमा शुल्क घटेको यी कम्पनीहरु बताउँछन् ।

राष्ट्रिय बीमा संस्थानको भने सो अवधिमा प्रथम बीमा शुल्क संकलन निजामती कर्मचारी र विभिन्न संस्थानका कर्मचारीको तलब वृद्धि नहुँदा प्रथम बीमा शुल्क संकलन घटेको संस्थानका सीइओ कविराज पाठकले बताए ।

‘गत वर्ष निजामती र विभिन्न संस्थानका कर्मचारीको तलब वृद्धि भएको थियो, तलब वृद्धि हुँदा कर्मचारीले तलब बीमा गराएर कर्जा लिन्छन्,’ पाठकले क्लिकमाण्डूसँग भने, ‘संस्थानले तोकिएको सीमामा तलक भएका कर्मचारीको ७ वर्षसम्म तलब बीमा गराएर सो अनुसारको कर्जा दिन्छ, सोही कर्जा लिनका लागि भए पनि कर्मचारीले बीमा गराउँछन् ।’

गत वर्ष थप सरकारी निकायका कर्मचारीको बीमा गराइएको तर चालु आवको कोरोनाका कारण बीमा गराउन मार्केटिङ गर्न फिल्डमा जान नसक्दा प्रथम बीमा शुल्क घटेको उनको भनाइ छ ।

यस्तै, सो अवधिमा प्रथम बीमा शुल्क घट्ने पुरानो बीमा कम्पनीमा मेटलाइफले समेत कोरोनाका कारण फल्डमा अभिकर्ता पठाउन नसक्दा प्रथम बीमा शुल्क संकलन घटेको बताएको छ ।

कम्पनीका सूचना अधिकृत रामकुमार यादवले चालु आवको दोस्रो त्रैमाससम्म पनि कोरोना संक्रमणको भयमा नयाँ व्यवसायको लागि फिल्डमा अभिकर्ता पठाउन नसकेको बताए ।

समितिको निर्देशनमा पुराना कम्पनीको प्रथप बीमा शुल्क घट्यो: समिति

पुराना जीवन बीमा कम्पनीहरुलाई नयाँ बीमा पोलिसी बिक्री गर्न समितिले नै रोकेको हुँदा प्रथम बीमा शुल्क गत वर्षको तुलनामा कम र नवीकरण बढी भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘बिमांकीय मूल्यांकलनमा पुराना कम्पनीहरुको ‘ल्याप्स’ पोलिसीहरु धेरै देखिए,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘त्यसकारण बिक्री गरिएको पोलिसीको नवीकरणमा फोकस गर्न पुराना कम्पनीलाई निर्देशन दिइएको छ, नयाँ कम्पनीहरुमा ल्याप्स पोलिसी धेरै नदेखिएको हुँदा उनीहरुलाई सो निर्देशन छैन ।’

पुराना जीवन बीमा कम्पनीमा बीमितले पोलिसी खरिद गरेको २/३ वर्ष पछि नवीकरण नगर्ने संख्या बढ्दा ल्याप्स पोलिसी बढेको हुँदा नयाँ पोलिसी बिक्री गर्नभन्दा पुराना पोलिसी नवीकराण गर्नमा जोड दिन निर्देशन दिइएको उनको भनाइ छ ।

‘नयाँ कम्पनीहरुमा ल्याप्स पोलिसी नहुँदा उनीहरुको प्रथम बीमा शुल्क संकलनको वृद्धि राम्रो देखिएको हो भने पुराना बीमा कम्पनीले समितिको निर्देशनअनुसार नवीकरणलाई जोड दिँदा नवीकरण बीमा शुल्क बढी देखिएको हो,’ उनले थपे ।

कुन कम्पनीले कति नयाँ बिजनेश गरे ?

गुराँस लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा २ सय ३३.३३ प्रतिशतले वृद्धि भएर १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ४४.७८ प्रतिशत, नविकरण बीमा शुल्कको ५५.२२ प्रतिशत हिस्सा छ ।

सुर्या लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ६३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ सय ३१.७५ प्रतिशतले वृद्धि भएर १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ४९.३२ प्रतिशत, नविकरण बीमा शुल्कको ५०.६८ प्रतिशत हिस्सा छ ।

रिलायन्स लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ सय १४.२९ प्रतिशतले वृद्धि भएर १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ६०.३४ प्रतिशत, नविकरण बीमा शुल्कको ३९.६६ प्रतिशत हिस्सा छ ।

सानिमा लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ सय २.५० प्रतिशतले वृद्धि भएर ८१ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ६४.२९ प्रतिशत, नविकरण बीमा शुल्कको ३५.७१ प्रतिशत हिस्सा छ ।

प्रभु लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ३४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ८२.३५ प्रतिशतले वृद्धि भएर ६२ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ६३.२७ प्रतिशत र नविकरण बीमा शुल्कको ३६.७३ प्रतिशत हिस्सा छ ।

रिलायवल लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७८.७५ प्रतिशतले वृद्धि भएर १ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ७३.३३ प्रतिशत र नविकरण बीमा शुल्कको २६.६७ प्रतिशत हिस्सा छ ।

नेशनल लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७१.७१ प्रतिशतले वृद्धि भएर २ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ७ अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ३३.३३ प्रतिशत, नविकरण बीमा शुल्कको ६६.२८ प्रतिशत र ०.३८ प्रतिशत वैदेशिक रोजगारीको हिस्सा छ ।

ज्योति लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७०.४२ प्रतिशतले वृद्धि भएर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ६०.८० प्रतिशत र नविकरण बीमा शुल्कको ३९.२० प्रतिशत हिस्सा छ ।

आइएमई लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ५१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ६२.७५ प्रतिशतले वृद्धि भएर ८३ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ५१.५५ प्रतिशत र नवीकरण बीमा शुल्कको ४८.४५ प्रतिशत हिस्सा छ ।

सिटिजन्स लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ५६.३४ प्रतिशतले वृद्धि भएर १ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल २ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ५३.६२ प्रतिशत, नवीकरण बीमा शुल्कको ४३.४८ प्रतिशत र वैदेशिक रोजगार बीमा शुल्कको २.९० प्रतिशत हिस्सा छ ।

प्राइम लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ४८.४४ प्रतिशतले वृद्धि भएर ९५ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल २ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ३४.५५ प्रतिशत, नविकरण बीमा शुल्कको ६४.७३ प्रतिशत र वैदेशिक रोजगार बीमा शुल्कको ०.७३ प्रतिशत हिस्सा छ ।

एशियन लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब ७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३४.५८ प्रतिशतले वृद्धि भएर १ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ३५.६४ प्रतिशत र नविकरण बीमा शुल्कको ६४.३६ प्रतिशत हिस्सा छ ।

महालक्ष्मी लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३०.५६ प्रतिशतले वृद्धि भएर ४७ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ६९.१२ प्रतिशत, नवीकरण बीमा शुल्कको २९.४१ प्रतिशत र वैदेशिक रोजगार बीमा शुल्कको १.४७ प्रतिशत हिस्सा छ ।

सन लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३०.४३ प्रतिशतले वृद्धि भएर ६० करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ४२.५५ प्रतिशत, नविकरण बीमा शुल्कको ४६.८१ प्रतिशत र वैदेशिक रोजगार बीमा शुल्कको १०.६४ प्रतिशत हिस्सा छ ।

युनियन लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा २६.३४ प्रतिशतले वृद्धि भएर २ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ४ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ५०.३२ प्रतिशत, नविकरण बीमा शुल्कको ४९.२५ प्रतिशत र वैदेशिक रोजगार बीमा शुल्कको ०.४३ प्रतिशत हिस्सा छ ।

नेपाल लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ५ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १३.४३ प्रतिशतले वृद्धि भएर ६ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको २६.८२ प्रतिशत, नवीकरण बीमा शुल्कको ७३.०५ प्रतिशत र वैदेशिक रोजगार बीमा शुल्कको ०.१३ प्रतिशत हिस्सा छ ।

एलआइसीः कम्पनीले गत आवको फागुन मसान्तसम्म २ अर्ब २१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ४.५२ प्रतिशतले वृद्धि भएर २ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल १० अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको २१.२३ प्रतिशत र नविकरण बीमा शुल्कको ७८.७७ प्रतिशत हिस्सा छ ।

मेट लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब २४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा २०.९७ प्रतिशतले घटेर ९८ करोड रुपैयाँमा सीमित भएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको २७.९२ प्रतिशत र नविकरण बीमा शुल्कको ७२.०८ प्रतिशत हिस्सा छ ।

राष्ट्रिय बीमा संस्थानः कम्पनीले गत आवको फागुन मसान्तसम्म ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३४.०९ प्रतिशतले घटेर ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

चालु आवको फागुन मसान्तसम्म कम्पनीले कुल ६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । जसमा प्रथम बीमा शुल्कको ८.९० प्रतिशत र नविकरण बीमा शुल्कको ९१.१० प्रतिशत हिस्सा छ ।

बीमाशुल्क रू अर्बमा


पुष्प दुलाल